News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा

पोखरा, १३ भदौ । हालैको प्राकृतिक विपद्बाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि बीएण्डबी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । सामाजिक अभियन्ता एवम् चर्चित व्यवसायी विमल बसेल र उहाँकी धर्मपत्नी विमला बसेलद्वारा सञ्चालित बीएण्डबी ग्रुप अन्तर्गतको ‘बीएण्डबी लेक भ्यू अपार्टमेन्ट’ले उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुगेको छ । विपद्को यस कठिन घड़ीमा प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले स्थापना गरेको कोषमा सहयोग पुर्‍याउन यो घोषणा गरिएको ग्रुपले जनाएको छ।

देशले गम्भीर परिस्थितिको सामना गरिरहेका बेला आवश्यकतामा रहेका नागरिकहरूको पक्षमा उभिनु प्रत्येक जिम्मेवार संस्थाको दायित्व भएको विमल बसेलले बताए। संकटको यस समयमा गरिने सानोभन्दा सानो सहयोगले पनि ठूलो अर्थ राख्ने उल्लेख गर्दै उनले विपद्पछिको पुनर्निर्माणमा सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘नेपालका लागि, नेपाली जनताका लागि’ भन्ने मुख्य ध्येय आत्मसात् गर्दै आएको बीएण्डबी ग्रुपले जुनसुकै संकटपूर्ण परिस्थितिमा पनि सदैव नेपाली जनताको साथमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ ।

यस प्रकारको व्यावसायिक सामाजिक उत्तरदायित्वले राष्ट्रिय संकटका बेला पीडितहरूलाई राहत पुर्याउन र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।