News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज डन न्यूज खोज प्रमुख समाचार

मित्र मिलन सहकारी ठगी काण्ड : ‘कसले कति ठगे ?’

मित्र मिलन सहकारी लुट्ने प्राध्यापक, वडाध्यक्ष, वकिल र पत्रकारसम्म मिटरव्याजी धन्दामा संलग्न

पोखरा, २७ पुस । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको आर्थिक हिनामिना तथा ठगीमा संलग्न ३३ जना विरुद्ध सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेको छ । जिल्ला अदालत कास्कीमा दर्ता गरिएको मुद्दामा प्रहरी अनुसन्धानबाट सहकारी ठगीमा प्राध्यापक, वडाध्यक्ष, वकिल, टोले गुन्डादेखि पत्रकारसम्मको संलग्नता रहेको देखिएको छ ।

सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म ७ जना मात्र पक्राउ परेका छन् । सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड बिगो माग दावी गरेर मुद्दा दायर गरेको छ । यतिबेला जिल्ला अदालत कास्कीमा मुद्दा चलिरहेको छ ।
सहकारी ऐन, २०७४ (दफा १२२ र १२४) अन्तर्गत सहकारी ठगीमा पुस १२ गते सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा मुद्दा दर्ता (मुद्दा नं. ०८०–सि१–०७०२) गराएको हो । प्रहरी अनुसन्धान र सरकारी वकिलको कार्यालयले छानबिन गर्दा सहकारी ठगीमा ३३ जना विरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

यस अघि सहकारीको रकम हिनामिना गरेको अभियोगमा ६ जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ । पुस २२ गते सहकारी ठगी अभियोगमा स्याङ्जा आँधिखोला वडा नं. ४ का ३२ वर्षीय अध्यक्ष रमण पौडेल र पोखरा–२३, खोरापाखाका २८ वर्षीय प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जिल्ला अदालत कास्कीले दिएको थियो ।

मित्र मिलन सहकारी ठगीमा कारागार चलान भएका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली र पोखरा–६, बैदामका राजु बराल ।

बैकिङ कसुरमा कास्की कारगारमा नै रहेका उनिहरुलाई अदालतका न्यायधीश महेन्द्रबहादुर थापाको इजलासले गत आइतबार थुनामा राख्ने आदेश दिएको थियो । यसअघि न्यायाधीश ऋषिराम आचार्यको इजलासले पूर्वरजिष्ट्रार एवं कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । जसमा सञ्चालक समितिका सदस्य गोपाल खनाल, सहकारीका सल्लाहकार एवं शेयर सदस्य राजु बराल र बुद्धिसागर पौडेल रहेका थिए ।

सहकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेका ३३ जना व्यक्ति र ठेगाना:
१. स्याङ्जा वालिङ नगरपालिका वडा नं. ११ घर भएका पर्वत कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, सहकारी रजिष्ट्रार कार्यालय पोखराका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली (पक्राउ)
२. कास्की रुपा गाउँपालिका वडा नं. ५ घर भएका राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखराका तत्कालिन प्रबन्धक सन्तोष घिमिरे (फरार)
३. पोखरा–२१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी (नेकपा एमालेबाट निर्वाचित) (फरार)
४. लेखा समितिका पूर्वसदस्य, नेकपा एमालेका जिल्ला सदस्य, पोखरा–२१ का एमालेका वडा इञ्चार्ज, ताण्डव न्यूज डटकमका प्रधान सम्पादक र प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरी (फरार)
५. पोखरा–१, बगर घर भएका सहकारीका कानुनी सल्लाहकार एवम् नेकपा एमालेको भातृ संगठन प्रगतिशील पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) कास्कीका अध्यक्ष अधिवक्ता  जनकल्याण पराजुली (फरार)
६. स्याङ्जा स्थायी घर भई हाल पोखरा–७ बस्ने सहकारीका अध्यक्ष रमण पौडेल (पक्राउ)
७. पोखरा–५ मालेपाटन (स्थायी घाचोक) घर भएका प्रेस युनियन कास्कीका उपाध्यक्ष विजय लम्साल (फरार)
८. पोखरा–१२ बस्ने सहकारीका पूर्वअध्यक्ष, कुशुमकृष्ण आयूर्वेद फर्मा पोखराका सञ्चालक कृष्णबहादुर राउत (फरार)
९. पोखरा–८ बस्ने सहकारीका सचिव  कुशल पौडेल (फरार)
१०.पोखरा–९ बस्ने सहकारीका कोषाध्यक्ष भिमलाल पौडेल (फरार)
११.पोखरा–१२ बस्ने सञ्चालक समितिका सदस्य संगिता रेग्मी सुवेदी (फरार)
१२.पोखरा–८ बस्ने सदस्य रनिता थापा (फरार)
१३.पोखरा–११ बस्ने सहकारीका सदस्य गोपाल खनाल (पक्राउ)
१४.पोखरा–१३ बस्ने लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी (पक्राउ)
१५.पोखरा–१ बस्ने लेखा समितिका सदस्य प्रतिक लामिछाने (फरार)
१६.पोखरा–७ बस्ने लेखा समितिका सदस्य जनकराज पौडेल (फरार)
१७.पोखरा–२३ बस्ने सहकारीका पूर्वउपाध्यक्ष जिवनाथ पराजुली (फरार)
१८.पोखरा–१३ बस्ने कर्जा/बजार व्यवस्थापन प्रमुख सुजन आचार्य (फरार)
१९.पोखरा–१३ बस्ने केसरी सेवा केन्द्रका प्रमुख भुवन पौडेल (फरार)
२०.पोखरा–११ बस्ने सहकारीका प्रबन्धक किरण अधिकारी (पक्राउ)
२१.पोखरा–१७ बस्ने सहकारीका मूल्यांकनकर्ता (भ्यालुलेटर)  अभिषेक भनिने खुमानन्द काफ्ले (फरार)
२२.पोखरा–२१ बस्ने गैह्र शेयर सदस्य सुवास अधिकारी (फरार)
२३.पोखरा–२३ बस्ने सहकारीका बचतकर्ता विष्णुप्रसाद भण्डारी (फरार)
२४.स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं. १२, पेल्काचौरका गैह्रसदस्य सञ्जय पौडेल (फरार)
२५.पोखरा–२३ बस्ने एकराज पराजुली (सहकारीका कर्मचारी) (फरार)
२६.संस्थापक सचिव/पूर्वअध्यक्ष पोखरा–२१ बस्ने भरत भट्टराई (फरार)
२७.पोखरा–२३ बस्ने गैह्रसदस्य बामदेव सुवेदी (फरार)
२८.पोखरा–९ बस्ने गैरसदस्य सुरेशकुमार श्रेष्ठ (फरार)
२९.पोखरा–१४ बस्ने शेयर सदस्य हरेराम भण्डारी (फरार)
३०.पोखरा–६ बस्ने शेयर सदस्य कुमार मगर (फरार)
३१.पोखरा–६ बस्ने शेयर सदस्य राजु बराल (पक्राउ)
३२.पोखरा–१७ का शेयर सदस्य बुद्धिसागर पौडेल (पक्राउ)
३३.स्याङ्जा, चापाकोट नगरपालिका वडा नं. ४ का लालबहादुर घर्ती (फरार)

माथिका ३३ जनालाई पक्राउ पुर्जी जारी भए पनि मित्रमिलन सहकारी ठगीमा हालसम्म ७ जना मात्र पक्राउ परेका छन् । प्रहरीले सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार/शेयर सदस्य राजु बराल, सहकारीका लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी र शेयर सदस्य बुद्धिसागर पौडेललाई पक्राउ गरेको हो । बाँकी हालसम्म पनि फरार नै छन् ।

