News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

लोभमा फस्दा पोखराका एक व्यवसायी आफैं ठगिए

नक्कली सुनको माला दिई चार लाख रुपैयाँ ठगी गरेर भागेका दुई भारतीय पक्राउ

पोखरा, ३१ जेठ । लोभमा फस्दा पोखराका एक व्यवसायी आफैं ठगिएका छन् । ती व्यवसायीलाई नक्कली सुनको माला दिदैं चार लाख रुपैयाँ ठगी गरेर फरार भएका दुई भारतीय नागरिकलाई ३ घण्टा भित्रमा प्रहरीले बुधबार पक्राउ गर्न सफल भएको छ ।

सिर्जनाचोकमा प्लास्टिक पसल सञ्चालन गरेर बसेका ५२ वर्षीय व्यवसायीलाई सुनको माला भन्दै उक्त नक्कली गहना चार लाख रुपैयाँमा बिक्री गरेर फरार भएका उनीहरुलाई छोरेपाटनबाट प्रहरीले दिउँसो ४ बजे पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट ३ लाख ९० हजार रुपैयाँ बरामद गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश घर भएकी ७१ वर्षीया प्रभा देवी र ४२ वर्षीय रामनारायण सुलेङी रहेका छन् । बुधबार दिउँसो १ः४५ बजे दुईजनाले ती व्यवसायीलाई उक्त धातु सुन भनेर नैं बिक्री गरेका थिए । व्यवसायीले आफूले खरिद गरेको सुन पसलमा परीक्षण गर्दा सुन नभएको पत्ता लागेपछि आफू ठगिएको थाहा पाएका थिए । लोभका कारण आफू नराम्रोसँग फसेपछि उनले तत्कालै प्रहरीलाई गुहारेका थिए ।

ती व्यवसायीले उपलब्ध गराएको हुलिएका आधारमा वडा प्रहरी कार्यालय बैदाम र छोरेपाटन प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले दिउँसो ४ बजे पोखराबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बसमा चेकजाँच गर्दा ती दुईजनालाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका दुईजनालाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा बिहीबार कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाममा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेषित गरेको ईमेलमा लेखिएको छ ।