News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद समाचार

ईपीएल क्रिकेट- चौथो जितसँगै चितवन क्वालिफायरमा

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले लगातार चौथो जितसँगै क्वालिफायरमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ५ विकेटले पराजित गर्दै चितवनले लगातार चौंथो जित निकालेको हो ।

चितवनले ४ खेलमा ८ अंक जोडेको छ । चितवन र ललितपुरबीचको खेलको नतिजाले पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सले समेत प्ले अफमा स्थान बनाएका छन् ।

ललितपुरले दिएको १ सय ९ रनको लक्ष्य चितवन १७ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा मोहमद साहजादले ३५ रन बनाए । भिम सार्कीले २७ तथा दिलिप नाथले अविजित १६ रन बनाए । विरन्दिप सिंह १३ रनमा आउट भए ।

ललितपुरका अज्मातुल्लाह ओमार्जाई र रिजन ढकालले २-२ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो ।

ललितपुरका लागि जयकिशन कोल्सावालाले सर्वाधिक ४२ रन बनाए । सन्दुन विराकोड्डीले १४ रन जोडे । सुर्य तामाङ ११ रनमा अविजित रहदा ललित राजवंशीले अविजित ९ रन बनाए ।

ललितपुरलाई सस्तैमा समेट्न चितवनका कमल सिंह ऐरीले ३ विकेट लिए । करिम जनत र सागर ढकालले २-२ विकेट लिए । शाहब आलमको नाममा १ विकेट लिएका थिए ।