News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज प्रमुख समाचार

प्राइम सहकारीबाट लाखौं रुपैयाँ घुस खाने सरकारी नियामक निकायका प्रमुख र कर्मचारीहरुको कर्तुत

सहकारी विभाग, रजिष्ट्रार कार्यालय र राजस्वसम्मका प्रमुख र कर्मचारीको संलग्नता

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुलीले दुई सेवा केन्द्र र २ जिल्ला कार्य क्षेत्र थप गर्नका लागि १६ लाख,  सहकारी विभाग नयाँ बानेश्वर काठमाडौंका नायव सुब्बा कमल पोखरेल र शाखा अधिकृत सन्देश प्रसाद जोशीले २५ लाख रुपैयाँ, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका बद्रीनाथ अधिकारी, सहकारी डिभिजन कार्यालयका बालकृष्ण सुवेदी र राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रबन्धक सन्तोष घिमिरेले विदेश भ्रमणदेखि मोजमस्तीका नाममा सहकारी सञ्चालकहरुसँग वार्गेनिङ गर्दै लाखौं रुपैयाँ असुल्ने काम गरेको तथ्य अनुसन्धानका क्रममा देखिएको छ ।

रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा र राष्ट्रिय सहकारी बैंक पोखराका अधिकांश प्रमुखहरु सर्वसाधारण बचतकर्ताको पैसाबाट श्रीलंका र थाईल्याण्ड लगायतका देशमा मोजमस्ती गरेको सप्रमाण भेटिएको छ । 

पोखरा, ३ जेठ । डेढ अर्ब रुपैयाँ सर्वसाधारण जनताको हिनामिना भएको प्राइम सहकारीबाट नियामक निकायका प्रमुख र कर्मचारीहरुले नै लाखौं रुपैयाँ घुसवापत लिदैं आईरहेको तथ्य खुलेको छ । सहकारी भित्र देखिएको विकृतिलाई रोकथाम गर्नुको साटो त्यसैलाई देखाउँदैं सरकारी नियामक निकायका प्रमुख र कर्मचारीहरुले वार्गेनिङ गर्दै लाखौं रुपैयाँ लिदैं आईरहेका थिए ।

प्राइम सहकारीका सञ्चालक तथा कर्मचारीहरु । फाईल तस्विर

सहकारीलाई तीन खम्बे अर्थनीतिमा राखेको सरकार स्वयंले नैं सहकारीको लाईसेन्स यसरी बितरण गर्न पुग्यो कि जसको सही अनुगमन र नियमन नहुँदा आज लाखौं जनताहरुको बिचल्ली भएको छ । यसरी सरकारको नीति र उद्देश्य विपरित सहकारीबाट वार्गेनिङ गरेर लाखौं रुपैयाँ घुस लिनेहरुमा सहकारी विभाग, सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश, आन्तरिक राजस्व कार्यालय पोखरा र सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका केही प्रमुख र कर्मचारीहरु रहेका छन् ।

उनीहरुले सहकारीको वेथितिको नियन्त्रण गर्नुको साटो त्यहींबाट लाखौं रुपैयाँ घुस लिने र वेथितिलाई झन् मौलाउने वातावरण सिर्जना गर्ने काम गरिदिदाँ आज लाखौं जनताको विचल्ली भएको छ । यतिबेला सर्वसाधारण जनताहरुको सहकारीमा जम्मा गरेको बचत डुब्नुको पछाडी गलत मनसाय बोकेका सहकारीका सञ्चालकहरुमात्र दोषी नभई यसको नियामक निकायको पनि ठुलो त्रुटी र गलत नियत भएको प्राइम सहकारीमा देखिएको घुस प्रकरणले पनि छर्लङ्ग पार्दछ ।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका तत्कालिन रजिष्ट्रार उदयबहादुर पराजुली प्रमुख अतिथिका रुपमा प्राइम सहकारीमा मायाको चिनो ग्रहण गर्दै । फाईल तस्विर

