पोखरा, ३१ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस लेनदेनको सनसनीपूर्ण अडियो सार्वजनिक भएसँगै विवादको भुमरीमा फसेका छन्। कास्कीको १३५ रोपनी जग्गा हडप्ने, मालपोत कार्यालय प्रमुखको सरुवा रोक्ने र भूमि आयोगको अध्यक्षमा खुमबहादुर पुनलाई नियुक्त गर्ने डिलमा गुप्ताले ७८ लाख रुपैयाँको बार्गेनिङ गरेको खुलासा भएको छ।
‘अहिले २५ राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाऔंला’ –मन्त्री गुप्ताको यो भनाइले उनको घुसखोरीको नाङ्गो रूप उदांगो भएको छ। पोखराका विचौलिया सुजन लामा र पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग मन्त्रीक्वाटरमै रेकर्ड भएको १० मिनेटको अडियोमा गुप्ताले मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र पुनको नियुक्तिका लागि २५ लाख मागेको सुनिन्छ।
अडियोमा भूमिसुधारमन्त्री बलराम अधिकारीलाई सिफारिस गर्ने र थप २०–२० लाखको प्रस्ताव गरेको उल्लेख छ। स्वस्थानी पूर्णिमाको प्रसंगले अडियो २०८१ पुस/माघमा रेकर्ड भएको अनुमान छ। गुप्ताले अधिकारीले पैसा लिएर काम नगरेको गुनासो गरेको पनि सुनिन्छ, तर अधिकारीले संसदमै यस्ता आरोप खण्डन गरेका छन्।
गुप्ताले अडियो फर्जी भएको दाबी गर्दै आफूलाई बदनाम गर्ने षड्यन्त्र भन्दै नागरिकता त्याग्ने घोषणा गरेका छन्। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकमसहितको ब्याग र नोटको फोटोसहित परेको उजुरीमाथि छानबिन थालेको छ।
यो काण्डले सरकारको सुशासनमाथि प्रश्न उठाएको छ। सामाजिक सञ्जालमा आक्रोश बढ्दै छ, र सत्तारूढ तथा विपक्षी दलबाट गुप्ताको राजीनामाको माग तीव्र भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गुप्तालाई बर्खास्त गर्न दबाब छ। अख्तियारको अनुसन्धानले यो प्रकरणको सत्यता उजागर गर्ने अपेक्षा गरिएको छ।
मन्त्री गुप्ता : फोन गर न उल्लाई ।
‘अँ फोन गरिरा’छु ।’ (पृष्ठभूमीमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठको स्वर सुनिन्छ ।
विचौलिया सुजन लामाले ‘सर, त्यतातिर राखौं कुर्सी’ भनेको सुनिन्छ । ती व्यक्तिले ‘मन्त्रीज्यू, मैले फोन लगाइदिन्छु । र, तपाई राख्नु ।’
मन्त्री गुप्ता : राख्ने होइन, उल्लाई विहानै दिएर पठाउने ।
मन्त्री गुप्ता : राख्ने होइन, उल्लाई भोलि बिहानै दिएर पठाउने ।
(त्यसपछि फोन लगाएको र फोन गएको टोन सुनिन्छ । त्यसपछि फोन काटिन्छ । अनि कुर्सी लतारेको आवाज सुनिन्छ ।)
मन्त्री गुप्ता : ह्विस्की खाने ?
अडियो रेकर्ड गर्ने विचौलिया लामा : नखाने के मन्त्रीज्यू, मैले कहिल्यै खाँदिन के ।
मन्त्री गुप्ता : कहिल्यै खानुहुन्न ?
(मन्त्रीको कुरा नसकिँदै उनलाई भेट्न गएका व्यक्तिले आफ्नो कुरा राख्छन् ।)
अडियो रेकर्ड गर्ने विचौलिया लामा : सुन्नु न मन्त्रीज्यू, त्यो बलरामलाई भनौं न । बरु, त्यो २० म बुझाइदिउँला के खेमका लागि । भोलि फस्र्ट आवरमै बुझाइदिन्छु त्यो पनि । भन्दिनु त बलरामलाई ।
(अडियो रेकर्ड गर्ने व्यक्ति विचौलिया लामाले नाम लिएका बलराम भूमिसुधार तथा सहकारीमन्त्री बलराम अधिकारी हुन् । उनले मन्त्री गुप्तामार्फत अर्का मन्त्री बलरामलाई काम गराइदिन आग्रह गर्छन् । उनले खेम भनेर संकेत गरेका व्यक्ति पोखराका खेमबहादुर पुन हुन् । उनलाई भूमि आयोगको सदस्य बनाइदिन आग्रह गर्दै विचौलिया लामाले मन्त्रीलाई २०–२० लाख) रुपैयाँ प्रस्ताव गरेका हुन् ।)
‘उसलाई बा’को पनि त प्रेसर होला…’
मन्त्री गुप्ता : बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन ।
विचौलिया लामा: त्यो होइन क्या, आयोगको कुरा गरिरा’को छु के, तपाईसँग ।
मन्त्री गुप्ता : आयोग भन्नाले ?
