म्याग्दी, २५ असार। म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीटारमा बुधबार दिउँसो खसेको पहिरोले जगेन्द्र विकको ज्यान गएको छ भने उनका १३ वर्षीय छोरा बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, पहिरोमा परी ३५ वर्षीय विकको मृत्यु भएको हो। उनी आफ्ना छोरा सरोज विकसँगै घरनजिकैको पाखो बारीमा घाँस काट्न गएका बेला पहिरोले पुरेको हो।
इन्स्पेक्टर सागर पौडेलका अनुसार, बेपत्ता बालकको खोजीका लागि प्रहरीको टोली घटनास्थलमा परिचालित गरिएको छ।
पहिरोले स्थानीय कुलबहादुर बुढाको गोठसमेत बगाएको छ, जसमा रहेका एक हल गोरु पनि बगेका छन्।
यस्तै, बुधबार नै धौलागिरि क्षेत्रमा खसेको अर्को ठूलो पहिरोका कारण म्याग्दी नदी झन्डै १० मिनेट थुनिएको थियो। सोमबार रातिदेखि निरन्तर परेको वर्षाका कारण जिल्लामा पहिरो र बाढीका घटना बढेका छन्।