News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय प्रमुख समाचार राजनीति

राष्ट्रपति जेलेन्स्कीद्वारा देश छाड्न अस्वीकार

एजेन्सी, १५ फागुन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले देश छाडेर सुरक्षित स्थानमा जान अमेरिकाले गरेको प्रस्ताव अस्वीकार गरेका छन् । ‘लडाइँ युक्रेनमा भइरहेको छ । हामीलाई हतियार चाहिएको छ । कुनै उद्धार होइन,’ अमेरिकी प्रस्ताव अस्वीकार गरेका जेलेन्स्कीले भनेका छन् ।

किभका सडकमा देखा परेका उनले ‘आफ्नो देशको प्रतिरक्षा गर्ने’ बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले आफैंले खिचेको भिडियो सार्वजनिक गर्दै रुससँग आत्मसमर्पण गर्न सेनालाई आह्वान गरेको समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।

भिडियोमा उनी आफ्ना सहयोगीसँग किभमा देखिन्छन् । ‘हामी सबै जना किभमै छौं,’ उनले भनेका छन् । ‘मैले सेनालाई हतियार बिसाउन भनेको मिथ्या सूचनाहरू सार्वजनिक भइरहेका छन्,’ उनले भने, ‘किभमै छु । हामी हाम्रो देशको प्रतिरक्षा गर्छौं ।’ जेलेन्स्कीले रुसी आक्रमणविरुद्ध जनाएको प्रतिक्रियाका कारण उनको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । जेलेन्स्कीले रुसविरुद्ध निरन्तर लडिरहने प्रतिबद्धता जनाएका बीबीसीले उल्लेख गरेको छ । ‘हामी तिमीहरूको आक्रमणको सामना गर्छौं,’ उनले भनेका छन्, ‘हामी भाग्दैनौं ।’

जेलेन्स्कीले आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सेनाले असफल बनाइदिएको बताए । ‘हामीले रुसी योजना असफल पारेका छौं,’ जेलेन्स्कीले भने । किभ र वरपरका सहरहरू युक्रेनी सेनाको नियन्त्रणमै रहेको उनको दाबी छ । युरोपेली संघमा आबद्ध हुने अधिकार आफ्नो देशसँग रहेको जेलेन्स्कीको भनाइ छ । युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण देश छाड्नेको संख्या बढ्दै गएको छ । १ लाख १५ हजार युक्रेनी नागरिक छिमेकी देश पोल्यान्ड पुगेका छन् । तीमध्ये १५ हजार पछिल्लो २४ घण्टामा पोल्यान्ड पुगेका हुन् । पोल्यान्डका गृहमन्त्रीका अनुसार पछिल्लो समय रुसले युक्रेनको राजधानी किभमा आक्रमण तीव्र पारेपछि पोल्यान्ड प्रवेश गर्नेहरूको संख्या बढेको हो ।