News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

धर्म-सस्कृति समाचार

ऐतिहासिक कुलीबराह मन्दिर निर्माण

'धार्मिक तथा सांस्कृतिक महत्वका शक्तिपीठको संरक्षण र विकासमा स्थानीयवासी सक्रिय'

तस्विर साभारः नेपालपत्र डटकम

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङ गाउँको पूर्वी भागमा रहेको ऐतिहासिक शक्तिपीठ कुली बराहको मन्दिर निर्माण सम्पन्न भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको रु चार लाख र देश विदेशका विभिन्न स्थानमा रहेका स्थानीयको १४ लाखसहित कूल १८ लाखमा मन्दिर निर्माण गरिएको निर्माण समितिका सदस्य एवं छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दीलीप गुरुङले जानकारी दिनुभयो । छोम्रोङ र आसपासका क्षेत्रमा बस्ती विकास भएसँगै कुलीबराहसहितका शक्तिपीठको अस्तित्व रहेको बताउँदै उहाँले व्यवस्थित मन्दिर नहुँदा विगतमा स्थानीयवासीले शिलामा पूजाआजा गर्ने गरेको बताउनुभयो । अन्नपूर्ण आधार शिविर जाने पदमार्ग आसपासमा पर्ने कुलीबराहसहित गाउँको उत्तर–पश्चिममा पर्ने छुरुप बराह, दक्षिण पूर्वमा पर्ने ताउजी बराह, पश्चिममा पर्ने मेश्रम बराह र उत्तर पूर्वकापर्ने पुजनीयम् बराह यहाँका दर्शनीयस्थल हुन् । पदमार्ग क्षेत्रमा सम्भाव्य प्राकृतिक प्रकोप नहोस् भन्दै स्थानीयवासीले वर्षेनी यी बराहको पूजाआजा गर्दै आएको स्थानीयवासी बताउछन् ।

अन्नपूर्ण आधारशिविर क्षेत्रमा पर्ने यी धार्मिकस्थलको संरक्षण र विकासका लागि पछिल्लो समयमा स्थानीयले जागरुकता देखाउँदै आएको समाजसेवी एवं अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताउनुभयो । धार्मिक तथा सांस्कृतिक महत्वका यी शक्तिपीठको संरक्षण र विकासमा स्थानीयवासीले देखाएको सक्रियतासँगै राज्यका तर्फबाट सहयोग आवश्यक हुने गुरुङको भनाइ छ ।