News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’

पोखरा, ६ पुस । जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको पुरानो सम्मान र शैक्षिक गुणस्तर कायम राख्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

आइतबार क्याम्पसमा भएको पदस्थापना र शपथ कार्यक्रममा बोल्दै अध्यक्ष पहारीले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रमाणपत्र (क्यूएए) को तेस्रो चरण प्राप्त गर्न पूरा प्रयास गर्ने वाचा गरे ।

तीन वर्षे कार्यकाल (२०८२–२०८५) को योजना सुनाउँदै उनले भने, “गण्डकी प्रदेश सरकारसँग मिलेर सस्तो शुल्कमा राम्रो शिक्षा दिने र बजारले खोज्ने दक्ष जनशक्ति तयार पार्ने मेरो मुख्य लक्ष्य हो । मेरो नेतृत्व क्याम्पसको विकास, राम्रो व्यवस्थापन र उत्कृष्ट शिक्षामा केन्द्रित हुनेछ । हामी सबैलाई समेटेर जनप्रियलाई साँच्चै जनप्रिय बनाउनेछौँ ।” उनले ‘म’ भन्दा ‘हामी’ को भावना विकास गरेर काम गर्ने पनि विश्वास दिलाए ।

क्याम्पसको ३४औँ वार्षिकोत्सवको अवसरमा भएको साधारणसभा र अधिवेशनबाट निर्वाचित अध्यक्ष पहारीसहित ११ जना सदस्यले आइतबार शपथ लिएका छन् । शपथ लिने सदस्यहरूमा गणेशबहादुर अधिकारी, नम्रता बराल, तिलकराम पौडेल, गिरिराज चालिसे, विश्वकुमार विजुक्छे, पदमबन्धु पोखरेल, लक्ष्मीप्रसाद पौडेल, इन्द्रप्रसाद पौडेल, शारदामोहन काफ्ले, राधिका रेग्मी सिग्देल र हेमबहादुर थापा पराजुली छन् । २५ सदस्यीय समितिका बाँकी सदस्य मनोनयन र पदेन हुन्छन् । शपथ कार्यक्रममा निर्वाचन समिति संयोजक अधिवक्ता बोधराज बरालले नवनिर्वाचितलाई प्रमाणपत्र दिएका थिए ।

कार्यक्रममा बोल्ने अग्रजहरूले क्याम्पसलाई राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिए । संस्थापक उपाध्यक्ष हरिप्रसाद बराल, पूर्वअध्यक्ष दामोदर चालिसे, परशुराम बराल र निवर्तमान अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेलगायतले नयाँ समितिलाई बधाई दिँदै क्याम्पसलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए । उनीहरूले भने, “राजनीतिक आस्था गेटबाहिर राखेर भित्र केवल राम्रो नतिजाका लागि काम गर्नुपर्छ । सामुदायिक भावनाले मात्र जनप्रियको इज्जत जोगिन्छ ।” पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष विकास थापामगरले पनि नयाँ समितिले शैक्षिक गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए ।

निवर्तमान अध्यक्ष विजुक्छेले नयाँ टिमलाई खादा ओढाएर स्वागत गरेका थिए भने क्याम्पस प्रमुख कृष्णबाबु बरालले अबिर लगाएर बधाई दिएका थिए । कार्यक्रमको सञ्चालन चेतबहादुर पोखरेलले गरेका थिए ।

डनन्यूज ट्रेन्डिङ