News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

खुल्यो अग्रिम टिकट बुकिङ, कहाँ-कहाँबाट कसरी काट्ने ?

काठमाडौँ । सरकारले आज (सोमबार) दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले बिहान ७ बजे टिकट बुकिङ सुरु भएको बताए ।

‘म अग्रिम टिकट लिने यात्रुलाई टिकट लिएपछि आफू जाने गन्तव्यस्थल, बस नम्बर, मिति र समय पहिचान गरेर बस्न आग्रह गर्दछु,’ महासचिव सिटौलाले भनेका छन् ।

कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानबाट टिकट बुकिङ गर्न सकिनेछ । टिकट बुकिङ शुरु भएसँगै दशैमा घर जान चाहने यात्रु टिकट काट्नका लागि बिहानैबाट पुगेका छन् ।

थपियो टिकट काउन्टर

टिकट खुलेको पहिलो दिनदेखि नै राजधानिको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘टिकट काउन्टर’ थप गरिएको छ । ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ११ ‘टिकट काउन्टर’ थप गरिएको प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए । नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ ।

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

यात्रु सहायता कक्ष स्थापना

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ ।