News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

धम्पुस घोताने चेलीबेटी समूहमा मायाकुमारी गुरुङको सशक्त नेतृत्व

पोखरा, ४ साउन । धम्पुस घोताने चेलीबेटी समूहको हालै सम्पन्न सम्मेलनले मायाकुमारी गुरुङलाई आगामी तीन वर्षका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। यो सम्मेलनले नेतृत्वको नयाँ अध्यायसँगैं गुरुङ जातिको चालचलन, संस्कृति, र सामाजिक एकताको संरक्षणमा नयाँ जोश र जाँगर थपेको छ ।

सम्मेलनले मायाकुमारी गुरुङको नेतृत्वमा एक सशक्त कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा तिलकुमारी गुरुङ, सचिवमा जगन गुरुङ, कोषाध्यक्षमा लालकुमारी गुरुङ, सहसचिवमा दुर्गाकुमारी गुरुङ, र सहकोषाध्यक्षमा मनदेवी गुरुङ चयन भएका छन्। यस्तै, समितिका सदस्यहरूमा विनु गुरुङ, रुद्रकुमारी गुरुङ, सिर्जना गुरुङ, शान्ति गुरुङ, बसन्त गुरुङ, कृता गुरुङ, ममता गुरुङ, र राधा गुरुङ रहेका छन्। निवर्तमान अध्यक्ष शान्ति गुरुङ र रसदेवी गुरुङलाई सल्लाहकारको रूपमा मनोनित गरिएको छ।

यो नयाँ नेतृत्वले धम्पुस पोखरी, घलेल, लान्द्रुक, कुदवीडाँडा, बरालडाँडा, घाचोक, र लाहाचोकजस्ता सात गाउँका १२० भन्दा बढी चेलीबेटीहरूलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक, र परोपकारी कार्यमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नवनिर्वाचित अध्यक्ष मायाकुमारी गुरुङले आफ्ना स्वर्गीय पति आलेबहादुर गुरुङको सम्झनामा ५० हजार, छोरीहरू ज्योति गुरुङ र उन्नति गुरुङबाट ५०–५० हजार गरी कुल १ लाख ५० हजार बराबरको १२० वटा साडी समूहका चेलीबेटीहरूलाई वितरण गरिन्। यो सहयोगले उनको सामाजिक कार्यप्रतिको समर्पण र चेलीबेटीहरूको सशक्तिकरणप्रतिको प्रतिबद्धतालाई प्रष्ट्याउँछ।

मायाकुमारीले आफ्नो कार्यकालमा समूहको कोषलाई १ करोड पु¥याउने महत्वाकांक्षी लक्ष्य राखेकी छन्। उनले गुरुङ जातिको संस्कृति, परम्परा, र चालचलनलाई जोगाउँदै सामाजिक विकृति र विसंगतिविरुद्ध एकजुट भएर लड्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनको यो दृढ संकल्पले समूहलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।

धम्पुस घोताने चेलीबेटी समूहले आफ्नो माइती गाउँ र थातथलो छोडेर पोखरामा बसोबास गर्ने चेलीबेटीहरूलाई एकताबद्ध गर्दै समाजसेवा र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ। सचिव जगन गुरुङका अनुसार, समूहले गुरुङ संस्कार, भाषा, भेषभूषा, र सांस्कृतिक नाच–गीतलाई जीवन्त राख्न चेलीबेटीहरूलाई प्रोत्साहन गर्दै आएको छ। विशेषगरी, आफन्तजनको सुख–दुखमा साथ दिने र शोक कार्यमा मलम पढ्ने परम्परालाई निरन्तरता दिँदै समूहले सामाजिक एकताको उदाहरण प्रस्तुत गरेको छ।

निवर्तमान अध्यक्ष शान्ति गुरुङले समूहको उपलब्धिहरूबारे जानकारी दिँदै गाइघाट गुम्बामा भवन निर्माण, बुद्ध अर्घौ सदनलाई १ लाख ५ हजार नगद सहयोग, साथै हेम्जा र घान्द्रुक गुम्बालाई भौतिक र आर्थिक सहयोग गरेको बताइन्। हाल समूहको कोषमा ४८ लाख रहेको र यो रकमलाई १ करोड पु¥याउने लक्ष्यले समूहको सामाजिक प्रभावलाई अझै विस्तार गर्ने अपेक्षा गरिएको छ।

धम्पुस घोताने चेलीबेटी समूहको यो सम्मेलनले महिला सशक्तिकरण, सामाजिक एकता, र सांस्कृतिक संरक्षणको सन्देशलाई जोडदार रूपमा प्रस्तुत गरेको छ। मायाकुमारी गुरुङको नेतृत्वमा समूहले गुरुङ समुदायको पहिचानलाई जोगाउँदै सामाजिक विकृतिविरुद्ध लड्ने र चेलीबेटीहरूको एकतालाई अझ बलियो बनाउने दिशामा अगाडि बढ्ने प्रष्ट छ। यो समूहको उत्साह, एकता, र लक्ष्यले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।