News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित

पर्वत, १९ असोज । पर्वतमा गएको भीषण बाढीपहिरोका कारण ठूलो धनजनको क्षतिसँगै ३०० परिवार विस्थापित हुन पुगेका छन्। जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार लगातारको विपद्पछि जिल्लाका ७ मध्ये ६ वटा स्थानीय तहका विभिन्न बस्तीमा गम्भीर असर परेको छ।

बाढीपहिरोले जिल्लाभर १७० वटा घर पूर्ण रूपमा ध्वस्त बनाएको छ भने १३१ घरमा आंशिक क्षति पुगेको छ। यस विपद्बाट सबैभन्दा बढी प्रभावित जलजला गाउँपालिका भएको छ, जहाँ ११३ घरमा भारी क्षति पुगेको छ र ५८ परिवार अझै पनि पहिरोको उच्च जोखिममा छन्। जलजलाबाट मात्रै १७१ परिवार विस्थापित भएका छन्।

अन्य पालिकासम्बन्धी विवरण हेर्दा, कुश्मा नगरपालिकामा २, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा ९, महाशिला गाउँपालिकामा २ र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीका अनुसार प्रभावित क्षेत्रका स्थानीयहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने कार्य जारी छ।

विपद्ले आवासीय संरचना मात्र नभई सार्वजनिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ। बाढीपहिरोका कारण ५ वटा विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य चौकी र प्रहरी चौकीमा क्षति पुगेको छ। यसका साथै पर्वत र बागलुङलाई जोड्ने झोलुङ्गे पुल तथा मध्यपहाडी लोकमार्गअन्तर्गतको मालढुङ्गा पुलमा समेत असर परेको छ।

सडक सञ्जाल अवरुद्ध हुँदा राहत तथा उद्धार कार्यमा केही चुनौती थपिएको छ। कालीगण्डकी लोकमार्गअन्तर्गतका फलेवास–बिहादी र लुङ्खुदेउराली–हुवास सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिएका छन्।

यसैबीच, विस्थापित तथा प्रभावित परिवारलाई स्थानीय प्रशासन, स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न सामाजिक संस्थाको संयुक्त पहलमा राहत वितरण गरिएको छ। प्रभावितहरूलाई तत्कालका लागि त्रिपाल, खाद्यान्न, भाँडावर्तन, ओढ्ने–ओछ्याउने सामग्री, सरसफाइका सामाग्री तथा स्वास्थ्य उपचार सेवा प्रदान गरिएको छ।