सहकारीको बचत रकम कसले कसरी कति कति ठगे ?
वित्तीय छानबिन र प्रहरी अनुसन्धानबाट देखिएका तथ्यहरु :
(१) रमण पौडेल, वर्तमान अध्यक्ष, मित्र मिलन बचत तथा ऋण सहकारी संस्था (हाल पक्राउ)
मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेलले छानबिनकर्ता र प्रहरी अनुसन्धानका क्रममा आफूले सहकारीको रकम हिनामिना गरेको, सो हिनामिना भएको रकम मिलानका लागि रामप्रसाद कार्की, प्रल्हाद पौडेल लगायतका व्यक्तिको नाममा कृतिम खाता सञ्चालन गरेको, सहकारीको सम्पत्ति हिनामिना गर्ने उद्देश्यले गैर कानुनी रुपमा लाभान्स भनि विभिन्न व्यक्तिलाई रकम निकासा गरेको, ताण्डव न्यूज र क्याफे दि गार्डेनको नाममा सहकारीबाट कर्जा प्रवाह देखाई तथा सो कर्जा चुक्ता गर्न कृतिम कारोबारको प्रयोग गरेको, ऋणि शान्ति कुमारी केसीको जग्गा हडप्न पोखरा–२१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदीसँग मिलेर सहकारीको रकम प्राप्त नहुँदै सहकारीमा रहेको धितो फुकुवा गरी कर्जा चुक्ता देखाई शान्ति केसीको जग्गा दिपकप्रसाद सुवेदीको नाममा पास गरेको र उक्त रकम सहकारीमा नआएपछि पुनिः शान्ति केसीको नाउँमा सिस्टममा नयाँ कर्जा कायम गरिदिएको स्वीकार गरेका छन् ।

कुमार मगरको जग्गा ४ करोड ३८ लाखमा दृष्टिबन्धक गर्रा ३ करोड ५० लाख कर्जा प्रदान गरेकोमा विभिन्न मितिमा सोही कुमार मगरको नाममा कृतिम कर्जा थप गरी आफूले गरेको व्यक्तिगत कारोबारको रकमलाई समेत कर्जा कायम गरी कुमार मगर, खुमानन्द काफ्ले (अभिषेक), राजु बराल र सन्तोष घिमिरे समेतको मिलेमतोमा ३ करोड २४ लाख ६५ हजार दुईसय पाँच रुपैयाँ सहित गरी जम्मा रु.६ करोड ७४ लाख ६५ हजार दुईसय पाँच रुपैयाँ रकम हिनामिना गरेको अध्यक्ष पौडेलले प्रहरी अनुसन्धानका क्रममा बताएका छन् ।

सहकारीको सेवा केन्द्र गण्डकी प्रदेश भरी विस्तार गर्नका लागि अनुमति लिने भनेर खुमानन्द काफ्ले ‘अभिषेक’ मार्फत् सञ्जय पौडेललाई भेटेर सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका तत्कालिन रजिष्ट्रार उदयबहादुर पराजुलीलाई घुस मार्फत् १ करोड २५ लाख रुपैयाँ दिएको सहकारीका अध्यक्ष पौडेलले स्वीकार गरेका छन् । कार्यक्षेत्र गण्डकी प्रदेश भरी नभईसकेपछि सो रकम मध्ये २० लाख काम भएपछि पुनः दिनेगरी सञ्जय पौडेलले आफ्नो गरिमा विकास बैंकको खातामा फिर्ता गरेको देखिनुका साथै उक्त कसुरको सम्बन्धमा स्वतन्त्र रुपमा वित्तीय विश्लेषक समक्ष खुलाई लेखाई दिएको व्यहोरा तथा अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती बयान समेतबाट देखिन आएको अभियोजन पत्रमा उल्लेख छ ।

