News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश पर्यटन समाचार सुदुर पश्चिम

हेलिकोप्टर सेवाले खप्तड घुम्ने पर्यटक बढे

'खप्तड प्रकृति प्रेमीलाई मात्र नभई, धार्मिक पर्यटकलाई समेत उपयुक्त गन्तव्य'

विमलबहादुर विष्ट
डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिकस्थल खप्तड घुम्न जानेहरुका लागि पाँचदिने ‘हेली टुर प्याकेज’ शुरु भएपछि खप्तड पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् । खप्तडको प्रवेशद्वार झिंग्रानामा रहेको ‘खप्तड होमस्टे’ आयोजना तथा माउण्टेन हेलिकप्टोरको सहकार्यमा उक्त ‘हेली टुर प्याकेज’ शुरु गरिएको हो ।

‘हेलि टुर प्याकेज’ शुरु भएसँगै अहिले खप्तड घुम्न आउने आन्तरिक पर्यटक बढेका र यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने अनुमान गरिएको खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो “कोरोनाका कारण खप्तडमा पर्यटक आउन सकेका थिएनन्, अहिले कोरोनाको सङ्क्रमण कम छ र हामीले ‘हेलि टुर’ प्याकेज पनि शुरु गरेपछि पर्यटकहरु आउन थालेका छन्, यहाँको वातावरण नै रमाइलो देखिएको छ ।”

यस प्याकेजअन्तर्गत खप्तड पुग्नका लागि दिपायलबाट प्रतिव्यक्ति रु १० हजार, झिंग्रानाबाट रु आठ हजार, अछामको साफेगर र बझाङको चैनपुरबाट रु १२ हजार तथा कैलालीबाट रु ३० हजार लाग्ने सो आयोजनाका अधिकारीले जनाएका छन् । यस आयोजनाको बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमाा मुख्यमन्त्री भट्टले खप्तड क्षेत्रको पर्यटकीय विकासका लागि प्रदेश सरकारले ठोस योजना बनाई अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तडको विकासका लागि प्रदेश सरकार ठोस योजना ल्याउने तयारीमा छ, चाडै हामी केही नयाँ काम गर्छाैं ।” सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली र डोटीबाट खप्तड जान हवाइ टिकटको व्यवस्था मिलाइएको आयोजकले जनाएका छन् । खप्तड क्षेत्र सुदूरपश्चिम प्रदेशको प्रमुख चिनारी हो ।

प्रदेशको प्रमुख धार्मिक पर्यटकीय स्थलसमेत रहेको खप्तड घुम्न ‘हेली टुर’ शुरु भएपछि स्थानीयबासीमा खुसियाली छाएको छ । प्याकेज शुरु भएको पहिलो दिन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टसहित २० जना खप्तड पुग्नुभएको थियो । साथै यसै दिन अरु ५० जनाभन्दा बढी पर्यटक पनि हेलिकोप्टरमार्फत् खप्तड पुगेको खप्तड पर्यटन विकास समिति डोटीले जनाएको छ । हिउँदे यामको दृश्य कँद गर्न इच्छुक पर्यटकहरूका लागि अहिले खप्तड क्षेत्र निकै मनमोहक भएको खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड आफैमा सुन्दर क्षेत्र हो, अहिलेको याम (पुस देखि जेठ सम्म) निकै मनमोहक हुन्छ, त्यसमा पनि ‘हेली टुर’ प्याकेज शुरु भएकाले पर्यटकलाई झनै राम्रो भएको छ ।”

हेलिकोप्टरमार्फत् खप्तड घुम्नका लागि पाँच किसिमका प्याकेज रहेको बताइएको छ । कैलाली, दिपायल, झिग्राना, बझाङ र अछामबाट खप्तड पुग्न र घुम्न छुट्टाछुट्टै प्याकेज ल्याइएको छ । मनोरम दृश्य अवलोकनसहितको आनन्ददायी यात्रा रहेकोले पर्यटक बढ्ने आयोजकको दाबी रहेको छ । सुदूरपश्चिम प्रदेशको मुख्य पर्यटकीय चिनारी रहेको खप्तडको जगेर्ना र प्रचार प्रसार गर्न सके प्रदेशको गरिमा बढ्ने र आयआर्जनको वातावरण सिर्जना हुने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले खप्तडको मात्रै विकास गर्न सके यहाँको आयआर्जनमा उलेख्य विकास हुनेछ, हामी खप्तडको विकासमा लागि परेका छौँ ।”

