News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

काठमाडौंमा आज कांग्रेसको नगर अधिवेशन हुँदै, महानगरमा को-को गर्दैछन प्रस्तिस्पर्धा ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार काठमाडौंमा नगरअधिवेशन हुँदैछ । एक महानगर र १० नगरपालिका रहेको काठमाडौंमा आज अधिवेशन हुने भएको हो ।

दक्षिणकाली नगरपालिकाबाहेक सबै नगरमा अधिवेशन हुने कांग्रेसले जनाएको छ । दक्षिणकाली नगरपालिकाको एक वडामा अधिवेशन नभएकाले त्यहाँ अर्काे मितिमा नगरअधिवेशन हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

संघीय राजधानी समेत रहेको काठमाडौंका अधिकांश पालिकामा मतदानबाटै नेतृत्व चयन हुने देखिन्छ । पार्टीको केन्द्रमा प्रष्ट तीन गुट देखिएपनि काठमाडौंमा भने दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

काठमाडौंको संस्थापन भनेर पूर्वमहामन्त्री प्रकाशमान सिंहको समूहलाई चिनिन्छ । अघिल्ला महाधिवेशनमा उनलाई भीमसेनदास प्रधान र गगन थापाहरुको समूहले चुनौती दिने गरेको थियो । तर यो पटक काठमाडौंमा कांग्रेसको आन्तरिक समीकरण बदलिएको छ ।

प्रधान सभापति शेरबहादुर देउवा समूहसँग नजिक छन् भने थापा, प्रकाशमानतिर । काठमाडौंका कतिपय नगरको सभापतिका लागि प्रकाशमान समूहकै नेताहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

१५ वर्षपछि काठमाडौं महानगरपालिकामा कांग्रेसको अधिवेशन हुन लागेको हो । विवादका कारण काठमाडौं महानगरपालिकामा १२औं र १३औं अधिवशेन भएका थिएनन् । डेढ दशकपछि कांग्रेस काठमाडौं महानगर कमिटीले नयाँ नेतृत्व पाउन लागेको हो । महानगरको अधिवेशन कांग्रेसभित्र प्रतिष्ठाको विषय बनेको छ ।

काठमाडौंमा नीलकाजीलाई प्रगतिमानको चुनौती

देशकै सबैभन्दा ठूलो महानगरपालिकाको नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौं महानगरको नेतृत्वका लागि १५ वर्षपछि हुन लागेको निर्वाचनमा संस्थापन समूहबाट युवा नेता प्रगतिमान रञ्जितले प्रतिस्पर्धामा छन् ।

उनी नेपाल तरुण दल, काठमाडौंका संस्थापक अध्यक्ष हुन् । उनलाई सिटौला समूहका नेता प्रधानको समर्थन छ । महानगर सभापतिमा अर्का प्रत्यासी कांग्रेसका पुराना नेता नीलकाजी शाक्य छन् । काठमाडौं महानगरपालिका-२५ का वडाध्यक्ष शाक्य पूर्वमहामन्त्री सिंहका उम्मेदवार हुन् ।

बुढानीलकण्ठमा तीन उम्मेदवार

गगन थापाको निर्वाचन क्षेत्र हो, बुढानीलकण्ठ नगरपालिका । यो नगरको ५ वटा वडा प्रतिनिधिभा निर्वाचन क्षेत्र–५ मा पर्छन् । नगर सभापतिका लागि तीन आकांक्षी छन्, राजाराम बुढाथोकी, राजन बुढाथोकी र राजुविक्रम थापा ।

राजाराम साविकको कपन गाउँ विकास समितिका सभापति हुन् । उनी सिंह–थापा समूहका नेता हुन् । अर्का उम्मेदवार राजन बुढाथोकी नगर सचिव हुन् । उनी पेशाले अधिवक्ता हुन् । राजुविक्रम थापा नेपाल तरुण दलका नगर सभापति हुन् । राजन र राजविक्रम दुवै संस्थापन समूह निकट हुन् ।

दक्षिणकालीमा मोहन बस्नेतकै सम्भावना

दक्षिणकाली नगरपालिकामा भने सहमतिबाटै नेतृत्व चयन हुने सम्भावना रहेको नेताहरु बताउँछन् । नगर सभापतिमा मेयर मोहन बस्नेतको मात्रै दाबी देखिएको छ । उनी प्रकाशमान सिंह निकट हुन् । संस्थापन समूहले श्याम कार्कीलाई उम्मेदवार बनाउन खोजेपनि उनले बस्नेतलाई समर्थन गरेका छन् ।

यद्यपि वडा नम्बर २ को अधिवेशन हुन लागेकाले भोलि नै नगर अधिवेशन हुने सम्भावना कम देखिएको छ । नेतृत्वमा सहमति नजुट्दा नगरको वडा नम्बर २ मा अधिवेशन हुन सकेको छैन ।