सहकारीको पैसामा मस्ती गर्दै अध्यक्ष रमण पौडेल, अर्जुन गिरी र विजय लम्साल ।

दुई करोड भन्दा माथिको कारोबार हुने सहकारी संस्थामा सञ्चालक समितिका अध्यक्ष व्यवस्थापकको हैसियतमा काम गर्न नपाउने कानुनी व्यवस्था छ । तर मित्र मिलन सहकारीका अध्यक्ष पौडेल आफैंले युजर आईडी बनाई गैर कानुनी लाभ लिन सहकारीको सम्पत्ति तथा बचतकर्ताको रकमलाई कृतिम कर्जा देखाई पोखरा–८, न्यूरोडमा ७ आना जग्गासहितको चारतले घर, नवलपरासी बर्दघाट प्रतापपुरमा करिब ८० धुर घडेरी जग्गा, आफू तथा आफ्नो श्रीमती सौजना अधिकारी पौडेलको नाउँमा पोखरा–१८ सराङकोटमा १ रोपनी ४ आना, पोखरा–२४ कास्कीकोटमा २ रोपनी ८ आना र पोखरा–३१ बेगनासतालमा १२ रोपनी ८ आना जग्गा खरिद गरी लिएको सहकारीका अध्यक्ष पौडेलले स्वीकार गरेका छन् ।

लिलाम निस्किन लागेको न्यूरोडको घर आफ्नो नाउँमा पास गरी लिनको लागि बोलकबल गर्ने बेलामा अन्य व्यक्तिको आवेदन रोक्नका लागि गैरसेयर सदस्य लालबहादुर घर्तीलाई सहकारीमा बचत खाता खोल्न लगाई ६० लाख खातामा दाखिला गराई निकासी गरेको पनि प्रहरी अनुसन्धानका क्रममा देखिएको छ । त्यसैगरी, सहकारीका प्रेस सल्लाहकार ताण्डव न्यूज डटकमका प्रधान सम्पादक अर्जुन गिरीको नाउँमा पोखरा नयाँबजारमा रहेको घरबंगाला खाली गराउन भनि पटक–पटक गरेर ६० लाख रुपैयाँ सहकारीको रकम अर्जुन गिरीलाई दिएको अध्यक्ष पौडेलले प्रहरी अनुसन्धानमा खुलाएका छन् ।

सहकारीका अध्यक्ष रमण पौडेलसँग अर्जुन गिरी, विजय लम्साल र भरत भट्टराई ।

त्यसैगरी, २०७६ भदौं २० गते छैठौं वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्वाचित भएपछि कार्यकारी प्रमुख किरण अधिकारीलाई आफ्नो वसमा राखी उल्लेखित तवरबाट आफूले हिनामिना गरेको रकम मिलानको कारोबार गर्न रामप्रसाद कार्की लगायतका नाममा कृतिम खाता सञ्चालन गरेको, सहकारीको सम्पत्ति हिनामिना गर्ने उद्देश्यले गैरकानुनी रुपमा लाभान्स भनी विभिन्न व्यक्तिलाई रकम निकास गरेको र ताण्डव न्यूज र क्याफे दि गार्डेनको नाउँमा सहकारीबाट कर्जा प्रवाह देखाई तथा सो कर्जा चुक्ता गर्न कृतिम कारोबारको प्रयोग गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । अध्यक्ष पौडेललाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (ख), (ग), (घ), (ङ), (च), (छ), (ज), (ञ), (ट), (ठ) र (त) ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (क), (ख), (ग) र (घ५) बमोजिम अधिकतम् सजायको माग दावी गरिएको छ ।

२. पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी पोखरा हाल पर्वत कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत (हाल पक्राउ)
सहकारीको सेवा केन्द्र गण्डकी प्रदेश भित्र रहेका ११ वटा जिल्लामा विस्तार गर्नका लागि खुमानन्द काफ्ले (अभिषेक)मार्फत् सञ्जय पौडेल सम्पर्कमा आई सहकारीको गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयको तत्कालिन प्रमुख (रजिष्ट्रार) उदयबहादुर पराजुलीलाई १ करोड २५ लाख घुस रकम दिने भनि सहकारीका अध्यक्ष रमण पौडेलसँग सल्लाह बमोजिम सुवास अधिकारी, भरत भट्टराई र अभिषेक (खुमानन्द) काफ्लेले कृष्णबहादुर गुरुङबाट रकम ल्याई सहकारीको मुक्तिनाथ विकास बैंक लि.मा रहेको खातामा २०७८ मंसिर ८ गते मा जम्मा गरेका थिए । जम्मा गरेको १ करोड रुपैयाँ मध्ये सोही दिन सहकारीका कर्मचारीहरु एकराज पराजुली, किरण अधिकारी, सुदिप पौडेल, भुवन पौडेल र तारा बरालले ५९ लाख ९४ हजार रुपैयाँ तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडले संस्थालाई १० लाख भन्दा माथिको रकम पनि उपलब्ध गराउने भएकोले सहकारीको कर्मचारी र राष्ट्रिय सहकारी बैंकको नाउँमा रकम जम्मा गरी २०७८ मंसिर ९ गते ४० लाख रुपैयाँ निकाली कार्यालयको भल्टमा रहेको २५ लाख ६ हजार रुपैयाँ मिसाएर एकमुष्ठ रकम १ करोड २५ लाख रुपैयाँ सोही दिन झोलामा राखी खुमानन्द काफ्ले (अभिषेक)सँगैं लेकसाईडमा रहेको एक होटलको कोठामा गई उक्त रकम सहकारीका अध्यक्ष रमण पौडेलले सञ्जय पौडेललाई नगर्दै बुझाएको वित्तीय विश्लेषकको राय प्रतिवेदनमा उल्लेख भएकोमा वित्तीय विश्लेषकसँग स्वतन्त्र बयानको क्रममा अध्यक्ष रमण पौडेल, उपाध्यक्ष विजय लम्साल र अभिषेक भन्ने खुमानन्द काफ्लेले खुलाई लेखाई दिएको कागजबाट देखिएकोमा सोही व्यहोरालाई प्रहरी अनुसन्धानका क्रममा अध्यक्ष पौडेल र प्रबन्धक किरण अधिकारीले बयानका क्रममा खुलाएका थिए ।

जिल्ला अदालत कास्कीको प्राङ्गणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली, सहकारीका संचालक समिति सदस्य गोपाल खनाल, सहकारीका शेयर सदस्य बुद्धिसागर पौडेल र सहकारीका सल्लाहकार राजु बराल ।

सञ्जय पौडेल मार्फत् सो रकम रजिष्ट्रार उदयबहादुर पराजुलीले कार्यक्षेत्र विस्तार गरिदिने सर्तमा लिएको कुरा मिसिल संलग्न रमण पौडेल र खुमानन्द (अभिषेक) काफ्ले, सञ्जय पौडेल र पत्रकार अर्जुन गिरी बिचको कुराकानीको स्क्रिन सर्ट, रमण पौडेलले पेश गरेको सञ्जय पौडेलसँग गरेको फोन वार्तालाप समेतबाट पुष्टि हुन पुगेको थियो । कार्यक्षेत्र विस्तार पोखरा महानगरपालिका र स्याङ्जाको आधिखोला गाउँपालिकामा मात्र स्वीकृत भएपछि सञ्जय पौडेलले उदयबहादुर पराजुली (चन्दने)को सरुवा भएको छ, मन्त्रीस्तरमा कुरा गरेर केही दिनको लागि रवाना रोकेर भएपनि कार्यक्षेत्र पुरै विस्तार गराउँछौं, नत्र पैसा दिएको प्रमाण हामीसँग छ, यसै कहाँ छाड्छौं भनि सञ्जय पौडेलले सहकारीको अध्यक्ष रमण, उपाध्यक्ष विजय र प्रेस सल्लाहकार अर्जुनसँग कुरा गरेको तथ्य समेत प्रहरी अनुसन्धानका क्रममा फेला परेको थियो । तत्कालै काम फत्ते नभएको र सहकारीलाई समस्या परेको कारण काम भएपछि दिने गरी सञ्जय पौडेलले रमण पौडेललाई २० लाख बैंक मार्फत् फिर्ता गरेपनि सहकारी सम्पत्ति तथा बचतकर्ताको बचत रकमबाट नै १ करोड ५ लाख रुपैयाँ घुस वापत रजिष्ट्रार उदयबहादुर पराजुलीलाई दिएको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पूर्वरजिष्ट्रार पराजुलीलाई सहकारीको ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (घ४) बमोजिम अधिकतम सजायको माग दावी गरिएको छ । साथै पूर्वरजिष्ट्रार पराजुली नेपाल सरकारको उपसचिव पदमा रहेर पर्वत जिल्लाको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेको र उनले मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लि.को सम्पत्ति तथा बचतकर्ताको बचत रकम हिनामिना गरी गण्डकी प्रदेशका सबै जिल्लाहरुमा कारोबार गर्न मिल्ने गरी कार्यक्षेत्र थप गरिदिने भन्दैं १ करोड ५ लाख रुपैयाँ घुस लिएको वापत भ्रष्टाचार निवारण ऐन, २०५९ तथा सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम सम्बन्धित निकायबाट थप अनुसन्धान एवं कारवाहीको लागि माग गरिएको छ ।

