News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कुनैबेला खान मिल्थ्यो फेवातालको पानी, अहिले यति विघ्न फोहोर !

'फेवातालमा ढल मिसाउने योजना पोखराका तत्कालीन मेयर कृष्ण थापाको नेतृत्वमा भएको थियो'

फेवाताल फोहोर बनाउन पोखरा महानगरले २०५४ सालपछि बनाएको योजना मुख्यरूपमा जिम्मेवार छ। त्यतिबेला पोखराको ढल फेवातालमा विर्सजन गर्ने गरी ढल व्यवस्थापनको गुरुयोजना बनाइयो। यसपछि लेकसाइडको मात्र होइन, पोखराका अन्य ठाउँको ढल पनि फेवातालमा मिसाइयो। फेवातालमा ढल मिसाउने योजना पोखराका तत्कालीन मेयर कृष्ण थापाको नेतृत्वमा भएको थियो। उनी यसपालि पनि पोखरा महानगरको मेयर पदका उम्मेदवार छन् ।

युवराज श्रेष्ठ, १५ पोखरा । लेकसाइडको गौरीघाट सडकछेउमै एउटा सानो पानीट्यांकी छ। ट्यांकीमा पानी भर्न उपभोक्ताहरूको भिड लाग्छ। निकै टाढाबाट पनि गाग्री र जार बोकेर गौरीघाटमा पानी भर्न जानेहरू भेटिन्छन्।

उनीहरू खानेपानीको अभाव भएर गौरीघाट पुगेका होइनन्। पानीको स्वादले तानेको हो।

गौरीघाटपारि फेवातालमा मिसिने मेवाखोला झरना छ। त्यही झरनाको पानी पाइपबाट ल्याएर गौरीघाटको धारामा झारिएको छ।

स्थानीयबासिन्दा विष्णुहरि अधिकारीका अनुसार मेवाखोलाको पानी यति मिठो छ कि स्वाद बसेपछि अर्को पानीले तिर्खा मेटाउँदैन। गौरीघाटमै जन्मेका ५६ वर्षीय अधिकारी फेवातालको पानी खाएर हुर्केका हुन्। फेवातालको पानीको तिर्खा मेट्न अहिले पनि मेवाखोलाको पानी पिउँछन्।

फेवातालको अवस्था खराब हुँदै गएकोमा अधिकारीलाई खिन्नता छ। भन्छन्, ‘फेवाताल कस्तो थियो, हेर्दाहेर्दै अहिले कस्तो भयो१’

किशोरावस्थामा अधिकारी पौडिएरै फेवाताल वारपार गर्थे रे। रानीवनमा ऐँसेलु र तिँजु खाएर फर्किन्थे रे। तिर्खा लाग्दा फेवातालको पानी हातले उबाएर पिउँथे रे। उनका अनुसार तीन दशक अघिसम्म फेवाताल स्वच्छ थियो। फेवातालको पानी यति सङ्लो थियो कि तालको पिँध प्रष्ट देखिन्थ्यो, पानीभित्र खेलिरहेका माछा देखिन्थे।

उनलाई तालको पिँधका माछा तीनकाँडे राखेर मारेको अहिले पनि सम्झना छ। उनले स्मरण सुनाए, ‘तीनवटा अंकुसे तीनतिर फर्काएर माछा हिँडेका डोबमा राख्यौँ र माथ्र्यौं।’

अधिकारीका अनुसार फेवातालको पानी लिन बगरदेखिका मानिस गाग्री बोकेर आउथेँ। बगरबाट हिँडेर आउन एक घण्टा लाग्थ्यो। पोखरेलीहरू २०५२ सालसम्म फेवातालको पानी पिउँदै थिए। पोखरामा खानेपानी योजना आउनुअघि फेवातालमा पानी भर्न जानेको ताँती लाग्ने गरेको उनलाई सम्झना छ।

कुनै बेला पोखरेलीको मुख्य खानेपानी स्रोत फेवाताल अहिले दयनीय अवस्थामा छ। फेवातालमा दिनभर डुंगा सयर गर्नेलाई अहिले आँखामा संक्रमण हुँदो रहेछ। यस्तो समस्या ११ वर्षअघि फेवाताल घुम्दा अधिवक्ता खगेन्द्र सुवेदीले भोगेका रहेछन्।

काठमाडौंका कानून व्यवसायी सुवेदी २०६८ असारमा पोखरा आएका थिए। उनले फेवातालमा डुङ्गा सयर गरे। ताल बाराही घुमेर फर्के। काठमाडौं पुगेपछि उनका आँखा राता भए। अस्पतालमा डाक्टरले फोहोर पानीका कारणले आँखामा संक्रमण भएको बताए। फेवातालको पानी आँखामा संक्रमण गराउने गरी फोहोर भएको उनले अनुमान गरे।

सुवेदीको आँखाको उपचार त भयो तर उनको मन शान्त भएन। उनले फेवातालमा प्रदूषणको अध्ययन गर्ने विचार गरे।

सुवेदी पटकपटक पोखरा आए। फेवातालको अतिक्रमण र प्रदूषणको अध्ययन गरे। तालवरिपरि घुम्दै गर्दा उनले कोरियाली दम्पतीले फेवातालको फोहोर पानी अँजुलीमा उठाएको देखे। सुवेदीले त्यसरी पानी उठाउनुको उद्देश्य सोधे। उनीहरू पानीको फोहोर नियाल्दा रहेछन्।

जवाफमा एक जनाले भने, ‘फेवाताल तिमीहरूको मात्र होइन, संसारकै सम्पत्ति हो, यो फोहोर हुन दिनु हुँदैन।’

सुवेदीले फेरि केही जिज्ञासा राखे तर उनीहरू संवाद गर्न इच्छुक देखिएनन्। कुरा टुंग्याउँदै भनेछन्, ‘हामी हाम्रो काम गर्छौं तिमी तिम्रो काम गर।’
सुवेदीलाई आफ्नो मर्ममै प्रहार भएजस्तो भयो। सेतोपाटीसँग उनले भने, ‘उनीहरूको जवाफले मेरो मुटुमै प्रहार भयो, अहिले पनि त्यो आवाज अन्तर्मनमा सुन्छु।’

हेर्नै नहुने गरी कसरी प्रदूषित भयो त फेवाताल ?

फेवाताल फोहोर बनाउन पोखरा महानगरले २०५४ सालपछि बनाएको योजना मुख्यरूपमा जिम्मेवार छ। त्यतिबेला पोखराको ढल फेवातालमा विर्सजन गर्ने गरी ढल व्यवस्थापनको गुरुयोजना बनाइयो। यसपछि लेकसाइडको मात्र होइन, पोखराका अन्य ठाउँको ढल पनि फेवातालमा मिसाइयो।

फेवातालमा ढल मिसाउने योजना पोखराका तत्कालीन मेयर कृष्ण थापाको नेतृत्वमा भएको थियो। उनी यसपालि पनि पोखरा महानगरको मेयर पदका उम्मेदवार छन्।

फेवातालको पानी फोहोर हुनुको अर्को कारण हो, अतिक्रमण। फेवाताल वपरिपरि प्रशस्त होटल, रेस्टुराँ लगायत व्यावसायिक संरचनाहरू छन्। पामेसाइडका होटल, रेस्टुराँ त अहिले तालको पानीसँगै जोडिएका छन्। पानीमा जोडेर संरचना बनाउने काम चलिरहेकै छ।

यी होटल र रेस्टुराँको फोहोर सिधै फेवातालमा जान्छ। होटल र रेस्टुराँ शौचालय रसाएर फेवातालमा पुग्ने गरेको विभिन्न अध्यनहरूले देखाएका छन्।

‘ढल व्यवस्थापन आयोजना, पोखरा’ ले २०७५ चैतमा फेवातालको पानीको गुणस्तर परीक्षण गरेको थियो। परीक्षणमा पानीमा दिसाको मात्रा अत्यधिक भेटिएको थियो। फेवातालको पानीमा पूर्ण कोलिफर्म र इकोलीको मात्रा भेटिएको अध्यन प्रतिवेदनमा उल्लेख छ।

तालको पानी मानिस र अन्य जीवका लागि मात्रै होइन, माछाका लागि पनि हानिकारक देखिएको छ। त्यतिबेला ‘एसियन कप ट्रायथोलन’ र ‘साउथ एसियन च्याम्पियनसीप ट्रायथोलन’ फेवातालमा खेलाउन पानी परीक्षण गरिएको थियो।

यसअघि जापानी सहयोग नियोग जाइकाले पनि फेवातालको पानी खान योग्य नरहेको निष्कर्षसहितको रिपोर्ट नेपाल सरकारलाई बुझाएको थियो। उक्त रिपोर्टमा लेकसाइड क्षेत्रका होटलहरूको सेप्टिक ट्यांकीबाट दिसा र पिसाब रसाएर फेवातालमा पुगेको उल्लेख उल्लेख गरिएको छ।

फिर्के खोलासहितका खोलानालाको अतिक्रमण पनि फेवाताल प्रदूषणको अर्को कारण हो। पोखराको मुख्य शहरी क्षेत्रको बीचबाट बग्ने फिर्केखोला अतिक्रमणले ढलभन्दा साँघुरो भएको छ। अतिक्रमण गरेर बसेकाहरू सबै घरायसी फोहर खोलामै फाल्छन्। त्यो बगेर सिधै फेवातालमा पुग्छ।