खप्तड राष्ट्रिय निकुञ्जलाई प्राकृतिक सौन्दर्यताको खानी मानिन्छ । यतिमात्र नभइ खप्तडलाई धर्तीको स्वर्गको उपमा पनि दिइएको छ । सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घाँसे मैदान अर्थात् पाटन रहेका छन् । सुन्दर घाँसे मैदानमा पुग्नेवित्तिकै यात्रीको थकान मेटिन्छ । यसको वरिपरि ५३ वटा थुम्का छन्, जसलाई स्थानीय भाषामा झोती भन्ने गरिएको खप्तडसँग सीमा जोडिएको डोटीको पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटील बताउनुभयो । उहाँका अनुसरा खप्तडको मुख्य आर्कषण भनेको त्यहाँका घाँसै मैदान, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर हुन् । यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको एक पवित्र ठाउँ पनि हो । खप्तड प्रकृति प्रेमीलाई मात्र नभई, धार्मिक पर्यटकलाई समेत उपयुक्त गन्तव्यका रुपमा चिनिदै आएको स्थानीयबासीहरु बताउछन् ।

सुदूरपश्चिम प्रदेशको सबैभन्दा प्रशिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ । चैत वैशाखमा खप्तड घुम्न गएमा रंगीविरंगी लालीगुराँस फुलेको देख्न पाइन्छ भने अहिलेको समयमा हिउँदे यामको दृश्य अवलोकन गर्न सकिन्छ । खप्तडको सबैभन्दा आकर्षक पक्ष हो गंगा दशहरा मेला । प्रत्येक वर्षको जेठ महिनामा यहाँ भव्य मेला लाग्ने गर्छ । सुदूरपश्चिमका नौवटै जिल्लासहित देशभर तथा छिमेकी मुलुक भारतबाट पनि यहाँ भक्तजनको भिड लाग्ने गर्दछ । खप्तड क्षेत्रको बीचमा उभिएको १२ हजार फिट अग्लो खप्तड लेक पर्दछ ।

खप्तड बाबाको कुटी, त्रिवेणी नदी खापर दह, शिव मन्दिर सहस्रलिंग गणेश मन्दिर, नागढुंगा, केदारढुंगा जस्ता धार्मिकस्थल निकै प्रख्यात छन् । सदियौँदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दसहरामा हजारौँ तीर्थयात्री भेला हुन्छन् । त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी जम्मा हुने गर्छन् । किंवदन्तीअनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट खप्तडका थुम्का बनेको भनिन्छ । यो समयमा यहाँ निकै चिसो छ । वर्षामा घाँसे मैदानले रमणीय देखिने खप्तडका पाटनहरु अहिले हिउँ नपर्दा खुला देखिएका छन् ।

अध्यात्मिक र असाधारण तपस्वीका रुपमा चिनिने खप्तड बाबाले ५० वर्षको तपस्यापछि सुदूरपश्चिमका चार पहाडी जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रलाई ‘भू–स्वर्ग’ को उपनाम दिदै संसारभर प्रचार गर्नुभयो । त्यसअघि निगालोको जंगलका रुपमा गुमनाम खप्तडलाई अहिले सुदूरपश्चिमेलीहरु प्रकृतीले दिएको सुन्दर उपहारका रुपमा बुझिरहेका छन् । तर खप्तडमा भएको खजनालाई कसैले पनि उपयोगमा ल्याउन नसकेको दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर प्रमुख घनस्याम पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड प्रकृतिको खजना हो भन्ने जान्दाजान्दै पनि उपयोगमा ल्याउन नसक्नु हाम्रो कमजोरी हो । हामीले केही गरेजस्तो त गरेका छौँ तर त्यो सबै बजेट सक्ने काममात्र हो ।” खप्तड स्वामी (बाबा) ले भनेझँै खप्तड पर्यटकहरुका लागि भू–स्वर्ग भन्दा कम छैन । अहिले सुदूरपश्चिमेलीहरुले बुझेझैँ खजाना भन्दा पनि कम छैन । गलैँचा ओछ्याएजस्तै विशाल हरिया फाँटहरु, मनै लोभ्याउने रंगीचंगी फूल, आश्चर्य लाग्ने त्यहाँको मौसम सायदै पृथ्वीका कुनै कुनामा होलान् ।

कुल २२ पाटन ५२ झोती भएको नेपालको एकमात्र राष्ट्रिय निकुञ्ज पनि हो खप्तड । हिउद, बर्षा, गर्मी मौसममा भिन्न रुपमा प्रस्तुत हुने खप्तड धेरैका लागि नपुगी नहुने गन्तव्य भएको होटेल व्यवसायी संघ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “मनमा भएका अशान्ति हटाउनु छ र प्रकृतिसँग रमाउनु छ भने एक पटक खप्तड घुम्नु अनिवार्य छ ।” खप्तड राष्ट्रिय निकुञ्जका अनुसार त्यहाँ चार रैथानेसहित १३५ प्रजातीका फूल नियाल्न सकिन्छ । उक्त क्षेत्रमा मात्रै २२४ प्रजातीका जडीबुटी, ५३७ प्रजातीका बनस्पती, २७० जातका चराचुरुङ्गी रहेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयमा उल्लेख गरिएको छ । उक्त ठाउँमा सहश्रलिङ्ग, नागढुंगा, ताल, दुर्लभ बझाङ्गी भ्यागुता खप्तडले पाएका भिन्नै उपहार पनि ।

प्रकृतिले त खप्तड धनी छ नै । धार्मीक रुपले पनि त्यत्तिकै प्रसिद्ध छ । खप्तडको त्रिवेणी मन्दिर धार्मिक रुपले महत्वपूर्ण मानिन्छ । गंगादशहराका दिन पूजा गरिने त्रिबेणी मन्दिरमा दर्शनार्थीहरुको ओइरो लाग्ने गर्छ । त्योसँगै खप्तड बाबाको कुटीको पनि विशेष महत्व रहेको छ । भारतको कोलकतास्थित ट्र«पिकल कलेजबाट एमबिबिएस र बेलायतबाट सर्जनको अध्ययन गरेका खप्तड बाबा प्रसिद्ध डाक्टर हुनुहुन्थ्यो । तर सन्यास लिएर उहाँले सन् १९४६ मा खप्तड आइ तपस्या गरेको भन्ने विभिन्न किताबहरुमा उल्लेख गरेको पाइन्छ । खप्तड बाबाले तपस्या गरेको स्थान, उहाँले प्रयोग गर्ने लुगाकपडा, सर सामग्री र उहाँको कुटी अहिले पनि सुरक्षित राखिएको छ ।

खप्तडबारे डेढ दर्जन पुस्तक लेखेका खप्तड बाबाबारे जान्न चाहनेका लागि पनि एक अध्ययनको क्षेत्र हो खप्तड । समुद्री सतहदेखि दुई हजार ७०० देखि तीन हजार २२७ मीटरसम्मको उचाइमा अवस्थित खप्तड २२५ बर्गकिलोमीटर क्षेत्रफलमा फैलिएको छ । कहिले हिउँभित्र लुक्ने त कहिले रंगीचङ्गी फूलहरुसँग जिस्कने खप्तड धेरैका लागि अध्ययनको विषय बस्तु बन्नसक्ने खप्तड पर्यटन विकास समितिका पूर्व अध्यक्ष पूर्णराज जोशीले बताउनुभयो । खप्तडलाई प्राकृतिको सुन्दरतासँग मात्र नराखेर धामिर्क आस्थाका रुपमा सम्मान गर्नेहरु पनि अधिक छन् । त्रिबेणी, खापरदह, सहस्रलिङ्ग, नागढुंगा, गणेशस्थान जस्ता सांस्कृतिक महत्व बोकेका धार्मिकस्थल पनि खप्तडमा रहेकाले उनीहरुले यसलाई एक धार्मिकस्थलका रुपमा सम्मान गर्ने गर्दछन् ।

पर्यटकीय दृष्टिले खप्तड अत्यन्त उर्वर क्षेत्र हो । यहाँ पर्यटक ल्याउन सक्ने हो भने खप्तडको सिमाना जोडिएका बझाङ, बाजुरा, अछाम र डोटीका चार जिल्लाको आन्तरिक आयस्रोतमा ठूलो परिवर्तन आउने खप्तड मध्यावर्ती क्षेत्र विकास समितिका पूर्व अध्यक्ष लालबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमको विकास गर्न पहिले खप्तड क्षेत्रको पर्यटकीय रुपमा विकास गर्नु जरुरी छ ।” पर्यावरणीय र धार्मिक पर्यटनसँगै अनुसन्धानकर्ताका लागिसमेत उपयुक्त रहेकोले यो क्षेत्रको विकास जरुरी छ ।

प्रतिक्रिया