News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने

पोखरा, १९ असोज । शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले आफ्नो सेवालाई पूर्ण डिजिटल प्रणालीमा लैजाने तयारी गरेको छ। यसै क्रममा संस्थाको नयाँ संरचना र प्रविधिमैत्री प्रणालीसहितको नयाँ कार्यालय उद्घाटन गरिएको छ।

पोखराको सिद्धार्थ चोक-४ मा स्थापना गरिएको उक्त नयाँ कार्यालय शुक्रबार आयोजित एक विशेष समारोहबीच इक्यानका केन्द्रीय अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ ले उद्घाटन गरेका हुन्।

कार्यालय उद्घाटन समारोहमा इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैरेले नयाँ कार्यालय केवल भौतिक संरचना परिवर्तनमा मात्र सीमित नरही संस्थालाई नयाँ ढंगले अगाडि बढाउने महत्वपूर्ण चरण भएको बताए। उनले प्रविधिको प्रयोगबाट सदस्य संस्थाहरूसँगको समन्वय, सूचना आदानप्रदान, अभिलेख व्यवस्थापन तथा संस्थागत गतिविधिलाई थप सहज र प्रभावकारी बनाउने लक्ष्य लिइएको जानकारी दिए। साथै, बदलिँदो समयसँगै शैक्षिक परामर्श क्षेत्रले प्रविधि, पारदर्शिता र व्यावसायिक मापदण्डलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा उनले विशेष जोड दिए।

कार्यक्रममा इक्यानका केन्द्रीय अध्यक्ष पौडेलले नयाँ कार्यालय सञ्चालनमा आएकोमा शुभकामना व्यक्त गर्दै यसले सदस्यहरूलाई प्रदान गरिने सेवामा थप सहजता ल्याउने विश्वास व्यक्त गरे।

उद्घाटन कार्यक्रममा इक्यान केन्द्रीय सल्लाहकार तथा इक्यान कास्कीका संस्थापक अध्यक्ष महेश भण्डारी, केन्द्रीय महासचिव भावनाथ हुमागाईं लगायत केन्द्रीय पदाधिकारी, सल्लाहकार, पूर्व तथा वर्तमान नेतृत्व, सदस्य एवं शैक्षिक परामर्श क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूलाई सही सूचना, जिम्मेवार परामर्श र व्यवस्थित सेवा उपलब्ध गराउनु पर्ने अपरिहार्यतालाई मध्यनजर गर्दै इक्यान कास्कीले यो नयाँ कार्यालयसँगै डिजिटल र व्यवस्थित संस्थागत अभ्यासमा जोड दिएको हो। नयाँ कार्यालयको औपचारिक उद्घाटनसँगै संस्थाले आफ्नो आगामी यात्रालाई प्रविधिमैत्री र थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।