News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

'दुईसय ४९ जना सांसद सहभागी, प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत र विपक्षमा ८३ मत'

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत पाएका छन् । दुईसय ४९ जना सांसद सहभागी भएकोमा प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत र विपक्षमा ८३ मत खसेको छ ।

प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका माधव कुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले विश्वासको मत दिएका छन् । आज उपस्थित भएर पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका एकएकजना सांसद भने तटस्थ बसेका छन् । जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो समूहले पनि देउवालाई विश्वासको मत दिएको थियो ।

प्रधानमन्त्री देउवाका पक्षमा मत हाल्ने सांसदहरुलाई एमालेमा नरहने चेतावनी दिदाँ दिदैं पनि माधवकुमार नेपाल र झलनाथ खनालका तर्फबाट मात्र नभई ओली पक्षधरसहित गरेर २२ सांसदले विश्वासको मत दिएका थिए । आजको विश्वासको मतमा नेपाल समूहका १० सांसद भने तटस्थ बसेका थिए । ओली पक्षका ८ जनाले फ्लोर क्रस गर्दै देउवाका पक्षमा उभिएका थिए ।

ओली सरकारमा हुँदा वन मन्त्री बनेका प्रेम आले र तनहुँ क्षेत्र नं. १ का सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले देउवाको पक्षमा मतदान दिएका थिए । यसरी देउवालाई विश्वासको मत दिनेमा ओली पक्षमा हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन रहेका छन् । यसरी फ्लोर क्रस गरेर जाने यी सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा हस्ताक्षर भने गरेका थिएनन् । जसमध्ये केही सांसद गत वैशाख २७ गतेमात्रै ओली समूहमा गएका थिए ।

यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका नेपाल समूहका सांसदहरू झपट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्ट, राजबहादुर बुढालगायतले तटस्थ बस्ने भन्दै संसद भवनबाट बाहिरिएका थिए ।

एमालेबाट प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरुको नामावली :
१. माधवकुमार नेपाल
२. विरोध खतिवडा
३. कल्याणी खड्का
४. जीवनराम श्रेष्ठ
५. पार्वती विशुंखे
६. रामकुमारी झाँक्री
७. मेटमणि चौधरी
८. भवानी खापुङ
९. निरादेवी जैरु
१०. मुकुन्द न्यौपाने
११. कलिला खातुन
१२. हिरा केसी
१३. कृष्णकुमार श्रेष्ठ किसान
१४. गोपाल बम
१५. सविना हुसेन
१६. कृष्णलाल महर्जन
१७. प्रेमबहादुर आले
१८. धनबहादुर बुढा
१९. विना बुढाथोकी
२०. सरला यादव
२१. पुष्पाकुमारी कर्ण
२२. लक्ष्मी चौधरी