यतिबेला पत्रकारहरुलाई चैत २५ गते हुन गईरहेको चुनावको रन्कोले तताई रहेको छ । अहिलेको सन्दर्भमा पत्रकारहरु अधिकांश पार्टीका प्यादा भए भन्ने आवाज पनि मिडियामा नै उठिरहेका छन् । पत्रकारिता व्यवसायिक हुन नसक्दा दलगत स्वार्थ हावी हुने र पत्रकारिता बदनाम हुने स्थितिमा पुग्यो भनेर अग्रजहरु चिन्तित पनि देखिन्छन् । यस्ता विचारहरु पनि सञ्चार माध्यमहरुमा आईरहेका छन् । सरसर्ती हेर्दा यो चुनावमा दुई खालका पत्रकारहरु मैदानमा देखा परेका छन् । एउटा समाचार लेखेर जिविकोपार्जन गर्ने र अर्को पत्रकार नेता बनेर विचौंलिया र ठेक्कापट्टा गर्ने । अनेकन् स्वार्थ र चलखेलले गर्दा पत्रकारहरुको साझा संस्थामा असल नेतृत्व पुग्न जहिले पनि चूनौंती नै खडा हुने गरेको छ । दलको चाँकडी भजाउने तस्करहरुका मतियारहरु पत्रकारका नेता बन्न अनेकन् तिकडमहरु गरिरहेका छन् । पत्रकारहरु केबल आस्था र दलकै आधारमा यस्ता गलत पात्रहरुलाई बहिष्कार गर्न सकिरहेका छैनन् । चुनाव श्रमजीवी पत्रकारहरुका लागि भन्दा पनि यसलाई भजाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने, गलत धन्दा चलाउने र अनेकन् गलत कामहरु गर्ने व्यक्तिहरुलाई बढि लागेको छ । यसका लागि उनीहरुले लाखौं रुपैयाँ खर्चिन र दलका शीर्ष नेताहरुकोमा पहुँच पु¥याउन काठमाडौं वरपर नेताका दैलो दैलोमा घुमिरहेका छन् ।
अरुलाई खबरदारी गर्ने हामी पत्रकारहरु यस क्षेत्रमा देखिएको विकृतिका विषयमा न त बोल्न सक्छौं, न त लेख्न नै सक्छौं । पोखराको सन्दर्भमा भन्ने हो भने केही यस्ता गलत पात्रहरुले पत्रकारितालाई कब्जा गरेका छन्, जसको धन्दा विचौंलिया र ठेकेदारी नै हो । उनीहरु जे गरेर भएपनि महासंघको नेतृत्वमा रहन चाहन्छन् । त्यहाँ उनीहरु आफूलाई सुरक्षित ठान्छन् र धन्दा चलाउँदै आएका पनि छन् । अरु विषय भन्दा पनि कहिल्यै कलम नचलाउने, पत्रकारिताको आवरणमा वार्गेनिङ गर्ने, ठेक्कापट्टा लिने, गुन्डाहरुलाई संरक्षण प्रदान गर्ने, इमान्दार र असल राष्ट्र सेवक कर्मचारी वा नागरिक जसले यिनीहरुले भनेको मान्दैन उसलाई नै उल्टो भ्रष्टाचारी र दोषी बनाएर समाचारका माध्यमबाट अझ नडराए गुण्डा प्रयोग गरेर भएपनि तर्साउने गर्दै आईरहेका छन् । यसलाई हामीले समयमा नै रोक्नुपर्छ । यदि समयमा नै हामीले यस्ता प्रवृत्तिका पात्रलाई रोक्न सकेनौं भने विस्तारै यिनीहरुको पहुँच र उपस्थितिले इमान्दार र कर्मठ पात्रलाई मात्र
होइन तपाई हाम्रा भावी सन्तानहरुलाई पनि शिर उठाएर हिड्न नसक्ने वातावरण सिर्जना हुनेछ । अन्तमा यो अभिश्रापको शिकार सिङ्गो देश हुनेछ ।
यतिबेला सामाजिक सञ्जालहरुमा पेटी ठेकेदार, विचौंलिया र दलाल प्रवृत्तिका पात्रहरुलाई ठेगान लगाउँदै श्रमजीवी पत्रकारलाई रोज्नु पर्ने आवाजहरु उठिरहेका छन् । व्यक्तिगत स्वार्थमा बिक्नेहरु, चूनौंती सामना गर्न डराउनेहरु र आत्मस्वाभिमान बेचेर यस्ता गलत पात्रको पिछलग्गु भएर पेट पाल्नेहरु बाहेक सच्चा श्रमजीवी पत्रकारहरु अब मौंन बस्न हुँदैन । ठिक छ, नबोल्नुस्, नलेख्नुस् तर मतदान गर्दा एकपटक तपाईले भोगेका पिडा, पत्रकारहरुको अवस्था र तपाईको घर परिवारलाई सम्झिनुहोस् । एकपटक हिम्मत गरेर यस्ता पात्रका विरुद्धमा मतदान गर्नुहोस् । तपाईहरुले दिएको १ भोटले पत्रकारितामा देखिएको विकृतिको अन्त्य हुनेछ । हामी अरुको साना तिल जस्ता गल्तिलाई पहाड बनाएर लेख्छौं । तर तपाई हामीले ठुला सञ्चारगृहहरुले तलब नदिएर, विना कारण निकालेर सडकमा पुगेका श्रमजीवी पत्रकारको पीडा लेख्न सक्दैनौं । यसका विरुद्धमा बोल्न सक्दैनौं । सडकमा आन्दोलन गरिरहँदा समर्थन जनाउन सक्दैनौं । अब यसरी कहिलेसम्म यो वेथितिलाई चल्न दिने ? सञ्चारगृह चलाउनेहरुका अनेकन् धन्दा र कर्तुतका विषयमा नबोलेर तपाई हामी दासी कहिलेसम्म बन्ने ? अबको यूग सूचनाको युग हो । सबैभन्दा बलियो र सशक्त माध्यम नै सञ्चार हो । यसमा विचौंलिया, दलाल, ठेकेदार र भ्रष्टहरुको हालीमुहाली हुँदैछ । सोचौं त, एकपटक । कस्ता व्यक्तिहरुको लगानी छ मिडियामा । अनि मिडिया सञ्चालकहरु भनेका कस्ता कस्ता पात्रहरु हुन् ? उनीहरुको धन्दा के छ ? राज्यको शक्ति र स्रोतलाई दोहन गर्न सबैभन्दा बलियो हतियार मिडियालाई बनाएका छन् माफियाहरुले । तिनै माफियाका प्यादाहरु अहिले श्रमजीवी पत्रकारका नेता बन्न लालयित छन् । एउटै संस्थामा सँगैं काम गरेको श्रमजीवी पत्रकारको अवस्था तुलना गरौं त हामीले ? कति भिन्नता छ उनीहरु बिच ? यी सबै विषयहरु तपाई हामीले बुझेका छौं । देखेका छौं । भोगेका छौं । अब पनि कति सहने, कति भोग्ने र कति अबुझ भएर यस्ता गलत पात्रहरुलाई जिताई रहने । यसपटकको चुनावबाट देशव्यापी रुपमा नै हामीले एउटा सन्देश दिने जरुरी छ कि अब नेपाल पत्रकार महासंघको नेतृत्वमा विचौंलिया र ठेकेदार होइन श्रमजीवी पत्रकार नै आउँछन् र आउनुपर्छ ।