सहकारी विभाग नयाँ बानेश्वर काठमाडौंका शाखा अधिकृत र नायब सुब्बाको कमाऊ धन्दा:
यसरी सहकारी भित्रको वेथितिलाई रोक्नुको साटो त्यसैलाई कमाई खाने भाँडो बनाउँदैं लाखौं रुपैयाँ घुस लिनेहरुमा सहकारी विभाग नयाँ बानेश्वर काठमाडौंका कर्मचारीहरु पनि रहेका छन् । प्राइम सहकारीको अनुगमनका क्रममा नायव सुब्बा कमल पोखरेल र शाखा अधिकृत सन्देश प्रसाद जोशीले २५ लाख रुपैयाँ घुस वार्गेनिङ गरेका थिए । उनीहरुले घुस दिएमा सम्पत्ती शुद्धिकरण ऐन बमोजिम हुने कारवाही रोक्न सहयोग गर्ने भन्दैं सञ्चालकहरुलाई धम्क्याएका थिए । पोखरेल र जोशीले यसरी धम्क्याउँदैं लाखौं रुपैयाँ असुलेका छन् । जुन तथ्य र प्रमाणहरु अनुसन्धानका क्रममा पुष्टि भएको छ ।

सहकारी विभाग, नयाँ बानेश्वर, काठमाडौं

उनीहरुले सहकारीका सञ्चालकलाई पठाएको बैंक खातामा ७ लाख ५० हजार रुपैयाँ र बाँकी नगद लिएको भेट्टिएको छ । वित्तीय अनुसन्धानका क्रममा पनि यो तथ्य खुलेको छ । जसको थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय कास्कीले गरिरहेको छ । सहकारीबाट घुस लिएर पनि उनीहरुले केही रकममात्र जरिवाना गराएका थिए । जुन हालसम्म पनि सहकारीले भुक्तानी गर्न नसकेको अनुसन्धानका क्रममा खुलेको छ ।

सहकारी ठगीमा कारागारसम्म पुगेर धरौंटीमा छुटेका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली पुनः १६ लाख घुस प्रकरणमा पनि यसरी जोडिए:

त्यसैगरी सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुलीले पनि प्राइम सहकारीबाट लाखौं रुपैयाँ घुस लिएको प्रमाणहरु भेटिएका छन् । पराजुलीसहित सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका तत्कालिन समयका प्रमुख तथा कर्मचारीहरुको पनि यस घुस प्रकरणमा संलग्नता रहेको देखिएको छ । सहकारीको १२ औं वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा आएका पराजुलीले आफ्नो सरुवा हुन लागेकोले कार्यक्षेत्र विस्तार गर्न सहयोग गर्छु भन्दैं लाखौं रुपैयाँ घुस वापत लिएका थिए ।

मित्र मिलन सहकारी ठगीमा कारागार नै चलान भएका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली । उनी पुनः प्राइम सहकारीमा पनि घुस काण्डमा मुछिएका छन् । फाईल तस्विर

५० लाख रुपैयाँ दुई दुई वटा जिल्ला कार्यक्षेत्र थप गरिदिए वापत दिनु पर्ने वार्गेनिङ पराजुलीले गरेका थिए । पराजुलीले दुई सेवा केन्द्र र २ जिल्ला कार्य क्षेत्र थप गर्नका लागि ७ लाखका दरले २०७९ असार १९ गते घुस १६ लाख रुपैयाँ लिएका थिए ।

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका बद्रीनाथ अधिकारी, विदेश भ्रमणदेखि गाडी किन्ने र मर्मतसम्मको रकम सहकारीबाट यसरी उठाउँथे:

बद्रीनाथ अधिकारी, तत्कालिन प्राचार्य, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, पोखरा

