News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज डन न्यूज खोज प्रमुख समाचार

नेपाली श्रमिकबाट साढे दुई अर्ब ठगी, दुई पूर्वमन्त्रीसहित उच्च अधिकारी पक्राउ

काठमाडौं, ३ मंसिर । मलेसियामा दुःखको भारी बोकेर गएका साढे सात लाख नेपाली श्रमिकबाट ‘बायो मेडिकल सिस्टम’ को नाममा अतिरिक्त शुल्क असुली गरी साढे दुई अर्ब रुपैयाँ ठगी गर्ने प्रकरणमा दुई पूर्व श्रममन्त्रीसहित छ जना उच्च अधिकारी पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय राजीव पोखरेल र उमेश ढुंगाना तथा उपसचिव निर्मला गुरुङलाई पक्राउ गरेको हो।

सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार यो ठगीमा मलेसिया र नेपालबीच भएको श्रम सम्झौताको अपव्याख्या गरी प्रति कामदार एक सय रिंगेट (करिब तीन हजार छ सय रुपैयाँ) अतिरिक्त असुलिएको थियो। सम्झौतामा यस्तो शुल्क उठाउने कुनै प्रावधान नभए पनि श्रम मन्त्रालयकै आडमा वर्षौंदेखि यो रकम उठाइएको र त्यसमध्ये एक अर्ब ६९ करोड दुई लाख २४ हजार रुपैयाँ बैंकिङ प्रणालीमार्फत नै मलेसिया पठाइएको अनुसन्धानले देखाएको छ।

प्रहरीको प्रेस विज्ञप्तिमा भनिएको छ-‘सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्र प्रतिकूल हुने निर्णय गरी संगठित समूहको लाभका लागि जानीजानी आफ्नो पदीय जिम्मेवारी तथा कर्तव्यविपरीत श्रमिकहरूलाई संगठित रूपमा ठगी गर्ने कार्यमा मौन रही… गैरकानुनी रूपमा संकलन भएको रकम मलेसिया पठाउने निर्णय गर्ने कार्यमा संलग्न।’

यो ठगीको मूल योजना मेडिकल व्यवसायी कैलाश खड्काको रहेको अनुसन्धान अधिकारीहरूको दाबी छ। उनीसहित रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारीलाई असोज १९ मै पक्राउ गरिसकिएको थियो। खड्काले पैसा उठाएर मन्त्रालयमा ‘सेटिङ’ मिलाउने र मलेसिया पठाइएको रकम हुन्डीमार्फत पछि नेपाल फर्काउने गरेको सूचना अनुसन्धानमा आएको छ।

रामेश्वर राय यादव २०७६ मा केपी ओली नेतृत्वको सरकारमा करिब एक वर्ष श्रममन्त्री थिए भने शेरबहादुर कुँवर २०७९ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा छ महिना श्रममन्त्री रहेका थिए। सीआईबी स्रोतका अनुसार यो प्रकरणमा अरू मन्त्री र कर्मचारी पनि तानिने सम्भावना रहेको छ।

मुख्यगरी २०७६ देखि सुरु भएको यो अतिरिक्त असुली प्रक्रिया पछिल्लो समय सरकारले हटाउन खोज्दा व्यवसायीले नमानेका कारण मलेसियामा नयाँ कामदार पठाउने प्रक्रिया नै रोकिएको अवस्था छ।

दुःखको देशमा गएर परिवार पाल्ने आशाले कमाएको पैसा पनि यसरी सरकारी आडमा ठगिनु पर्दा साढे सात लाख श्रमिक र उनीहरूका परिवारमाथि भएको यो ठगी सामान्य घटना होइन। अनुसन्धान अझै जारी छ।

डनन्यूज ट्रेन्डिङ