News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र

पोखरा, ५ जेठ । पोखराको व्यस्त व्यापारिक केन्द्र अमरसिंह चोकमा विगत चार दशकदेखि सञ्चालनमा रहेका ५२ वटा व्यापारिक सटर तथा टहरा अन्ततः हटाइएका छन् । अमरसिंह माध्यमिक विद्यालय र व्यवसायीबीच लामो समयदेखि चल्दै आएको विवाद आपसी सहमतिमा टुंगिएसँगै व्यवसायीहरूले सोमबार सम्झौताबमोजिम आफ्ना सटरहरू पूर्ण रूपमा खाली गरेका हुन् ।

अमरसिंह चोकमा रहेका टहराहरुमा डोजर चलिरहँदा स्थलगत रुपमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नविन कार्कीसहितको उपस्थिति रहेको थियो । तस्विर: सन्देश बराल

विद्यालय व्यवस्थापन समितिको निर्णय र कानुनी प्रक्रियाका बाबजुद व्यवसायीले सुरुमा टहरा छाड्न आनाकानी गर्दै आएका थिए । यसअघि विद्यालयले नयाँ संरचना निर्माणका लागि १५ दिने अन्तिम सार्वजनिक सूचना जारी गर्दै ठाउँ खाली गर्न ताकेता गरेको थियो । पछि पोखरा महानगरपालिकाको पहलमा भएको सर्वपक्षीय छलफलमा व्यवसायीहरू ४ जेठभित्रै सटर खाली गर्न सहमत भएका थिए ।

विगत २० वर्षभन्दा बढी समयदेखि उक्त स्थानमा व्यवसाय गर्दै आएका व्यवसायी ओम सुवेदीले विद्यालयको बृहत्तर हित र विकासका लागि आफूहरू बाधक नबन्ने भन्दै सम्झौताअनुरूप नै सटर खाली गरिदिएको बताए । यस्तै, लामो कानुनी र प्रशासनिक झमेलापछि आपसी समझदारीमा टहरा हटाइनु सुखद पक्ष भएको विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले उल्लेख गरे । उनका अनुसार पृथ्वी राजमार्ग र हस्पिटल मार्गसँग जोडिएको विद्यालयको स्वामित्वमा रहेको उक्त बहुमूल्य जग्गामा अब अमरसिंह चोकको सौन्दर्यकरणलाई समेत ध्यानमा राखी नयाँ आधुनिक व्यावसायिक संरचना निर्माण गरिने योजना विद्यालय व्यवस्थापन समितिले बनाएको छ ।

अमरसिंह माविको चौरमा बनाईएका टहराहरु स्वस्फूर्त रुपमा भत्काईएका छन् । तस्विर सौजन्य : सन्देश बराल/समय नेपाल टिभी

विक्रम संवत २०४० देखि विभिन्न व्यक्तिले भाडामा लिएर चलाउँदै आएका यी टहरा हाल जारी पृथ्वी राजमार्ग स्तरोन्नति कार्य र विद्यालयको गुरुयोजनाका कारण हटाउनु अनिवार्य बनेको थियो । यसअघि उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतमा परेका रिट तथा मुद्दाहरू खारेज भइसकेको अवस्थामा आपसी सहमतिले दुवै पक्षलाई सहज रूपमा निकास दिएको छ । सटरहरू खाली भएसँगै विद्यालयले अब छिट्टै नयाँ व्यावसायिक भवन निर्माणको प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले मंगलबार व्यवसायीले छाडेका टहरामा डोजर लगाएर ठाउँ सम्याइने जानकारी दिए । ‘अब अन्यत्र पनि सार्वजनिक जग्गा ओगटेर बसेकाहरूलाई तोकिएको समयभित्रै ठाउँ छाड्न यसले एउटा सकारात्मक सन्देश दिनेछ,’ उनले भने ।

यसअघि पोखरा महानगरपालिका र सहरी विकास मन्त्रालयअन्तर्गतको पोखरा उपत्यका नगर विकास समितिको कार्यालयले छुट्टाछुट्टै सूचना प्रकाशन गरी सार्वजनिक जग्गामा अनधिकृत रूपमा बनाइएका संरचना ३५ दिनभित्र हटाउन अल्टिमेटम दिएका थिए । महानगरले ४ वैशाख र उपत्यका नगर विकास समितिले ९ वैशाखमा सूचना प्रकाशन गरेका थिए । महानगरले दिएको म्याद ४ जेठ र समितिले दिएको म्याद ९ जेठमा सकिँदैछ । विशेषगरी पृथ्वीचोक, फिर्केखोला लगायतका क्षेत्रमा सार्वजनिक जमिन मिचेर बनेका संरचना हटाउने तयारी महानगरको छ ।

उक्त सूचनाबमोजिम पृथ्वीचोक यातायात कार्यालय नजिकै उपत्यका नगर विकास समितिको जग्गामा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले बनाएको भवन खाली गरिसकेको छ । तर, पृथ्वीचोककै अन्य क्षेत्रमा रहेका एमालेनिकट जिफन्ट, कांग्रेस निकट ट्रेड युनियन कांग्रेस, सहारा क्लब, सामुदायिक प्रहरी र हिमाली सांस्कृतिक परिवारले भने म्याद गुज्रिँदै जाँदा पनि अझै सार्ने सुरसार गरेका छैनन् ।
महानगर प्रमुख आचार्यले ती कार्यालय र सटरहरूलाई स्थानान्तरण हुन भनिसकेको र म्यादभित्रै खाली गर्ने अपेक्षा राखेको सुनाए । उनले पहिलो चरणमा पृथ्वीचोकबाट ट्राफिक कार्यालय हुँदै नयाँबजार निस्कने सार्वजनिक बाटोमा पर्ने भवन तथा अन्य संरचना हटाएर बाटो फराकिलो बनाउने र फिर्के खोलाको अतिक्रमण हटाउने जानकारी दिए । पोखरा बसपार्कका सुकुमवासीको हकमा भने छानबिन गरिने र यसबारे आज मंगलबार बस्ने कार्यपालिका बैठकले ठोस निर्णय लिने प्रमुख आचार्यले स्पष्ट पारेका छन् ।

डनन्यूज ट्रेन्डिङ