पोखरा, २८ साउन । पोखरा–१३, आर्वा अमलाचौरमा युवाहरूले खेलकुदका माध्यमबाट संकलन गरेर बचेको रकम शिक्षा क्षेत्रमा सहयोग गरेका छन् । आर्वा अमलाचौरका युवाहरुको सक्रिय समन्वयमा आयोजित प्रथम अमलाचौर चापडाँडा भेन्टास भलिबल प्रतियोगिता–२०८१ बाट भएको आम्दानी शिक्षा क्षेत्रमा सहयोग गरिएको हो ।
अमलाचौरका युवाहरुले गत वर्ष फागुन २९ देखि चैत २ गतेसम्म प्रथम अमलाचौर चापडाँडा भेन्टास भलिवल प्रतियोगिता आयोजना गरेका थिए । भलिबल प्रेमीहरू, शुभचिन्तकहरू र स्थानीय समुदायको उत्साहपूर्ण सहभागिताले यो प्रतियोगिता निकै सफल भएको थियो । आयोजकहरूले यो कार्यक्रममार्फत् शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेका थिए, जसलाई उनीहरूले उल्लेखनीय रूपमा कार्यान्वयन गरेका छन्।
प्रतियोगिताको आर्थिक पक्षलाई पारदर्शी रूपमा प्रस्तुत गर्दै आयोजकहरूले जनाएअनुसार, भलिबल प्रेमीहरू, साथीभाइ र शुभचिन्तकहरूबाट कुल २ लाख ७७ हजार ५ सय ९१ रुपैयाँ संकलन भएको थियो। खेलकुद आयोजनाका लागि २ लाख १७ हजार ५ रुपैयाँ खर्च भएको र बाँकी ६० हजार ५ सय ८६ रुपैयाँ बचत भएको थियो । त्यसैगरी, २०८१ चैत १ देखि २०८२ साउन २८ गतेसम्मको अवधिमा प्राप्त ७ सय ५० रुपैयाँ ब्याज जोड्दा कुल बचत रकम ६१ ह्जार ३ सय ३६ पुगेको छ । यो रकमले आयोजकहरूको पारदर्शिता र आर्थिक व्यवस्थापनको कुशलता प्रष्ट झल्किएको छ ।आयोजक समितिले प्रतियोगिताबाट बचत भएको रकमलाई शिक्षा क्षेत्रमा लगानी गर्ने आफ्नो प्रतिबद्धतालाई साकार पार्दै स्थानीय विद्यालयहरूलाई सहयोग प्रदान गरेको छ। पोखरा–१३, आर्वा अमलाचौरस्थित अमरज्योति आधारभूत विद्यालयलाई रु १५ हजार रुपैयाँ नगद र ७ हजार ५ सय बराबरको शैक्षिक सामग्री प्रदान गरिएको छ। त्यस्तै, सिमला आधारभूत विद्यालय, पोखरा–१३, आर्वालाई १० हजार रुपैयाँ नगद सहयोग गरिएको छ।
यस्तै, आर्वा विजय माध्यमिक विद्यालय, पोखरा–१३, डाँडबेसीलाई पनि १५ हजार रुपैयाँ नगद सहयोग प्रदान गरिएको छ। यी सहयोगहरूले स्थानीय विद्यालयहरूको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। यी सबै सहयोगपछि आयोजक समितिसँग १३ हजार ८ सय ३६ रुपैयाँ बचत रकम बाँकी रहेको छ, जुन भविष्यमा थप सामाजिक कार्यहरूमा उपयोग गरिने योजना युवाहरुको रहेको छ ।
यो प्रतियोगिताको सफलतामा आयोजक समितिको नेतृत्वदायी भूमिका उल्लेखनीय रहेको छ। कार्यक्रम संयोजकहरूमा देवेन्द्र परियार, सुरज अधिकारी र शम्भु सिग्देलले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए। खेल संयोजकका रूपमा अमृत परियार र श्री अधिकारीले प्रतियोगितालाई व्यवस्थित र रोमाञ्चक बनाउन योगदान पुर्याए। त्यस्तै, आर्थिक संयोजकहरू रामप्रसाद बराल र लक्ष्मण प्रसाद बरालले आर्थिक व्यवस्थापनमा कुशलता देखाएका थिए । यी सबैको सामूहिक प्रयासले कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक प्रभाव छोडेको छ।आयोजक समितिले भविष्यमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने र शिक्षा क्षेत्रमा अझ ठूलो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। “हामीलाई सधैंझैं भलिबल प्रेमीहरू, शुभचिन्तकहरू र समुदायको साथ र सहयोगको अपेक्षा छ,” कार्यक्रम संयोजक देवेन्द्र परियारले भने। यो प्रतियोगिताले स्थानीय समुदायमा खेलकुदप्रतिको उत्साह बढाउनुका साथै युवाहरूको सामाजिक कार्यमा सक्रियता र एकताको उदाहरण प्रस्तुत गरेको छ।