News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश प्रमुख समाचार

गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज

पोखरा, १४ माघ । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश (पोखरा) ले प्रदेशभरि निष्क्रिय रहेका ३५ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । यसमध्ये हालै मात्र ९ वटा सहकारीको दर्ता खारेज गरिएको हो भने यसअघि नै २६ वटाको खारेजी भइसकेको छ ।

गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को दफा ७१ अनुसार, लगातार दुई वर्षसम्म कुनै पनि कारोबार नगरी निष्क्रिय रहेका, वार्षिक विवरण, प्रतिवेदन तथा लेखापरीक्षण नगरेका संस्थाहरूको दर्ता खारेज गर्न सकिने व्यवस्था छ । यसै आधारमा कार्यालयले निष्क्रिय सहकारीहरूलाई गत असार १५ मा ३५ दिने सूचना जारी गरी अद्यावधिक हुन आह्वान गरेको थियो । सो अवधिमा अद्यावधिक नभएकामध्ये ९ वटाको दर्ता खारेज गरिएको हो । केही अन्य सहकारीहरू भने खारेजी प्रक्रियामा रहेका छन् ।

हालै खारेज भएका ९ सहकारीहरू यस प्रकार छन्ः
स्याङ्जा जिल्लाका ४ वटा (वालिङ नगरपालिका– टापु भञ्ज्याङ कृषि सहकारी संस्था लिमिटेड, कटौजे अदुवा उत्पादक सहकारी संस्था लिमिटेड; चापाकोट गाउँपालिका– खड्क कालो कृषि सहकारी संस्था लिमिटेड, सरोवर कृषि सहकारी संस्था लिमिटेड)

पर्वत जिल्लाका ४ वटा (कुश्मा नगरपालिका– गहते पखरा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, प्रगति कफी सहकारी संस्था लिमिटेड, पूर्णेश्वर कफी सहकारी संस्था लिमिटेड, पर्वत आदर्श नमूना कृषि सहकारी संस्था लिमिटेड)

नवलपुर जिल्लाको १ वटा (हुप्सेकोट गाउँपालिका– भूपूसैनिक सहकारी संस्था लिमिटेड)

समग्रमा खारेज भएका ३५ सहकारीमध्ये सबैभन्दा बढी स्याङ्जाका १२ वटा, गोरखाका ६, पर्वतका ५, तनहुँका ४, कास्कीका ३, म्याग्दीका २ तथा लमजुङ, बागलुङ र नवलपुरका १–१ वटा छन् ।

सहकारी रजिष्ट्रार भेषराज रिजाल का अनुसार, खारेज भएका संस्थाहरूमा कुनै दायित्व (ऋण, कर, शुल्क आदि) बाँकी रहेमा त्यसको जिम्मेवारी सम्बन्धित संस्थाका सञ्चालक तथा पदाधिकारीहरूमा रहनेछ । उनीहरूले नै ती दायित्व पूरा गर्नुपर्ने जानकारी पनि सार्वजनिक सूचनामार्फत गराइएको छ ।

बागलुङ जिल्लामा पनि लामो समयदेखि निष्क्रिय रहेका सहकारीहरूलाई खारेज गर्ने प्रक्रिया अगाडि बढाइएको रिजालले बताएका छन् । यो कदमले प्रदेशमा सहकारी क्षेत्रलाई व्यवस्थित र सक्रिय बनाउने उद्देश्य राखिएको छ ।