(३) दिपकप्रसाद सुवेदी, पोखरा–२१ का वडाध्यक्ष (हाल फरार)
सहकारीको सम्पत्ति, बचतकर्ताको बचत रकम तथा ऋणी धितो सुरक्षण लगायत हिनामिना गरी गैरकानुनी सम्पत्ति आर्जन गर्न सहकारीमा बचत खाता खोली सहकारी तथा सहकारीका पदाधिकारीहरुलाई मिटरव्याजमा रकम दिने कार्य गरी २०७८ असोज १८ गते ५० लाख, २०७८ चैत २२ मा २० लाख, २०७९ साउन १ गते ९ लाख ५० हजार गरी ७९ लाख ५० हजार लिएको तथा नेपाल राष्ट्र बैंकबाट जारी कारोबारको सिमा पालना नगरी शंकास्पद कारोबारमा संलग्न रहेको, सहकारीकी ऋणी शान्तिकुमारी केसीको सहकारीमा धितो राखिएको माडी ५ चितवनको कि.नं.६८, ८१९, ८२०, ८२१ र ८२२ को जग्गा प्रलोभनमा पारी र सहकारीको सम्पत्ति तथा बचतकर्ताको बचत रकम दुरुपयोग गरी अध्यक्ष रमण पौडेल तथा उनकी श्रीमतीको नाउँमा लिखित पारित गरिएका पोखरा–१८, सराङकोटमा रहेको कित्ता नम्बर ७७६ र पोखरा–२४ कास्कीकोटमा रहेको कित्ता नम्बर १३७८ र २२७९ को जग्गा कुनै पनि रकम नदिईकन आफ्नो नाउँमा रजिष्ट्रेशन पास गरेर लिएको, रकम दिएका प्रमाण सम्बन्धमा सुवास अधिकारी, रमण पौडेले शान्तिकुमारी केसी र स्वयम् दिपकप्रसाद सुवेदीले वित्तिय विश्लेषक समक्ष खुलाएका थिए ।

मिटरव्याजी कारोबारमा संलग्न भई सहकारी ठगीमा फरार पोखरा–२१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी ।

