News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद प्रमुख समाचार

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चस्व

पोखरा, ४ फागुन : देशको पर्यटकीय राजधानी पोखरामा शनिबार सम्पन्न १९औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरूले बर्चस्व कायम गरेका छन् ।

भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन (४२.१९५ किमी) मा केन्याली धावक विल्सन चेरियुयिटले दुई घण्टा १७ मिनेट २४ सेकेण्डमा निर्धारित दौड पूरा गरी उपाधि जितेका हुन् । उनले उपाधिसहित रु पाँच लाख पुरस्कार पाए । उनले यसअघि कायम रहेको केन्याली धावक जुलियस मुरियाली वाहोमले राखेको दुई घण्टा घण्टा १९ मिनेट ३६ सेकेण्डको रेकर्डसमेत तोडे ।

अघिल्लो संस्करणको उपाधि जितेका जुलियस दुई सेकेण्ड पछि पर्दै दुई घण्टा १७ मिनेट २६ सेकेण्डमा दौड पूरा गरी द्वितीय बने । उनले रु तीन लाख पुरस्कार पाए । अर्का केन्याली धावक ओनेसमस गिताउ जोरोगले दुई घण्टा १८ मिनेट २१ सेकेण्डमा पूरा गरी तृतीय बन्दै रु दुई लाख पुरस्कार पाएका छन् ।

म्याराथनतर्फ नेपाली धावक किरणसिंह बोगोटीले चौथो स्थान हात पारे । पाँचौँ स्थानमा नेपाली धावक निरोज भट्ट क्षेत्री आउँदा छैटौँ स्थानमा रिखुलालसिंह मगर, सातौँ स्थानमा दिनेश सिंह बोगोटी र आठौँ स्थानमा केन्याली धावक माइकल माथिया बन्न सफल रहे । उनीहरूले जनही क्रमशः नगद रु ५० हजार, रु २० हजार, रु १५ हजार र रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

गण्डकी प्रदेशतर्फको म्याराथनमा निरोज भट्ट क्षेत्री पहिलो बने । उनले दुई घण्टा ३८ मिनेट २२ सेकेण्डको समय लिए । त्यस्तै रिखुलाल मगर दोस्रो, दिनेशसिंह बोगोटी, तेस्रो, मीनराशी विक चौथो, अशोक बराम पाँचौँ, सनम गुरुङ छैटौँ र प्रितम गुरुङले आठौँ स्थान प्राप्त गरे । उनीहरूले क्रमशः जनही नगद रु ५० हजार, रु ३० हजार, रु २० हजार, रु १५ हजार, रु आठ हजार, रु ६ हजार र रु चार हजार प्राप्त गरे ।

पुरुष २१ किमी हाफ म्याराथनमा केन्याली धावक जोन बान्सतराले एक घण्टा ०९ मिनेट ०७ सेकेण्डको समयमा दौड पूरा गरी पहिलो बने । उनले नगद रु ७५ हजार पुरस्कार पाए । नेपाली धावक सन्तोषविक्रम विष्ट एक घण्टा नौ मिनेट ५६ सेकेण्डमा दौड पूरा गरी द्वितीय बन्दै रु ५० हजार पुरस्कार पाएका छन् ।

यसैगरी महिला हाफ म्याराथन २१ किमी दौडमा नेपाली धाविका ओलम्पियन सन्तोषी श्रेष्ठले एक घण्टा २० मिनेट ०३ सेकेण्डमा दौड पूरा गर्दै च्याम्पियन बनिन् । उनको पोखरा म्याराथनमा लगातार दोस्रो जित हो । त्यस्तै केन्याली धाविका स्वारोन जोनोटिक एक घण्टा २१ मिनेट सात सेकेण्डको समय लिँदै दोस्रो हुँदा एक घण्टा २३ मिनेट ०८ सेकेण्डमा दौड पूरा गरी पुष्पा भण्डारी तेस्रो र आश्मा विक चौथो र द्रोपताकुमारी कठायतले पाँचौँ स्थान हासिल गरिन् । उनीहरूले क्रमशः जनही नगद रु एक लाख ५० हजार, रु एक लाख, रु ७५ हजार रु १५ हजार रु पाँच हजार पुरस्कार पाए । यसअघि पोखरा रङ्गशालाबाट सुरु भएको म्याराथनको उपप्र्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गर्नुभएको थियो ।