News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पर्यटन समाचार

ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै

सिकार गतिविधिबाट चार करोड १७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन

बागलुङ, ५ भदौ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै गएको छ। गत आर्थिक वर्षमा यहाँ भएका सिकार गतिविधिबाट राज्यले चार करोड १७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार ढोरपाटनमा वर्षको दुई चरणमा सिकार हुने गर्छ। सोही अनुसार पहिलो चरणमा तीन करोड तीन लाख पाँच हजार र दोस्रो चरणमा एक करोड ४३ लाख ७४ हजार रुपैयाँ राजस्व दाखिला भएको छ। गत वर्षभरिमा आरक्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको तथ्यांक छ।

आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार असोजदेखि मंसिरसम्म सञ्चालित पहिलो सिकार याममा ११ नाउर र आठ झारलको अनुमति दिइएकोमा आठ नाउर र पाँच झारलको सिकार भयो भने फागुनदेखि वैशाखसम्मको दोस्रो याममा १४ नाउर र १० झारलको अनुमतिमा १३ नाउर र ६ झारलको सिकार गरिएको थियो। गोलीगट्ठामा देखिएको प्राविधिक समस्या, मौसममा आएको परिवर्तन, सिकारी बिरामी पर्ने र निसाना चुक्ने जस्ता कारणले अनुमति लिएका केही वन्यजन्तु भने जोगिन पुगेको आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।

कानूनी रूपमा सिकार गर्न पाइने यस आरक्षमा अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिकोलगायत देशका नागरिकहरू प्रतिस्पर्धामार्फत महँगो शुल्क तिरेर आउने गर्छन्। हालसम्म नाउर र झारलको सिकारका लागि नेपाली सिकारीहरूले प्रतिस्पर्धा नगरेको कार्यालयले जनाएको छ। विभागले वन्यजन्तुको संख्याका आधारमा हरेक वर्ष कोटा निर्धारण गर्ने गरेको छ भने आरक्षलाई सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह गरी सातवटा ब्लकमा विभाजन गरिएको छ।

विदेशी सिकारीहरू व्यावसायिक कम्पनीमार्फत हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन्। १५ दिनको सिकार अवधिमा एक सिकारीले हेलिकप्टर, बन्दोबस्त र अन्य खर्च गरी २० लाखदेखि ३५ लाख रुपैयाँसम्म खर्चिने गरेका छन्। सुरक्षाका लागि नेपाली सेना र आरक्षको टोली पनि १५ दिनसम्म जङ्गलमै खटिने गर्छ।

बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो आरक्ष वि.सं. २०३९ मा स्थापना भएको हो। विद्युतीय बोलपत्रमार्फत सिकार कोटा निर्धारण हुने यस आरक्षले स्थानीय पर्यटन र राष्ट्रिय अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ।