News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ

पोखरा, ७ कार्तिक । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषधको कारोबार हुने गरेको फेला परेको छ। पोखरा महानगरपालिका-२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार बुधबार लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उक्त औषधि पसलमा छापा मारेको थियो।

जाँचका क्रममा सञ्चालिका ढुङ्गानाको साथबाट विभिन्न चार प्रकारका प्रतिबन्धित लागुऔषध बरामद भएका छन्। प्रहरीका अनुसार कोडिप-पी (कोडिन) छ हजार चार सय चक्की, प्रेगाबालिन चार सय पचास चक्की, लोराजेपाम एक सय पचास चक्की र क्लोर्डियाजेपोक्साइड एक सय साठी चक्की बरामद गरिएको छ। औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध फेला परेपछि अवैध कारोबार पुष्टि भएको प्रहरीले जनाएको छ।

डिएसपी पासवानले भने, ‘लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मारेका थियौँ। सोही क्रममा ठूलो परिमाणको लागुऔषध फेला पर्यो। औषधि बिक्री तथा वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै लागुऔषधजन्य औषधि ठूलो परिमाणमा बरामद हुनुले औषधिको बिक्री, वितरण र प्रयोगको नियमन तथा अनुगमन प्रभावकारी हुनुपर्ने आवश्यकतालाई उजागर गरेको छ।’

पक्राउ परेकी सञ्चालिका माथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। पोखरामा यसअघि पनि विभिन्न समयमा फार्मेसीबाटै लागुऔषधको कारोबार हुने गरेको फेला परेको थियो। प्रहरीले त्यस्ता औषधि पसलका सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउँदै आएको छ।