News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

अध्यक्षसहित दुई सदस्य समितिमा बस्न नमानेपछि समितिलाई नयाँ स्वरूप दिने तयारी

काठमाडौं, ३० कार्तिक । बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्धबारे अध्ययन गर्न नेपाल बार एसोसिएसनले गठन गरेको समिति पुनर्गठन हुने भएको छ। अध्यक्षसहित दुई सदस्यले समितिमा बस्न नसक्ने जानकारी गराएपछि बारले समितिलाई नयाँ स्वरूप दिन तयारी थालेको हो।

गत १६ कात्तिकमा बारले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको अध्यक्षतामा ‘हालको प्रकरणमा तथ्य संकलन र समग्र न्याय क्षेत्रको उन्नयनका लागि आवश्यक सुझाव’ दिने उद्देश्यले उक्त समिति गठन गरेको थियो। तर श्रेष्ठसहित समितिका सदस्य पूर्णमान शाक्य र सुरेन्द्रकुमार महतोले समितिमा रहन नसक्ने निर्णय सुनाएपछि पुनर्गठन अपरिहार्य बनेको छ।

श्रेष्ठ र महतोले सोही प्रकरणमा जोडिएका व्यक्तिका मुद्दामा बहस गरेकाले समितिमा बस्न असमर्थ रहेको जनाएका छन्। उनीहरू दीपक भट्ट तथा उनको समूहका व्यक्तिहरूको मुद्दामा वकालत गरिसकेका थिए। निष्पक्षता र नैतिकताको दृष्टिकोणले यस्तो जिम्मेवारी लिन उपयुक्त नहुने श्रेष्ठले शुक्रबार बारलाई बुझाएको पत्रमा स्पष्ट उल्लेख गरेका छन्।

पूर्णमान शाक्यले भने समितिको वैधतामै प्रश्न उठाएका छन्। सर्वोच्च अदालतको पूर्ण बैठकले नै ‘सम्बन्धित निकाय’लाई छानबिनको जिम्मा दिइसकेको अवस्थामा बारको यस्तो समितिको वैधता नरहेको भन्दै उनले समितिमा नबस्ने निर्णय लिएका हुन्।

बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको व्हाट्सएप च्याट र भेटघाट सार्वजनिक भएपछि न्याय क्षेत्रमा छानबिन र सुधारको माग तीव्र बनेको छ। फुयाल स्वयंले आफू मात्र होइन, अन्य न्यायाधीशहरूले पनि सापकोटासँग भेटेको स्वीकार गरेका छन्।

सर्वोच्च अदालतको पूर्ण बैठकले संसदीय छानबिन उपयुक्त हुने निर्णय गरिसकेको छ भने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संसदीय समितिमार्फत छानबिन गर्ने निर्णय लिइसकेको छ। तर प्रक्रिया भने अझै ढिलाइमा परेको छ।

डनन्यूज ट्रेन्डिङ