जसमा सुवेदीले तेस्रो पक्षको कारोबार मिलान गर्न रकम भुक्तानी गरेको भनी दावी पेश गरे पनि कुनै पनि रकम भुक्ता गरेको प्रमाण देखाउन सकेनन् । यस समबन्धमा सहकारीका अध्यक्ष रमण पौडेलले प्रहरी समक्ष बयान दिदाँ दिपकप्रसाद सुवेदीले सहकारीलाई मिटरव्याजीमा रकम चलाउने गरेकोमा सहकारीमा चरम तरलता आएको कारण सुवेदीसँग कुरा हुँदा उनले १ वर्षको लागि २ करोड ५० लाख सहकारीलाई ऋण दिन राजी भई सेक्युरिटीको लागि आफ्नो कास्कीकोट र सराङकोटमा रहेको ३ कित्ता जग्गा तथा ऋणी शान्तिकुमारी केसीको माडी चितवनमा रहेको ५ कित्ता जग्गा नामसारी गरी पास गरेर लिने, सोही रकमबाट शान्ति कुमारी केसीको ऋण रकम ९१ लख भुक्ता गरी उनलाई पनि काम चलाउनका लागि १० लाख रुपैयाँ दिने र बाँकी १ करोड ४९ लाख सहकारीले चलाउने भनेकोमा उक्त जग्गाहरु आफ्नो नाममा रजिष्ट्रेशन पास गरेपछि वडाध्यक्ष सुवेदीले कुनै पनि रकम नदिएको तथा सहकारीबाट सट्टा चलाउन भनि लिएको रकम ५९ लाख ५० हजार समेत फिर्ता नदिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

वडाध्यक्ष सुवेदीले सहकारीको सम्पत्ति तथा बचतकर्ताको रकम हिनामिना गर्ने र ऋणीको जग्गा हडपेर आफ्नो नाममा पास गराउने समेतको कार्य गरेको तथ्य प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । प्रहरी अनुसन्धानका क्रममा वडाध्यक्ष सुवेदीले गोलमोटल हुने गरी जग्गाको परल मूल्य भन्दा कम मूल्यको हिसाब कारोबार देखाई उल्लेखित कित्ताको जग्गाहरु लिने र सौजना अधिकारी पौडेलको नामको बेगनासमा रहेको जग्गा समेत रोक्का राख्ने जस्ता गैर कानुनी कार्य गरेको अनुसन्धानका क्रममा देखिएको छ ।

सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा वडाध्यक्ष सुवेदीलाई ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (घ४) बमोजिम अधिकतम सजायको माग । त्यसैगरी प्रतिवादी दिपकप्रसाद सुवेदी २०७९ वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचन उमेद्धवारी दिएर पोखरा महानगरपालिका वडा नं. २१ कास्कीबाट निर्वाचित वडा अध्यक्ष रहेको मिसिल संलग्न कागजातहरुबाट देखिएको र वडा अध्यक्ष निर्वाचित भई कार्यभार समालिरहेको अवस्थामा कानुन विपरित प्रस्तुत कसुरमा निज दिपकप्रसाद सुवेदीको संलग्न रहेको देखिँदा सो सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम हुन समेत अनुरोध गरिएको छ । साथै प्रतिवादी दिपकप्रसाद सुवेदी निर्वाचित जनप्रतिनिधि (वडाअध्यक्ष) भएको हुँदा निजको सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ तथा सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम सम्बन्धित निकायबाट थप अनुसन्धान एवं कारवाही गर्नको लागि पठाउने व्यवस्था समेत अनुरोध गरिएको छ ।

(४) भरत भट्टराई, सहकारीका पूर्वसचिव, पूर्वव्यवस्थापक तथा पूर्व अध्यक्ष
२०७१ चैत १६ गतेको विशेष साधारण सभाबाट सहकारीको सचिव सहित व्यवस्थापकको जिम्मेवारीमा रही प्रत्यक्ष रुपमा सहकारीको कारोबारमा संलग्न हुने क्रममा आफ्नै बहिनी रञ्जना भट्टराईको नाउँमा खाता खोली आफैंले आर्थिक कारोबार गरेको, आफ्नो मामा घरको हजुरबुबा हुमनाथ अधिकारी र आफन्त रुमबहादुर ठकुरी लगायतको नाउँमा किर्ते कर्जा प्रवाह गर्न आफू अध्यक्ष बनेको किर्ते निर्णय पुस्तिका तयार गरी राष्ट्रिय सहकारी बैंक लिमिटेडबाट विभिन्न मितिमा ४ करोड १३ लाख कर्जा लिएपछि उक्त गैरकानुनी कार्यलाई सदर गर्न २०७३ पुस २६ गतेको साधारणसभाबाट नियुक्त भएका अध्यक्ष कृष्णबहादुर राउतलाई दवावमा पारी राजिनामा दिन बाध्य बनाएका थिए । उनले सो कर्जा लिएको मिति भन्दा अगाडि नै साधारण सभाबाट आफू अध्यक्ष बनेको निर्णय पुस्तिका तयार गर्न लगाई २०७५ असोज २६ गते आफू अध्यक्ष बनेको, सहकारीको रकम हिनामिना गरी आफ्नो नाउँमा पोखरा–१७, विरौटामा ५ आना घडेरी जग्गा पास गरेर लिएका थिए ।