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका बद्रीनाथ अधिकारीले गाडी किन्ने, विदेश भ्रमण गर्ने, विभिन्न होटलहरुमा बस्ने, जहाज टिकटदेखि गाडी मर्मतसम्मको खर्च भन्दैं सहकारीबाट लाखौं रुपैयाँ घुसवापत लिएका थिए । यसवापत उनले सहकारीको सेवा केन्द्र थप गर्ने, वचत तथा केन्द्रीय संघमा आवद्ध हुनका लागि नाम परिवर्तन गरी बहुउद्देश्यीय सहकारी बनाई साकोसमा परिणत गर्ने काम गरेका थिए । उनले लाखौं रुपैयाँ घुस लिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सहकारी डिभिजन कार्यालयका कर्मचारी बालकृष्ण सुवेदी सहकारीको पैसामा विदेशभ्रमणदेखि मोजमस्तीसम्म
त्यसैगरी सहकारी डिभिजन कार्यालयका बालकृष्ण सुवेदीले समेत विदेश भ्रमण गराउन भन्दैं प्राइम सहकारीबाट थाईल्याण्ड भ्रमणका नाममा होटल तथा जहाज टिकटदेखि मोजमस्तीको सम्पूर्ण खर्च सहकारीको पैसाबाट गरेको तथ्य अनुसन्धानका क्रममा भेटिएको छ ।

वित्तीय अनुसन्धानका क्रममा २०७२ सालमा सुवेदीले थाईल्याण्ड भ्रमण गर्दाका सम्पूर्ण खर्च सहकारीबाट नै तिरिएको तथ्य भेट्टिएको हो । यो समयमा २०७० मंसिर १७ गतेदेखि २०७४ भदौं ३ गतेसम्म सहकारी सञ्चालक समितिको अध्यक्षमा अनिल जोशीको कार्यसमिति रहेको थियो ।

राष्ट्रिय सहकारी बैंकबाट कर्जा प्रवाह गराई दिएको भन्दैं तत्कालिन शाखा प्रबन्धक केदारनाथ उप्रेतीलाई घुसवापत श्रीलंका भ्रमण:

केदारनाथ उप्रेती, तत्कालिन प्रबन्धक, राष्ट्रिय सहकारी बैंक पोखरा शाखा

राष्ट्रिय सहकारी बैंकबाट कर्जा प्रवाहमा सहयोग गरेको भन्दैं तत्कालिन शाखा प्रबन्धक केदारनाथ उप्रेतीलाई खुशी बनाउन भन्दैं प्राइम सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला र अध्यक्षकी श्रीमती विजया कोइराला मिलेर सहकारीको २५ लाख रुपैयाँ खर्चमा श्रीलंका भ्रमण गएको तथ्य पनि खुलेको छ । सो समयमा केदार उप्रेतीले सहजीकरण गरेवापत सहकारीको १ लाख ८० हजार रुपैयाँ कमिशन भन्दैं लिएको तथ्य पनि भेट्टिएको छ । २०७४ भदौं ३ गतेदेखि २०७८ असोज १६ गतेसम्म कोइराला सहकारी सञ्चालक समितिको अध्यक्षमा रहेका थिए ।

प्राइम सहकारीका सञ्चालक र कर्मचारीहरु ।

तत्कालिन सहकारी रजिष्ट्रार चन्द्रबहादुर ठकुरीको ठगीधन्दा, सहकारी सम्बन्धी गिती एल्बम निकाल्ने नाममा प्राइम सहकारीको पैसा झ्वाम:

तत्कालिन सहकारी रजिष्ट्रार चन्द्रबहादुर ठकुरी

सहकारी सम्बन्धी सहकारीका सुसेलीहरु भन्ने गिती एल्बम निकाल्ने नाममा सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराका तत्कालिन रजिष्ट्रार चन्द्रबहादुर ठकुरीले प्राईम सहकारीबाट पैसा लिएका थिए । सो एल्बम बेचेर आएको सम्पूर्ण रकम सहकारीलाई नै उपलब्ध गराउने आश्वासन दिएका रजिष्ट्रार ठकुरीले उल्टै एल्बम निकाल्दा खर्च भएको रकम समेत सहकारीलाई फिर्ता गरेनन् । ठकुरीले सहकारीका तत्कालिन अध्यक्ष अनिल जोशीसँग मिलेर रकम हिनामिना गरेका थिए । २०६६ फागुन ३ गतेदेखि २०७० मंसिर १७ गतेसम्म अध्यक्ष जोशीको सञ्चालक समितिमा रहेर काम गरेका थिए ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखराका तत्कालिन प्रबन्धक सन्तोष घिमिरेको पनि घुस प्रकरणमा संलग्नता भएको पुष्टि:
त्यसैगरी मित्र मिलन सहकारी ठगी काण्डमा संलग्न भएको भन्दैं जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएका राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रबन्धक सन्तोष घिमिरेले पनि प्राइम सहकारीबाट लाखौं रुपैयाँ घुस लिएको तथ्य भेटिएको छ । उनले प्राइम सहकारीको रकमबाट विदेश भ्रमण गरेका थिए । विभिन्न कर्जा पास गर्न सहजीकरण गरिदिएवापत भन्दैं घिमिरेले लाखौं रुपैयाँ घुस लिएको तथ्य अनुसन्धानका क्रममा भेटिएको छ ।

