पोखरा, १ जेठ । पृथ्वीनारायण क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियनको आवरणमा गुन्डागर्दी मौंलाएको छ । स्ववियुका केही नेताहरुको पछिल्ला गतिविधिहरुले क्याम्पस नै आतंकित र त्रसित हुन पुगेको छ । पृथ्वीनारायण क्याम्पसमा स्ववियुको आवरणमा एमाले कार्यकर्ताले खुलेआम गुन्डाराज चलाई रहेका छन् ।
एकजना उपप्राध्यापकमाथि स्वतन्त्र विद्यार्थी युनियनका जिम्मेवार नेताहरुले गुन्डागर्दी शैलीमा क्याम्पस प्रमुखको कार्यकक्षमा नै कुटपिट गरेको सिसिटिभी फुटेज बाहिरिएसँगैं यो तथ्य पुष्टि भएको हो । व्यवस्थापन अनुसन्धान विभागका प्रमुख उपप्राध्यापक डा. देवीलाल शर्मामाथि वैशाख ३० गते मंगलबारका दिन पौने १२ बजेको समयमा स्ववियुका सचिव विराट दुवाडीको नेतृत्वमा गएको टोलीले पटक–पटक आक्रमण गरेका थिए ।
स्ववियु सचिव दुवाडी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु पृथ्वीनाराय क्याम्पस कमिटी पोखराका संयोजक समेत हुन् । पृथ्वीनारायण क्याम्पसमा एमाले निकट विद्यार्थी संगठनको स्ववियुमा नेतृत्व रहेको छ । अनेरास्ववियुले विवाद मिलाउने नाममा सुनियोजित रुपमा राजनीतिक प्रतिशोध साँध्दैं आक्रमणमा उत्रिएको थियो । अनेरास्ववियुका कार्यकर्ताबाट कुटिएका उपप्राध्यापक डा. शर्मा नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ पिएन क्याम्पसका ईकाई सभापति समेत हुन् ।
कुनै पनि विद्यार्थीलाई परेको मर्का र समस्याका विषयमा स्ववियुमा लिखित वा मौखिक जानकारी दिएपछि समस्या समाधानका लागि पहल गर्नुपर्ने नेताहरुले नै आफ्नो दलगत स्वार्थ पुरा गर्न खोज्दा जातिय विभेद र अपहेलनाको विषयमाथि नैं प्रश्न चिन्ह खडा भएको छ ।
स्ववियु सचिव विराट दुवाडी डा.देवीलाल शर्मालाई क्याम्पस प्रमुखको कार्यकक्षमा कुट्दै
विवादको जड:
पिएन क्याम्पसमा एमबिए तेस्रो वर्षमा अध्ययनरत अमन परियारले वैशाख २५ गतेदेखि २९ गतेसम्म भएको शैक्षिक भ्रमणका क्रममा उपप्राध्यापक डा.शर्माले जातीय विभेद गरेको आरोप लगाएका छन् । शौक्षिक भ्रमणमा गएका बेला सिन्धुलीमा बस बिग्रिएको समय उपप्राध्यापक शर्माले जातीय विभेदजन्य र अश्लिल शब्द प्रयोग गरेर गालीगलौज गरेको उनको भनाई थियो ।
शैक्षिक भ्रमणका क्रममा विद्यार्थी अमन परियारलाई उपप्राध्यापक डा. शर्माले अपमानजनक शब्द प्रयोग गरेको आरोप लागेपछि सोही विषयमा क्याम्पस प्रमुखको कार्यकक्षमा छलफल चलिरहेको थियो । छलफलका क्रममा उपप्राध्यापक डा.शर्मालाई स्ववियु सचिव विराट दुवाडी, स्ववियु सदस्य सुशिल अधिकारी, अनेरास्ववियुका बिक्रम क्षेत्री र विद्यार्थी अमृत विक लगायतको टोलीले कुटपिट गरेका थिए ।
क्याम्पस प्रमुखको कार्यकक्षमा पुगेका उपप्राध्यापक डा. देवीलाल शर्मालाई घटनाका विषयमा केही पनि जानकारी नगराईएको त्यहाँ उपस्थित एक प्राध्यापकले बताए । ती प्राध्यापकले भने–‘एमाले र काँग्रेसका केही मित्रहरु पनि डा.शर्मालाई विवादमा ल्याएर सिध्याउन चाहन्छन् । त्यसैले यहीं मौंकालाई हतियार बनाउन धेरै साथीहरु लागे ।’
जातिय विभेदको विषयमा केन्द्रित हुनुको साटो गुन्डागर्दी शैलीमा फरक विचार बोकेका उपप्राध्यापकमाथि गरिएको आक्रमणले विवाद सुल्झाउनुको साटो झन् बल्झाएको छ । उपप्राध्यापक डा. शर्माले गल्ति गरेको भए प्रक्रियामा गएर स्ववियुका जिम्मेवार नेताले कारवाही गराउन सक्थे । तर एकाएक कुटपिटमा उत्रिएपछि आफूहरु जोगिन र घटनालाई साम्य पार्न स्ववियु लगायतले जातीय विभेदको विषयलाई मात्र केन्द्रित गर्दै कुटपिटको घटनालाई लुकाएर विज्ञप्ति जारी गरेका थिए ।
क्याम्पस प्रमुखको कार्यकक्षमा पुगेका डा.शर्मालाई घटनाका विषयमा केही पनि जानकारी नगराईएको त्यहाँ उपस्थित एक प्राध्यापकले बताए । ती प्राध्यापकले भने–‘एमाले र काँग्रेसका केही मित्रहरु पनि डा.शर्मालाई विवादमा ल्याएर सिध्याउन चाहन्छन् । त्यसैले यहीं मौंकालाई हतियार बनाउन धेरै साथीहरु लागे । ‘
यस विषयमा प्रश्न गर्दा स्ववियुका सचिव दुवाडीले आफूले मिलाउन खोज्दा खोज्दैं माहोल चर्किएको, अलि अलि धकेलाधकेल सबै पक्षबाट भएको र बाहिर हात हालाहाल ग¥यो भनेर राजनीतिकरण गर्न खोजिएको आरोप लगाए ।
उपप्राध्यापक डा. शर्मामाथि आक्रमण गर्ने अर्का स्ववियु सदस्य सुशिल अधिकारीले भने–‘हामीले कुटपिट गरेका छैंनौं, त्यहीं नैं हो । धकेलाधुकुल भएको हो । हामी मिलाउन गएको हो ।’ त्यसैगरी, आक्रमणमा संलग्न अर्का विद्यार्थी अमृत विकले जेलमा जान परे पनि छाति थापेर जाने र समुदायका लागि आफू लडेको बताए ।
यस सम्बन्धमा थप जानकारी लिनका लागि उपप्राध्यापक डा.शर्मालाई सम्पर्क गर्न खोज्दा मोवाइल स्वीच अफ भएका कारण सम्पर्क हुन सकेन।