पोखरा, २८ वैशाख । पत्रकार एवम् युवा नेता देवेन्द्र बास्तोलाको मोटरसाईकल दुर्घटनामा परी निधन भएको छ ।
शनिबार लेखनाथ तालवेंसीमा आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा ४६ वर्षीय बास्तोलाको निधन भएको हो ।
पोखरामा रहेर विभिन्न सञ्चारमाध्यममा कार्य गरेका उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध थिए । पछिल्लो समय पोखरा–५ मा रहेको रेडियो सार्थकमा उनले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका थिए ।
रेडियो सार्थकका सञ्चालक एवम् पत्रकार तीर्थ खत्रीले एक सहयोद्धा गुमाउन पर्दा पत्रकारितादेखि विभिन्न सामाजिक क्षेत्रहरुमा अपूरणीय क्षति भएको बताए ।
पोखरा न्यूरोडको पिपल्स बचत तथा ऋण सहकारी संस्थामा सचिवमा कार्यरत उनले मणिपाल शिक्षण अस्पतालमा पनि काम गरेका थिए । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल राखिएको छ ।
उनका आमा, श्रीमती र एक छोरा छन् ।