सन्तोष घिमिरे, राष्ट्रिय सहकारी बैंक लि. पोखराका तत्कालिन प्रबन्धक ।

आन्तरिक राजस्व कार्यालय पोखरामा सेटिङ मिलाउने भनदैं घुसवापत लाखौं रुपैयाँ लैजाने के.बी.थापा एण्ड कम्पनीको ठगी धन्दा:
प्राइम सहकारी सञ्चालकहरुले आफ्नो मातहतको लेखा सुपरिवेक्षण समिति गठन गर्ने र त्यसबाट गलत लेखा परिक्षण प्रतिवेदन तयार पार्ने काम गर्दै आईरहेका थिए । एकातर्फ गलत लेखा परिक्षण प्रतिवेदन तयार पार्ने र अर्को तर्फ सरकारी निकायका कर्मचारीहरुलाई पनि घुस खुवाउने काम प्राइम सहकारीले गर्दै आईरहेको थियो ।  सहकारीको अडिटको जिम्मा लिएका व्यवस्थापक निरु थापा केसीका भिनाजु कृष्णबहादुर थापाको के.बी. थापा एण्ड कम्पनीले आन्तरिक राजश्व विभाग पोखराका कर्मचारीहरुलाई २०७९ असार ९ गते घुस वापत लाखौं रुपैयाँ दिएको तथ्य पनि खुलेको छ ।

फुल अडिटको केसहरु मिलाउने भन्दैं के.बी. थापाका भाइ अशोक भनिने एकबहादुर थापा मार्फत् राजस्वका अधिकृतलाई घुस वापत भन्दैं नगद तथा चेक मार्फत् रकम दिएको तथ्य पनि खुलेको छ । सहकारीका शेयरसदस्यहरुलाई विश्वसनीयता प्रदान गर्ने भन्दैं केबी थापा एण्ड कम्पनी मार्फत् आन्तरिक राजस्व विभाग पोखराका कर्मचारीहरुलाई घुस वापत रकम प्रदा गरिएको थियो ।

सहकारीका कानुनी सल्लाहकार ईन्द्रप्रसाद बराल पनि ठगी धन्दामा, आधा करोड झ्वाम:
त्यसैगरी, प्राइम सहकारीका कानुनी सल्लाहकार अधिवक्ता ईन्द्रप्रसाद बरालले पनि सहकारीका विभिन्न मुद्दा अदालतमा मिलाउनका लागि सेटिङ मिलाउन भन्दैं ५३ लाख रुपैयाँ भन्दा बढि रकम लिएको तथ्य भेटिएको छ । यसभन्दा अघि मित्रमिलन सहकारीबाट पनि यसैगरी अनुचित लाभ लिएको भन्दैं अधिवक्ता जनकल्याण पराजुलीलाई प्रहरीले पक्राउ गरी कारवाही अघि बढाएको थियो । पराजुली अदालतबाट धरौंटीमा रिहा भएका थिए ।

अधिवक्ता ईन्द्रप्रसाद बरालले आधा करोड भन्दा बढि रकम अदालतमा सेटिङ मिलाउनु पर्छ भन्दैं सहकारीबाट घुसवापत लिएको खुलासा ।

