News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा

पोखरा, २७ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने तथा शान्ति सुरक्षा खलल पार्ने गतिविधि नियन्त्रण गर्न सुरु गरेको ‘अपरेसन ३६५’ ले एक वर्ष पूरा गरेको छ। यस अवधिमा जिल्लाभर ८९८ वटा मोटरसाइकल र ३६ जना व्यक्ति कारबाहीमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८२ साल असार २७ गतेदेखि सुरु भएको यो विशेष अभियान आज मंगलबार असार २७ गतेसम्ममा ३६५ दिन पूरा भएको हो। मोटरसाइकलको रूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, आगोको झिल्का समेत फाल्ने, होहल्ला मच्चाउँदै सडकमा उड्ने तथा उच्छृङ्खल गतिविधि गर्ने प्रवृत्ति बढेको जनगुनासोका आधारमा यो अभियान सञ्चालन गरिएको थियो।

अपरेसन अवधिमा विभिन्न स्थानमा चेकजाँच गर्दा स्वरूप परिवर्तन गरिएका मोटरसाइकल र चालकहरूलाई नियन्त्रणमा लिई कानूनी कारबाही गरिएको छ। हालसम्म ३६ जना व्यक्ति र ८९८ वटा मोटरसाइकल कारबाहीमा परेका छन्। मोडिफाइड गर्ने-गराउने कार्यमा संलग्न ३६ जनामध्ये २९ जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको छ भने बाँकीलाई सम्झाई-बुझाई गरी परिवारको जिम्मा लगाएर छाडिएको एसपी नवीन कार्कीले जानकारी दिए ।

कारबाहीमा परेका ८९८ मोटरसाइकलमध्ये ३६७ वटा पटके (दोहोरिएर) कारबाहीमा परेकाले यातायात व्यवस्था कार्यालयमार्फत कारबाही गरिएको छ। बाँकीलाई ट्राफिक जरिवाना गरी छाडिएको छ। पक्राउ परेका सबै मोटरसाइकल प्रहरीको रोहबरमा मेकानिक झिकाई पहिलेको अवस्थामा फर्काएर अब उप्रान्त यस्ता गतिविधि नगर्ने शर्तमा छाडिएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालयले यस्ता क्रियाकलापले बालबालिका, वृद्धवृद्धा, असहाय, बिरामी तथा अस्पतालमा उपचाररत व्यक्तिहरूलाई मानसिक तथा शारीरिक असर पार्ने हुँदा सवारी साधन मालिकहरूलाई मोडिफाइड नगरी असली स्वरूपमा चलाउन र ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकहरूलाई यस्तो कार्य नगर्न-नगराउन आग्रह गरेको कास्कीका डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।

नागरिक स्तरबाट यो अभियान प्रभावकारी रहेको र निरन्तरता दिनुपर्ने सुझाव आएको हुँदा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका निकायहरूले ‘अपरेसन ३६५’लाई निरन्तर रूपमा अगाडि बढाइरहने जानकारी गराएको छ। आगामी दिनमा कास्की प्रहरी थप सक्रिय रहने र मोडिफाइड तथा ध्वनि प्रदूषण गर्ने सवारी साधन नचलाउन सबैमा हार्दिक अनुरोध गरिएको छ।