News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

पोखरा महानगरपालिकाका साविक लेखनाथका वडाध्यक्षहरु एकैं ठाँउमा, जग्गाको मूल्यांकन नबढ्ने !

'जग्गाहरुको वर्गीकरण र मूल्यांकन यथावत राख्ने सहमति'

मालपोत कार्यालय लेखनाथका कार्यालय प्रमुख नारायण ढकालले जनप्रतिनिधिहरुको चाहना अनुसार नै मूल्यांकन र वर्गिकरण गरिने भएकाले वर्षको एकचोटी पुन: मूल्यांकनका लागि छलफल गरिदैं आएको बताए ।

लेखनाथ, १८ असार । पोखरा महानगरपालिका वडा नं. २६ देखि ३३ का वडाध्यक्षहरुले यस क्षेत्रको जग्गाको मूल्यांकन नबढाउने सहमति गरेका छन् । वडा नं. २६ को कार्यालयमा सोमबार भेला भएका वडाध्यक्षहरुले मालपोत कार्यालय लेखनाथले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि प्रस्ताव गरेको जग्गाको मूल्यांकन यथावत राख्ने सहमति गरेका हुन् ।

मालपोत कार्यालय लेखनाथका प्रमुख नारायण ढकालले आर्थिक वर्ष २०८०/०८१ का लागि लेखनाथ क्षेत्रका जग्गाहरुको वर्गीकरण र मूल्यांकनका बिषयमा धारणा राखेपछि वडाध्यक्षहरुले जनतालाई मर्का पर्ने गरी मूल्यांकनमा संशोधन गर्न नहुने सुझाव दिएका थिए ।

यता पोखरा महानगरपालिकाको १३ औं नगरसभाले पनि सम्पत्ति तथा मालपोत कर प्रयोजनका लागि चालु आर्थिक बर्षको तुलनामा रोपनीमा ठाँउ हेरी केही बढाएर प्रस्ताव गरेको थियो । महानगरले मालपोतकै मूल्यांकनलाई सम्पत्तिकर र मालपोतकरका लागि आधार बनाउँदै आएको छ । लेखनाथ क्षेत्रका पोखरा महानगरका वडाध्यक्षहरुले जग्गाको मूल्यांकन नबढाउने सहमति गरेपछि महानगरलाई भने दवाव सिर्जना हुने भएको छ ।

मालपोत कार्यालय लेखनाथले जग्गाको मूल्यांकनको बिषयमा वडाध्यक्षहरुसँग छलफल गर्नेगरी संयोजन गरिदिन आग्रह गरेकाले वडा नं. २६ मा सबै वडाध्यक्षहरु भेला भएको अध्यक्ष नरेन्द्र थापाले बताए । वडाध्यक्ष थापाले बैठक मालपोतकै मूल्यांकनमा केन्द्रित रहेको उल्लेख गर्दै, चालु आर्थिक वर्षको विकास निर्माण लगायतका कामका बिषयमा पनि सामान्य छलफल र समिक्षा भएको बताए ।

अध्यक्ष थापाले भने-‘चालु आर्थिक बर्षको बिकास निर्माणमा वडाहरुले गरेका अभ्यास्, कामको गुणस्तर लगायतका बिषयमा अनुभव आदान प्रदान भयो ।’
यस्तै वाहनामा सबै अध्यक्षहरु जुट्दा कामको सिकाई, अनुभव र अभ्यास गर्दा राम्रै हुने रहेछ, वडा नं. ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदीले भने–‘लेखनाथ क्षेत्रको चिन्तन हुनु स्वभाविक हो ।’

मालपोत कार्यालय लेखनाथका कार्यालय प्रमुख नारायण ढकालले जनप्रतिनिधिहरुको चाहना अनुसार नै मूल्यांकन र वर्गिकरण गरिने भएकाले वर्षको एकचोटी पुन: मूल्यांकनका लागि छलफल गरिदैं आएको बताए ।

छलफलमा वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापा, वडा नंं २७ का पूर्णकुमार गुरुङ, वडा नं. २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ, वडा नं. ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडा नं. ३१ का अध्यक्ष ढकनाथ कँडेल, वडा नं. ३२ का अध्यक्ष अक्कलबहादुर कार्की र वडा नं. ३३ का अध्यक्ष रामचन्द्र अधिकारीको सहभागिता रहेको थियो ।

बैठकमा वडा नं. २८ का वडाध्यक्ष भने अनुपस्थित भएका थिए । वडा नं. २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले आफु काम विशेषले वडामा व्यस्त हुनु परेकाले भेलामा सहभागी हुन नसकेको उल्लेख गर्दै, जनतालाई मर्का नपर्ने गरी जग्गाको मूल्यांकन टुंग्याउन आग्रह गरेको बताए । भेलामा वडा नं. २६ का वडा सदस्य तीर्थबहादुर रानाभाट र मालपोतका कर्मचारी विष्णुप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।