कास्की, २२ माघ । माछापुच्छ्रे गाउँपालिकाका दुई वडालाई जोड्ने गरी पक्की मोटरेबल पुल निर्माण सुरु गरिएको छ ।
गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयबाट माछापुच्छ्रे–२ र ३ जोड्ने गरी सेती नदीमाथि पुल निर्माण गर्न लागिएको हो । मोटरेबल सो पुलको आज प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले शिलान्यास गर्नुभयो । प्रदेश सरकारको रु १० करोड ४३ लाख ५७ हजार ६०४ लागतमा पुल निर्माणका लागि हिमदुङ एण्ड थोकर र राम जानकी जेभी काठमाडौँसँग गत साउन २५ गते ठेक्का सम्झौता गरिएको पूर्वाधार कार्यालयका प्रमुख महेन्द्र बानियाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्झौताका मितिले दुई वर्ष विसं २०८० साउन २४ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । आरसीसी स्टील स्टक्चरमा निर्माण गरिने सो पुल ७० मिटर लामो र दुवैतर्फ डेढ मिटर फुटपाथसहित साढे १० मिटर फराकिलो हुने कार्यालयले जनाएको छ । पुल निर्माणपछि माछापुच्छ«को उत्तरी भेगसहित पोखरा महानगरपालिका–१९ का नागरिक प्रत्यक्ष लाभान्वित हुने बताइन्छ ।
पुल शिलान्यास गर्दै अर्थमन्त्री बरालले गाउँपालिकाका सार्दिखोला, घाचोक, लाहाचोक र साविक माछापुच्छ«े गाविसका नागरिकका लागि अत्यावश्यक सो पुल प्रदेश सरकारले प्राथमिकतामा राखेर योजना कार्यान्वयन सुरु गरेको बताउनुभयो । प्रदेश सरकारको पहिलो वर्ष पुलको डिपीआरका लागि रु ७५ लाख बजेट विनियोजन भएको जानकारी दिँदै उहाँले पछिल्लो समय स्रोत अभावमा योजना कार्यान्वयनमा ढिलाइ भए पनि अब स्रोतको अभाव नरहने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “योजनाको कूल लागतको २० प्रतिशत स्रोत नहुँदासम्म बहुवर्षीय योजनाअघि नबढाउने सरकारको नीतिले पनि योजना कार्यान्वयनमा ढिलाइ भयो, रातो किताबमा योजना प¥र्यो, तर कार्यान्वयनमा नजाँदा जनतामा निराशा आउनु स्वभाविक हो, धेरै मिहिनेतपछि यसवर्ष पुलको स्रोतको सुनिश्चित भएको छ ।”
गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा पालिकामा पूर्वाधार निर्माणको काम भइरहेको बताउनुभयो । उहाँले अब धिप्राङ र मर्दी खोलामा पुल निर्माणपछि पालिकाका नौवटै वडा सडक सञ्जालबाट जोडिने जानकारी दिनुभयो । कार्यक्रममा वडा नं २ का वडाध्यक्ष विक्रम गुरुङ, वडा नं ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्साल, नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटीका सदस्य प्रविणा अधिकारी, नेपाली कांग्रेस गाउँपालिका समितिका उपसभापति मेखबहादुर गुरुङ, निर्माण कम्पनीका प्रतिनिधि निर्मल सिटौला लगायतले पक्की पुल निर्माणसँगै जनतालाई गाउँपालिका केन्द्र आवतजावतमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।