काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिइने बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्किएका प्रधानमन्त्री देउवाले पत्रकारहरूको प्रश्नमा मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताए।
प्रधानमन्त्री देउवाले १७ मन्त्रालय आफैँसँग राखेका छन्। देउवाले सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेतासँग मन्त्रीका लागि नाम मागे पनि अहिलेसम्म नाम दिएका छैनन्।
जसपा अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिमन्डलले पूर्णता पाउने बताए। संसद भवन बाहिर आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले दल विभाजन सम्बन्धी अध्यादेशले अस्थिरता निम्त्याउने भएकोले त्यो पहिले निस्कृय हुनुपर्ने बताइरहेका छन्।
अध्यक्ष यादवका अनुसार मन्त्रालयको भागबन्डाबारे पनि छलफल बाँकी नै छ। कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे छलफल बाँकी नै रहेको उनको भनाइ थियो। नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।