विचौलिया लामा : खेम पुनका लागि के । २० म बुझाइदिन्छु के । भन्दिनु त बलरामलाई । भन्दिनु त मन्त्रीज्यू ।
(फोन बजेको आवाज सुनिन्छ ।)
मन्त्री गुप्ता : हेल्लो । अँ । अँ । फोनमा बात कि भाषण कर’रहा ?
(मन्त्रीले फोनमा अर्कै व्यक्तिसँग कुरा गरिरहेका बेला त्यो ठाँउमा अर्को महिलाको प्रवेश हुन्छ । उनले अडियो रेकर्ड गरिरहेका व्यक्तिसँग खासखुस कुरा गर्न थाल्छिन् ।)
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ : मलाई टेन्सन छ ।
विचौलिया लामा : तपाईं टेन्सन नलिनु त । भोलि समस्या हल भइहाल्छ ।
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ : छोराको तिथिको बर्थ–डे छ, उसलाई मन्दिर लानु छ । तिथिमा भा’को होइन त, त्यो स्वस्थानी पूर्णिमाको ? त्यसपछि पशुपति जानु छ, त्यहाँबाट ममीकोमा सगुन लिन जानु छ । भोलि २९ गते अन्तिम दिन ।
विचौलिया लामा : भोलि दिनको हुन्छ, शपथग्रहण अनि तपाईं चुप लागेर बस्नुस् त !
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ : तपाईंकै अघि भनिरहेको छु त !
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ: मन्त्रीज्यूले एकपटक भन्दिनुप¥यो के बलरामलाई, भनिस्यो ‘न !
विचौलिया लामा :मेरो एउटा मान्छे पनि नबनाइदिने ?
मन्त्री गुप्ता : त्यो मान्दैन ।
विचौलिया लामा : त्यो मान्दैन रे । (उनी बेसरी हास्छन् ।) तपाईंसँग सयवटा काम पर्छ त्यस (मन्त्री बलराम अधिकारी)को भनेको, तपाईंको एउटा काम नगर्दिएर हुन्छ । त्यसमाथि सबैले प्रेसर दिएको छ उसलाई । बाले समेत भने होलान् उस्तै परे भनेदेखि…. ।
(उनले बा’ भनेर कसलाई संकेत गरेका हुन्, स्पष्ट खुलेको छैन ।)
अहिले १५ छाड्छु, बाँकी १० भोलि बिहान
मन्त्री गुप्ता : यो त पोलिटिकल नियुक्ति हुँदै दिएको । जिल्लाबाट आउनुपर्छ, प्रदेशबाट आउनुपर्छ ।
विचौलिया लामा : दाइ उसको त एकल सिफारिस भ छ के, मन्त्रीज्यू । निर्णय भा’छ प्रदेशबाट यसरी । यता हेर्नु ।
(संवाद गर्दै उनले केही कागजात देखाएका छन् ।)
प्रदेशले निर्णय गरेर पठाएछ नि यसरी । खेमबहादुर पुन भनेर यसरी एकल सिफारिस आएको छ ।
मन्त्री गुप्ता :कहाँबाट, जिल्लाबाट ?
विचौलिया लामा : जिल्लाले प्रदेशलाई भने, प्रदेशले मन्त्रालयलाई पठाउने ।
मन्त्री :समस्या के छ त ?
विचौलिया लामा : अरू–अरू मान्छे खेलिरा’छ नि त त्यहाँ । यहाँ ….. छुटिरा’छ नि त ।
(बोलेको केही शब्द बुझिँदैन )
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ: मन्त्रीज्यूले भनेपछि मानिहाल्छ नि ।
मन्त्री गुप्ता : अब अहिले मन्त्रालयमा छ । यहाँ हुन्थ्यो भने आइहाल्थ्यो, तीनपाने रक्सी खान ।
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ: कसले भनेको मान्छ के उसले, मन्त्रीहरूले भनेको नमाने ।
मन्त्री गुप्ता : कहाँ छ कृषिमन्त्री ? भूमिसुधारमन्त्री … ।
(विचौलिया लामा बेसरी हाँसेकाले बोलेको बुझिदैन ।
मन्त्री गुप्ता : उसलाई फोन गर्नुस्, भूमि आयोगको अध्यक्षका लागि, कास्की होइन ?
