काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ । केन्द्रीय समितिको बुधबार बसेको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिए । त्यसो त महासंघको संशोधित विधान अनुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।
चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासंघका केन्द्रीय सदस्य जैसीले जानकारी दिए । पत्रकार कपिल काफ्लेको संयोजकत्वमा निर्वाचत समिति गठन गरिएको छ । निर्वाचन समितिका सदस्यहरुमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहेका छन् ।