पोखरा, १५ असार । पोखरा महानगरपालिका नगर युवा परिषदले अनलाइन खबर डटकमका गण्डकी ब्यूरोप्रमुख अमृत सुवेदीलाई पुरस्कृत गरेको छ । पत्रकार सुवेदीसहित विभिन्न क्षेत्रमा क्रियाशिल ६ जना व्यक्तित्वलाई वर्ष उत्कृष्ट पुरस्कार प्रदान गरेको छ ।
पोखरालाई कार्यक्षेत्र बनाई ४० वर्षमुनिका उमेर समूहमा उल्लेखनीय योगदान दिएका व्यक्तित्वहरूलाई यस वर्ष सम्मान गरिएको हो।अनलाइनखबर गण्डकी ब्युरो प्रमुख सुवेदी पत्रकारितामार्फत युवा सशक्तीकरण तथा सामाजिक सरोकारका विषयमा सक्रिय योगदान पु¥याएको भन्दै पत्रकारिता क्षेत्रबाट पुरस्कृत गरिएको हो । पत्रकार अमृतलाई पोखरा महानगरका प्रमुख धनराज आचार्यले नगद ३० हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए ।
अन्य सम्मानित व्यक्तिहरूमा विभिन्न क्षेत्रका उदयीमान युवा समावेश छन्ः
सामाजिक तथा सरसफाइ क्षेत्रबाट सन्तोष पौडेल,
विज्ञान तथा प्रविधि क्षेत्रबाट ब्लाक टेकका प्रमुख कार्यकारी निर्देशक स्वदेश नेपाली,
कला, साहित्य तथा नाट्य क्षेत्रबाट पोखरा थिएटरका सञ्चालक मुक्तिबहादुर कार्की ’परिवर्तन’,
कृषि क्षेत्रबाट अर्गानिक उत्पादन “हरिलो“ सञ्चालनकर्ती रोशनी आचार्य,
खेलकुद क्षेत्रबाट लङ टेनिस खेलाडी प्रदीप खड्का।
यी सबै प्रतिभाहरूलाई पनि नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो ।
पुरस्कारको छनोट गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारीको संयोजकत्वमा गठित ७ सदस्यीय प्रतिभा छनोट समितिको सिफारिसमा गरिएको हो । समितिमा गण्डकी प्रेस रजिस्टार विमला भण्डारी, कानुन व्यवसायी कुञ्जनी प्यासी परियार, पोखरा पर्यटन परिषद अध्यक्ष तारानाथ पहारी, खेलकुद समितिका उपाध्यक्ष दीपक गोदार, पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष उपेन्द्र पौडेल, र पोखरा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया सदस्य रहेका थिए ।
नगर युवा परिषदका उपाध्यक्ष सन्तोष न्यौपानेका अनुसार, ‘पोखरा महानगरलाई कर्मभूमि बनाएका युवाहरूको मेहनत र सिर्जनात्मक योगदानलाई कदर गर्दै उनीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले यो सम्मान प्रदान गरिएको हो।’
उक्त सम्मान कार्यक्रमले पोखरा जस्ता सहरमा कर्मशील युवाहरूको बहुआयामिक योगदानलाई उजागर गर्नुका साथै युवा नेतृत्वको प्रवद्र्धन र प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।