News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित

पोखरा, १९ असोज । स्थानीय समुदायको सक्रिय सहभागिता र सहयोगमा पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार तथा पुनःनिर्माण कार्य सम्पन्न भएको छ।

यसै सन्दर्भमा शनिबार एक विशेष कार्यक्रम आयोजना गरी चौकी मर्मतमा योगदान पुर्याउने ७५ जना व्यक्ति तथा संघसंस्थालाई सम्मानपत्र, फूलमाला र खादा लगाएर सम्मान गरिएको छ। मर्मतसम्भार समितिको आयोजनामा भएको उक्त कार्यक्रममा चौकी परिसरमा नवनिर्मित थुनुवा कक्षको समेत उद्घाटन गरिएको छ।

स्थानीय सामाजिक संघसंस्थाका पदाधिकारी, नागरिक समाजका अगुवा, आमा समूह, टोल विकास संस्थाका प्रतिनिधि, व्यापारी तथा सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा वक्ताहरूले समुदाय र प्रहरीबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा कास्कीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक नवीन कार्कीले नयाँ थुनुवा कक्ष निर्माण भएकोमा खुसी व्यक्त गर्दै स्थानीय समुदाय, सुरक्षा निकाय र प्रशासनिक निकायबीचको सुदृढ सम्बन्धले मात्रै शान्तिसुरक्षा कायम गर्न टेवा पुग्ने बताए। उनले स्थानीय नागरिकले स्वःस्फूर्त रूपमा गरेको श्रमदान, भौतिक तथा आर्थिक सहयोगको उच्च प्रशंसा गर्दै सार्वजनिक संरचनाको संरक्षण र प्रवर्धन गर्नु सबै नागरिकको साझा दायित्व भएको औँल्याए। पछिल्लो समय आमनागरिकको प्रहरीप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दै उनले नागरिक र प्रहरीबीचको आपसी विश्वास र सहकार्य अपरिहार्य रहेको बताए।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की

कार्यक्रममा पोखरा–१७ का वडाध्यक्ष राधिकाकुमारी शाही, वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदी, वडा नं. २२ का वडाध्यक्ष हिमलाल बराल, वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटी, छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्मा भुसाल र बेलघारी टोल विकास संस्थाका अध्यक्ष बुद्धिबहादुर कार्कीले पनि आआफ्नो मन्तव्य राखेका थिए। उनीहरूले प्रहरी प्रशासन आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने भएकाले चौकीको विकास र सुरक्षामा सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

चौकी मर्मतसम्भार समितिका अनुसार यस अभियानका क्रममा कुल ९ लाख ६२ हजार १ सय ९१ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो। प्राप्त रकमबाट ९ लाख ५८ हजार ८ सय ७० रुपैयाँ खर्च गरी चौकी परिसरमा खानेपानी ट्यांकी, शौचालय, थुनुवा कक्ष, पानीको निकास, किचिन (भान्छा) निर्माण तथा भुइँमा टायल राख्ने लगायतका भौतिक सुधारका कामहरू सम्पन्न गरिएको छ।

छोरेपाटन प्रहरी चौकी मर्मतसम्भार समितिका अध्यक्ष शिवराज न्यौपानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक गौतम श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन समिति सचिव दीपक सुवेदीले गरेका थिए।