News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज प्रमुख समाचार

मेयरका भाइको पार्टी प्यालेसमा नगरसभा !, सदस्यहरुद्वारा व्यापक विरोध !

विरोध गर्नेलाई धम्की -'छलफलको जरुरी छैन भने उपस्थिति अनिवार्य छैन !'

पोखरा, १४ असार । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्ना भाइ शिवराज आचार्यको निजी पार्टी प्यालेस पोखरा इभेन्ट सेन्टरमा नगरसभा/अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्न लागेको भन्दैं नगरसभा सदस्यहरुले नैं कार्यक्रमको विरोध गरेका छन् ।

सामाजिक सञ्जालमा नगरसभा सदस्यहरु प्रकाश कोइराला (वडा नं. ४), प्रकाश कार्की (वडा नं. ३३), सुशिल बास्तोला (वडा नं.११) र पूर्णचन्द्र न्यौपाने (वडा नं.१०) लगायतका सदस्यहरुले असहमति जनाएका हुन् । उनीहरुले सामाजिक सञ्जालमा यस विषयमा विरोध गर्दै आफ्ना माग र भनाईहरु समेत सार्वजनिक गरेका छन् ।

शुरुमा पोखरा महानगरपालिकाले नगरसभा सदस्यहरुलाई पठाएको सन्देशः
“श्री नगरसभा सदस्यज्यूहरु, नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सभासदहरु बिच अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको हुनाले आज शनिवार मिति २०८२/०३/१४ गते दिनको २ः३० बजे पोखरा इभेन्ट सेन्टरमा उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ । पोखरा महानगरपालिका ।”

नगरसभा हल बाहिर आयोजना गरिनु ऐन विपरित :
नगरसभा सम्बन्धी कार्यक्रम नगरसभा हल बाहिर आयोजना गरिनु संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को विपरित भएको भन्दैं नगरसभाको कार्य र प्रक्रिया निश्चित स्थल अर्थात् पोखरा महानगरपालिकाको कार्यालय परिसर वा पोखरा सभाहलमा नै सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।

व्यक्तिको निजी स्थल पोखरा इभेन्ट सेन्टरमा नगरसभा प्रकृतिको कार्यक्रम आयोजना गरिनु गम्भिर प्रक्रियागत त्रुटी भएको नगरसभा सदस्यहरुको भनाई छ ।

कार्यक्रमको प्रकृति, उद्देश्य अस्पष्ट रहेको र कार्यक्रममा के विषयमा छलफल हुने भनेर पूर्वजानकारी पनि नगराईएको नगरसभा सदस्यहरुको भनाई छ । नगरसभा सदस्यलाई केवल उपस्थितिको लागि बोलाउनु र निर्णय प्रक्रियामा सीमित भूमिका दिनु अलोकतान्त्रिक अभ्यास भएको उनीहरुले आरोप लगाएका छन् ।

नगरसभा सम्बन्धी कुनै पनि बैठक, छलफल, अन्तरक्रिया वा निर्णय प्रक्रिया नगरसभा हल वा महानगरको आधिकारिक स्थलमा नैं गर्नुपर्ने माग राखेका छन् । उनीहरुले यस्ता कार्यक्रम गर्नुअघि नगरसभा सदस्यहरुसँग पूर्वसहमति वा परामर्श गर्नुपर्ने र सम्पूर्ण प्रक्रिया पारदर्शी, प्रत्यक्ष प्रसारण र विधिसम्मत गर्नुपर्ने माग समेत राखेका छन् ।

नगरसभा सदस्यको विरोधपछि पठाइएको दोस्रो म्यासेज :
‘श्री नगर सभासदस्यज्यूहरु, नमस्कार !
नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सभासदहरु बिच अन्तरक्रियात्मक अनौपचारिक कार्यक्रम हो, यो नगरसभाको अंश हैन । निश्चित एजेन्डा छैनन्, कार्यक्रम सरकारी खर्चमा आयोजना गरिएको छैन । यदि तपाईलाई छलफलको जरुरी छैन भने उपस्थिति अनिवार्य छैन । कार्यक्रम आज शनिवार मिति २०८२/०३/१४ गते दिनको २ः३० देखि ५ः३० सम्म पोखरा इभेन्ट सेन्टरमा चल्नेछ । यो कार्यक्रम तपाईहरुको माग अनुसार नै आयोजना गरेको हो । अन्यथा नलिनुहोला । पोखरा महानगरपालिका ।’

बिजोग छ अवस्था पोखरा सभागृहको :
२०४५ सालदेखि सञ्चालनमा आएको तत्कालीन दीपेन्द्र सभागृह नै जनआन्दोलन पश्चात् पोखरा सभागृह नामाकरण गरिएको हो । ०६२/०६३ को जनआन्दोलनसँगै राजपरिवारका सदस्यका नाम जोडिएका संरचना परिवर्तन गर्ने क्रममा पोखरा सभागृह बनाईएको भएपनि यसको अवस्था अहिले बिजोग छ ।

करिब १५ सय सिट क्षमताको सभागृहको नाम त फेरियो, तर स्वरुप भने कुनै भत्किएको घरको भग्नावशेष जस्तो अवस्थामा राखिएको छ । गण्डकी प्रदेशको राजधानी पोखराले ठूला कार्यक्रम र बैठक गर्न सभागृहको अवस्था यस्तो दयनीय हुँदा पनि सम्बन्धित निकाय कसैलाई यसको प्रवाह छैन ।

गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको एकमात्र सरकारी सभाहलको दुरावस्था

पोखरामा च्याऊ झैं खोलिएका पार्टी प्यालेस र जनप्रतिनिधि कैं आफन्तको इभेन्ट सेन्टरमा कार्यक्रमहरु सञ्चालन भईरहुन् भन्ने हेतुले पनि पोखरा सभागृहप्रति कसैले चासो दिएको देखिदैंन । पोखरा सभागृह सञ्चालन गर्ने हो भने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकैं सहोदर भाइ शिव आचार्यले खोलेको पोखरा ईभेन्ट सेन्टर लगायतमा असर पर्ने निश्चित छ । त्यसकारण पनि मेयर धनराज पोखरा सभागृहको अवस्था सुधार्न चाहँदैनन् । बरु जति सक्छन्, आफ्नो शक्ति र पहुँचले भेटे जति घुमाउरो पारामा अधिकांश कार्यक्रमहरु पोखरा ईभेन्ट सेन्टरमा नैं गर्न लगाउँछन् ।

नगरसभा सदस्यहरुले गरेको विरोध र महानगरपालिकाका मेयरका भाइ जोडिएको सेन्टर बिच उठाईएको प्रश्न जायज देखिन्छ । पोखरा सभागृहलाई भग्नावशेष जस्तो अवस्थामा पु¥याएर निजी पार्टी प्यालेसमा सरकारी बजेटका कार्यक्रमहरु गर्नु आफैंमा शंकास्पद र न्यायोचित देखिदैंन । त्यसो त पोखरा महानगरपालिका अन्तर्गतका अधिकांश कार्यक्रमहरु यहीं सेन्टरमा महँङ्गो रकम तिरेर गरिनुले पनि मेयर आचार्यको नियत र सरकारी पैसाको दुरुपयोग भएको प्रष्टै देख्न सकिन्छ ।

मेयर धनराजका सहोदर भाइ शिवराज आचार्यले सञ्चालन गरेको पोखरा इभेन्ट सेन्टर । जहाँ मेयर सबैभन्दा बढि कार्यक्रम होस् भन्ने चाहन्छन् ।