News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

बाहिनी अड्डामा राष्ट्रपिता पृथ्वीनारायण शाहको शालिक अनावरण

नेपाली सेना सदैव असल र इमानदार हुनुपर्नेमा सहायक रथी थापाको जोड

शाहको पूर्णकदको शालिक : तनहुँको खैरेनीटारस्थित ७नतसी नम्बर ३ बाहिनी अडडामा निर्माण गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा पुष्प अर्पण गरिँदै । तस्बिर :कृष्ण न्यौपाने

दमौली । नेपाली सेनाको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ । नेपाली सेनाका संस्थापक एवं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा बाहिनीभित्र निर्माण गरिएको शालिकको शनिबार अनावरण गरिएको हो ।

बाहिनीपति सहायक रथी सागरबहादुर थापाले शालिकको अनावरण गर्दै राष्ट्रपिताको शालिक अनावरण गर्न पाउँदा गौरवान्वित र हर्षित भएको बताउनुभयो । नेपाली सेना सदैव असल र इमानदार हुनुपर्नेमा सहायक रथी थापाको जोड थियो ।

“आधुनिक नेपालको पहिलो सेना प्रमुखको रूपमा पृथ्वीनारायणलाई सेनाले अङ्गिकार गरेको छ”, थापाले भन्नुभयो, “उहाँकै सम्मानमा शालिक निर्माण गरेर अनावरण गर्न पाउँदा गौरवको महसुस भएको छ ।” यस परिकल्पनाकारलाई मूर्तरूप दिन तन, मन, वचन र कर्मले हरेक कार्यमा सहयोग गर्ने सबैलाई सहायक रथी थापाले धन्यवाद ज्ञापन गर्नुभयो ।

निर्माण सम्पन्न भएको शालिकले बाहिनीको सौन्दर्य बढाउन सहयोग पुगेको थापाले बताउनुभयो । विभिन्न ब्यारेकमा पृथ्वीनारायण शाहको शालिक निर्माणले तीव्रता पाएकोसमेत थापाले सो अवसरमा जानकारी दिनुभयो ।

पृथ्वीनारायणको पूर्णकदको शालिक निर्माणका लागि रु दुई लाख १४ हजार ९७१ खर्च भएको सहायक बाहिनीपति महासेनानी उत्तम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार शालिक निर्माणमा श्री नम्बर ३ बाहिनी अड्डाले रु ५३ हजार ७४३, श्रीजङ्ग गणले रु ४२ हजार ९७४, रणसिं दल गणले रु ४२ हजार ९९४ र भगवती दल गणले रु ३२ हजार २४६, दुर्गाभञ्जन गुल्मले रु २१ हजार ४९७, रणदल गुल्मले रु २१ हजार ४९७ लागत सहभागिता व्यहोरेका छन् । सेनाकै तीन कालिगडले उक्त शालिक निर्माण गरेका हुन् । सो अवसरमा सहायक रथी थापाले शालिक निर्माण गर्ने कालिगडलाई प्रशंसापत्रले सम्मान गर्नुभएको थियो ।