विचौलिया लामा : कास्की, खेमबहादुर पुन ।
मन्त्री गुप्ता :कास्कीको जिल्ला कमिटीले सिफारिस गरेको छ ।
विचौलिया लामा : प्रदेशले निर्णय गरेर पठाइदिएको छ ।
मन्त्री गुप्ता :प्रदेशले पनि गरेको छ भनेपछि त्यो पक्का हो । त्यही पनि शंका छ गडबड हुन्छ । कति छ, भोलिकै काम ।
विचौलिया लामा : १ बजे शपथग्रहण छ ।
मन्त्री गुप्ता : (फोनमा कुरा गर्न थाल्छन्) अहिले निस्किनु न बाबा, गाडी आइरा’छ मन्त्रालयबाट । भेट हुन्छ, आउनु न म बोत्तल दिन्छु लिएर जानु, खुवाइदिनु, उहाँको ओके गराइदिनु । माल कति लिन्छ अहिले लिइदिने । त्यो नियमले मिल्ने रहेछ, जिल्ला कमिटीले सिफारिस ग¥या छ, प्रदेशले सिफारिस… ।
विचौलिया लामा : जिल्लाले पाँचजनाको ग¥या छ क्या, प्रदेशले चाहिँ त्यहाँमध्ये छानेर एउटा मात्र पठाइदिएको छ ।
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ : डिलकै गरौँ ? (उनले अडियो रेकर्ड गर्ने व्यक्तिसँग कुरा गरेकी हुन् ।)
विचौलिया लामा : भन्नु न, डिल गरौँ भन्नु त ।
विचौलिया लामा : मन्त्रीज्यू, यसो गर्छुु सुन्नुस् । मैले अहिले १५ छोड्छु, १० चाहिँ बिहान ल्याएर दिन्छु, त्यो अदालतको । (केही बेर रोकिएर) यसो हो … अदालतको भनेको… पर्सि उहाँले सामान्यबाटै गर्दिनुहुन्छ ।
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ : मन्त्रीज्यूका हातमा दिउँ ?
विचौलिया लामा : मन्त्रीज्यूले एस र नो भन्दा आउँछ रे, उहाँहरूलाई केही आउँदैन ।
‘पोखराको जग्गाले हेरिरहेको छ’
विचौलिया लामा : पोखराको जग्गाले हामीलाई टुलुटुलु हेरेर बसिरहेको छ मन्त्रीज्यू । अनि हामी यहाँ यसरी हेरेर बसेर हुन्छ ?
मन्त्री गुप्ता : अनि १५ महिनामा के हेरिरा’छ त ?
विचौलिया लामा :गरेछ त अलिअलि काम त । त्यत्तिकै पछुतो लागेन होला नि त मन्त्रीज्यू, लिएर आउनुस् त त्यो ।
मन्त्री गुप्ता : १५ महिना के गरिरा यिनीहरूले ?
विचौलिया लामा १५ गरौँ, १५ गरिदिन्छ रे । (फेरि उनी निस्फिक्री हाँस्छन् ।)
(पोखराको १३५ रोपनी जग्गा छुट दर्ताका क्रममा व्यक्तिको नाममा दर्ता गर्न प्रयास भइरहेको छ । त्यसक्रममा जिल्ला मालपोत कार्यालय कास्कीमा आफूले भनेको मानिसलाई यथावत राख्ने अडियो रेकर्ड गर्ने व्यक्तिले आग्रह गरिरहेको हुन्छन् । १५ महिनासम्म पनि कुनै काम नभएको भनेर मन्त्रीले आफूलाई भेट्न आउने मानिसलाई प्रश्न उठाएका हुन् । मन्त्रीले केही खानेकुराको प्रस्ताव गर्दा ती व्यक्तिले काम बनेपछि पोखरा माझीकुनामा माछा खाने प्रस्ताव राख्छन् )
‘अब माझीकुनामा माछा खाने’
विचौलिया लामा (पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग) : नकराउनु न तपाईं, …..भोलि गर्दिन्छ क्या … मलाई पोखरा २५ मै … ।
(उनीहरु अस्पष्ट रुपमा खासखुस गर्छन ।)
विचौलिया लामा : म्याडमले मलाई के भन्या छ थाहा छ ? घरै नआइज तँ अरे ।
मन्त्री गुप्ता : के खानुहुन्छ त ?
विचौलिया लामा :केही नखाने हो मन्त्रीज्यू, तपाईंको त्यत्रो चिया खाएको देख्नुभएन ?
मन्त्री गुप्ता : माछा खानुहुन्छ ?
विचौलिया लामा : माछा–मछली केही नखाने, अब माझीकुनामा माछा खान जाने हो तपाईंले काम गरेपछि ।
(त्यसपछि अडियो रेकर्ड गर्ने व्यक्ति त्यहाँबाट निस्किएजस्तो सुनिन्छ । केहीबेरमा संक्षिप्त कुराकानी गरेपछि ९ मिनेट १३ सेकेण्ड लामो अडियो टुंगिन्छ ।)