News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘नयाँ जनादेशमा जानुको विकल्प छैन’ : मन्त्री रायमाझी

'आफ्नै दलका सांसद र नेताले सरकार ढाल्ने कोशिश गरेपछि यो कदम अघि बढाउनु उपयुक्त थियो'

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भइरहेको अन्तरविरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानुको विकल्प नरहेको बताउनुभएको छ ।

ललितपुर क्षेत्र नं १ मा आज आयोजित भेलामा उहाँले राष्ट्र निर्माणका लागि नेकपाका दुवै पक्ष मिलेर अघि बढ्नु निकै उत्तम हुनेछ भन्नुभयो । “यो समय भनेको विकास र समृद्धि गर्ने बेला हो । हामी मिलेर पार्टी एकताको पहल गरौँ, प्रचण्ड–नेपाल समूहतर्फ इङ्गित गर्दै उहाँले भन्नुभयो, “अन्तरविरोधको हलतिर लागौँ । हामी तपाईँहरुलाई अझै साथ दिन तयार छौँ । यदि हाम्रो प्रस्ताव नमान्ने हो भने नयाँ जनादेशमा जानुबाहेक अन्य विकल्प छैन ।”

मन्त्री रायमाझीले राष्ट्रिय राजनीतिको आन्दोलनमा ठूलठूला योगदान गरेका नेताले देश विकासको योजना र कार्यक्रमभन्दा पनि पद र प्रतिष्ठा प्राप्तिमा मोह राख्नु हास्यास्पद भएको उल्लेख गर्दै दुई तिहाइ बहुमतको सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर सिध्याउन खोजेको देखेपछि यसबाट जोगिन संसद् विघटनको कदम चाल्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै दलका सांसद र नेताले सरकार ढाल्ने कोशिश गरेपछि यो कदम अघि बढाउनु उपयुक्त थियो ।”

नेकपाका केन्द्रीय सदस्य सुशीला नेपालले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ, चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ भन्नुभयो । अर्का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले पार्टीमा बढेको विवादका कारण सरकारले गरेका राम्रा काम ओझेलमा परेको उल्लेख गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य नवराज सिलवाल, सुरेन्द्रमोहन शर्मा,मधुसूदन पौडेललगायतले हाल मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको हुँदा पार्टीका सबै नेता तथा कार्यकर्तालाई गोलबन्द भएर अघि बढ्न आह्वान गर्नुभयो ।