पोखरा, ६ जेठ । गाउँ पर्यटनको सम्भावना उजागर गर्दै स्थानीय पर्यटन व्यवसायीलाई बजारसँग जोड्न पोखरामा जेठ ९ र १० गते ‘तेस्रो गाउँ पर्यटन मेला’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको आयोजनामा र गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सहआयोजनामा हुने मेला सञ्चालन हुन लागेको हो ।
गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन उद्योग रहेको सन्दर्भमा मेलाले गाउँ पर्यटनलाई केन्द्रमा राख्दै त्यसको प्रवद्र्धन र बजारीकरणमा योगदान पु¥याउने उद्देश्यले पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा मेलाको आयोजना गर्न लागिएको पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।
मेलाले स्थानीय पर्यटन व्यवसायीलाई आ–आफ्ना सेवाहरूको प्रवद्र्धन गर्ने, बजारसँग जोड्ने तथा सम्भावित पर्यटकहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसर प्रदान गर्नेछ,’ उनले भने–‘मेलाको प्रमुख उद्देश्य गाउँमा रहेका होमस्टे तथा अन्य पर्यटन सेवाहरुलाई बजारसँग जोड्नु, गाउँ पर्यटनको सम्भावना उजागर गर्नु र युवा पलायन रोक्ने गरी गाउँमै रोजगारी सिर्जना गर्नु रहेको छ ।’
मेलाबारे जानकारी दिन आज मंगलबार आयोजित पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा मेला अवधिमा सामुदायिक होमस्टे तथा पर्यटन व्यवसायीका २५ स्टल राखिने जानकारी दिइएको छ ।
संवाद कार्यक्रमअन्तर्गत गाउँ पर्यटनको सम्भावना, चुनौती र अवसर, गाउँ पर्यटन प्रवद्र्धनमा सञ्चारकर्मी र उद्योगी–व्यवसायीको भूमिकाबारे छलफल हुनेछ । सांस्कृतिक कार्यक्रममार्फत विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिने भिटोफ गण्डकीकी अध्यक्ष शोभा सापकोटाले बताइन् । मेलाले पर्यटकीय गाउँको पहिचान प्रवद्र्धन गर्नुका साथै गाउँमा उत्पादन हुने सामग्री र सेवाको बजारीकरणमा टेवा पु¥याउने उनको विश्वास छ ।
मेलामा नीति निर्माता, स्थानीय तहका प्रतिनिधि, विद्यार्थी, स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ । सामुदायिक घरबासको व्यावसायिकता र पर्यटन क्षेत्रमा संलग्न सबै पक्षको जागरूकता अभिवृद्धिमा समेत योगदान पुग्ने आयोजकको अपेक्षा छ ।