News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

विप्लव समर्थित चारजना कार्यकर्ता र एक पत्रकार पक्राउ

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीका चारजना नेता तथा कार्यकर्ताहरु र एक पत्रकारसहित पाँचजनालाई हिजो साँझ जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ ।  प्रहरीले प्रतिबन्धित नेकपाको जनसभाको समाचार संकलन गरेर फर्कदैं गर्दा पत्रकार राजकुमार घिमिरेलाई पनि बिच बाटोबाट पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेहरुमा कुमार परियार, यमप्रसाद भट्टराई, काली पाण्डे र विशाल श्रेष्ठ रहेका छन् । सातौं पार्टी पुनर्गठन दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं. ३३ देउरालीस्थित सुकुम्वासीवस्तीमा नेकपा कास्कीले हिजो साँझ जनसभा कार्यक्रमको आयोजना गरेको थियो । सो जनसभा कार्यक्रमलाई कास्कीका सेक्रेटरी विश्वास लगायतका नेताले सम्बोधन गरेको नेकपा कास्कीले जानकारी दिएको छ ।

कार्यक्रम सकेर फर्किने क्रममा उकालो बाटोमा लुकेर बसेको कास्की प्रहरीले मोटरसाईकलमा आएका ती नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरे पनि जिल्लाका सेक्रेटरी लगायतका नेताहरु प्रहरी घेरा तोडेर भाग्न सफल भएको नेकपा कास्कीले बताएको छ ।

पछिल्लो समय देशव्यापी रुपमा नै प्रतिबन्धित नेकपाका कार्यकर्ताहरुलाई तीव्र रुपमा पक्राउ गर्ने काम सुरक्षा निकायले गरिरहेको छ । १ दिन अगाडिमात्र प्रहरीले लमजुङबाट ६ जना जिल्लास्तरका नेता तथा कार्यकर्ताहरु पक्राउ गरेको थियो ।

प्रतिक्रिया