झरी पर्दा बगेको पोखाराको फोहोर भेल पनि फेवातालमै पुग्छ। यस्तो फोहोर भलपानी रोक्न सक्नुपर्ने अधिकारीको भनाइ छ।

‘फेवाताल सफा गर्न सबैभन्दा पहिला त ढल मिसिन दिनु हुँदैन, त्यसपछि फिर्केखोला सफा हुनुपर्छ,’ उनी भन्छन्, ‘फेवाताल किन फोहोर भयो भन्ने सबैलाई थाहा छ तर सफा गर्न कसैले चासो दिँदैन।’

वातावरणविद् राजु आचार्यका अनुसार सिमसार भनेको प्राकृतिकरूपमै पानी शुद्धीकरण गर्ने ठाउँ हो।

‘सिमसारमा घाँस हुन्छ, दलदल र पानी हुन्छ,’ उनी भन्छन्, ‘सिमसारको पानी प्रकृतिले नै शुद्ध बनाउँछ, फेवाताल मान्छेले दूषित बनाए।’

ढल र खोलानालाको बाटो भएर सहरको फोहोर मिसाउँदा फेवाताल ‘डम्पिङ साइट’ मा परिणत भएको आचार्यको भनाइ छ। ताल सफा राख्न ढल व्यवस्थापन गर्नु पर्ने, तालको र फिर्के खोलाको अतिक्रमण हटाएर शुद्धीकरण अभियान थाल्नु पर्ने उनको सुझाव छ।

फेवाताल सिमसारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि रामसार सूचीमा सूचीकृत छ। यहाँको प्रदूषण हटाउन अहिलेसम्म सरकारी योजना छैन। सिमसार क्षेत्र संघीय सरकार मातहत रहे पनि अहिलेसम्म केही काम गर्न नसकेको संरक्षणविद्हरूको भनाइ छ।

अधिवक्ता सुवेदीले समग्र फेवाताल संरक्षणको माग राख्दै २०६८ असार २३ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसअघि फेवातालमा ढल मिसाएर प्रदूषण गरेको भन्दै २०६७ माघ ९ मा अर्का अधिवक्ता विश्व घिमिरेले पनि सर्वोेच्चमा रिट दिएका थिए।

यी दुबै रिटसहित फेवाताल संरक्षणका सम्बन्धमा परेका आठ वटा रिट निवेदन उपर २०७४ वैशाख १६ गते एतिहासिक फैसला आयो। अदालतले फैसलामा तीन वटै तहका सरकारलाई समयसिमासहित ताल संरक्षणका काम बाँडफाँड गरिदियो।

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त इजलासले ६ महिनाभित्र अतिक्रमण हटाउन परमादेश जारी गरेको थियो। फैसलामा तालको मिचिएको एक हजार ६९२ रोपनी जग्गा दर्ता खारेज गर्न, तालमा ढल मिसिन नदिन र पानी शुद्ध राख्न पनि आदेश थियो। सर्वोच्चको आदेश आएको पाँच वर्ष भयो तर संरक्षणका लागि केही भएन, उल्टै अतिक्रमण र प्रदूषण बढेको छ।

फेवाताल संरक्षणका पक्षमा बहसपैरवी गर्दै आएका पोखराका अधिवक्ता भगवती पहारी तीन वटै तहका सरकारले सर्वोच्चको आदेश अवमूल्यन गरेको आरोप लगाउँछिन्।

‘सर्वोच्चको परमादेशले समय तोकेर कुन सरकारले के काम गर्ने भनेर जिम्मेवारी पनि बाँडफाँड गरिदिएको छ,’ उनले भनिन्, ‘फेवाताल बचाउन आएको फैसला सरकारले कार्यान्वयन गरेन।’

अदालतको आदेश पालनाको साटो फेवाताल अतिक्रमणलाई वैधता दिने गरी पोखरा महानगरले तालको किनाराको मापदण्ड घटाएको पहारीको आरोप छ। तालको किनारा ६५ मिटर हुनुपर्नेमा ३० मिटर भए हुने निर्णय गरिएको छ।

आदेश पालना नगरेकोमा प्रधानमन्त्री, गण्डकी प्रदेशका मुख्यमन्त्री र पोखराका मेयरविरुद्ध अवहेलनाको मुद्दा छ।

अवहेलनासम्बन्धी मुद्दा परेपछि फेवातालको मुहान हर्पन खोलामा एक वर्ष पनि नटिक्ने सिल्टेसन ड्याम बनाएको पनि उनको आरोप छ। सरकारले गठन गरेको फेवाताल संरक्षण सम्बन्धी समितिले पनि सिमसारको महत्वमा ध्यान नदिई योजना बनाएर सरकारलाई बुझाएको उनको भनाइ छ। -सेतोपाटी

प्रतिक्रिया