त्यसैगरी, सूर्यदर्शन सहकारीका ठगहरुको गिरोहमा संलग्न रहेका अर्का अधिवक्ता रोहितराज बास्तोलालाई पनि शिवबहादुर गुरुङ महेन्द्र भोटेको वषौंदेखि कानुनी सल्लाहकार रहेको भन्दैं सार्वजनिक अभिव्यक्ति दिदैं छुटाउन सेटिङ मिलाएको भन्दैं सहकारी पीडित बचतकर्ताहरुले जिल्ला अदालत कास्कीबाटै लखेटेका थिए । उनी महेन्द्र भोटेलाइ कारागार लैजाँदैं गरेको प्रहरीको ट्रकमा लुकेर अदालतबाट बाहिरिएका थिए ।

कास्की, तनहुँ र गोरखा जिल्लासम्म आफ्नो कार्यक्षेत्र बढाएर सर्वसाधारणको रकम संकलन गर्दै आईरहेको प्राइम सहकारीमा जम्मा भएको रकम हिनामिना गर्नेहरुमा सहकारी विभाग, सहकारी रजिष्ट्रारको कार्यालय र राजस्व कार्यालय जस्ता नियामक निकायहरुले नैं लाखौं रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा पुष्टि भएको छ । प्राइम सहकारीको बचतकर्ताको लाखौं रुपैयाँ हिनामिना गर्नेहरु मध्ये ८ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने बाँकीहरुको खोजी कार्य जारी रहेको छ ।

प्राइम सहकारी पोखराका सञ्चालक र कर्मचारीहरु । फाईल तस्विर

२०६६ माघ २८ गते सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय कास्कीमा प्राइम सहकारी दर्ता गरिएको थियो । २०७२ असार २५ गते यो सहकारीले बचत तथा ऋणको सट्टामा बहुउद्देश्यीय कारोबारको इजाजत प्राप्त गरेको थियो ।

शुरुमा पोखरा उपमहानगरपालिका वडा नं. ३, ४, ५, ८ र ९ गरी कार्यक्षेत्र विस्तार गरेको प्राइम सहकारीले घुस खुवाउँदैं कास्की, तनहुँ र गोरखा जिल्लासम्म आफ्नो कार्यक्षेत्र विस्तार गरेको थियो । पोखरा वडा नं. ४ गैह्रापाटनमा मुख्य कार्यालय रहेको यस सहकारीले लेखनाथ, बगर र नयाँपुल गरी ३ वटा सेवा केन्द्रबाट कारोबार गर्दै आईरहेको थियो ।

नियामक निकायका प्रमुखहरु नै भ्रष्टाचारमा लिप्त :  रातो घेरामा देखाईएका पात्र तत्कालिन पोखरा महानगरपालिकाका सहकारी शाखा प्रमुख तेजनारायण अधिकारी हुन् । उनले पनि आर्थिक चलखेल गरेर नगरपालिकामा केही सहकारीलाई स्वीकृति दिएको, अनुगमन र कारवाही असाध्यैं फितलो गरेको आरोप लाग्दैं आईरहेको छ । महानगरपालिकाको मातहतमा रहेको सूर्यदर्शन सहकारीमा जनताको अर्बौं रुपैयाँ हिनामिना भएको छ । फाईल तस्विर

सहकारी भित्र व्याप्त अनियमितता, आर्थिक हिनामिना र चलखेलका कारण बचतकर्ताहरुले रकम पाउन मुस्किल भएपछि छानबिनको माग गर्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरामा पीडित बचतकर्ताहरुले उजुरी दिएका थिए । सोही आधारमा सहकारी सञ्चालक समितिले २०८० फागुन ३० गते संस्थागत निर्णय गर्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशमा छानबिनको लागि पत्राचार गरेको थियो ।

सोही पत्राचार र पीडितहरुको उजुरी पश्चात् वित्तीय अनुसन्धानकर्ता निर्मल गौतमले यस सहकारीको प्रारम्भिक वित्तीय प्रतिवेदन तयार पारेका थिए । सोही वित्तीय प्रतिवेदनका आधारमा सहकारी रजिष्ट्रारको कार्यालयले व्यापक वेथिति र बचतकर्ताको रकम हिनामिना भएको तथ्य भेटेपछि थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा वित्तीय अनुसन्धान सहित कारवाहीका लागि पत्राचार गरेको थियो ।