भरत भट्टराई, सहकारी ठगी मुद्दामा फरार ।

आफू पदमा रहँदा वा नरहँदा पनि सहकारीको तत्कालिन सञ्चालक समितिका पदाधिकारी र कर्मचारीलाई दवावमा पारी हालसम्म पनि सहकारीको तलरतालाई सहज बनाउने भनि आफू तथा विभिन्न मिटरव्याजीहरुसँग समन्वय गरी चर्को व्याजमा सहकारीमा रकम उपलब्ध गराई सो वापत गैरकानुनी लाभ लिई सहकारीमा कृतिम कर्जा तथा कारोबार देखाउने काम भट्टराईले गर्दै आईरहेका थिए । उनले सहकारीको ३ करोड ६० लाख ७८ हजार रुपैयाँ सहकारीको सम्पत्ति तथा बचतकर्ताको बचत हिनामिना गरेको स्पष्ट रुपमा छानबिन र अनुसन्धानबाट देखिएको छ ।
भट्टराईलाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (ख), (ग), (घ), (ङ), (च), (ज) र (त) ले परिभाषित कसुरमा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (क), (ग), (घ ४) बमोजिमको अधिकतम सजायको माग गर्दै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ ।

(५) अर्जुन गिरी, लेखा समितिका पूर्वसदस्य, नेकपा एमालेका जिल्ला सदस्य, पोखरा–२१ का एमालेका वडा इञ्चार्ज, ताण्डव न्यूज डटकमका प्रधान सम्पादक र प्रेस चौतारी कास्कीका अध्यक्ष
सहकारीमा ताण्डव न्यूजको नाममा बचत तथा ऋण खाता सञ्चालन गरी कारोबार गर्दै आईरहेकोमा २०७६ असोज २६ गतेको पाँचौं विशेष साधारण सभाबाट लेखा समिति सदस्यको पदमा निर्वाचित भएपछि प्रेस सल्लाहकारको समेत जिम्मेवारी अर्जुन गिरीले लिएका थिए । सोही क्रममा गिरी र विजय लम्सालको स्वामित्वमा रहेको क्याफे दि गार्डेनले लिएको कर्जा चुक्ता गर्न २०७७ चैत ५ गते ३६ लाख २५ हजार ५ सय १५ रुपैयाँ र विभिन्न मितिमा ४ लाख ६९ हजार ४ सय ५० प्रल्हाद पौडेल, रमण पौडेल र प्राइम बचत तथा ऋण सहकारी संस्थाको नाममा उक्त सहकारीमा भएको बैंक खातामा रकमान्तर गरी लिएको देखिएको छ । गिरीको नाममा सहकारीमा रहेको बचत खातामा खर्च शिर्षक तथा प्रल्हाद पौडेल नामको खाताबाट २० लाख ७३ हजार २ सय ८५ रुपैयाँ लिएको, ताण्डव न्यूजको नाममा लिएको कर्जा २२ लाख, ९ हजार ९ सय ४६ र विभिन्न मितिमा रमण पौडेल, जमुना तामाङ अन्य आम्दानी, मित्र मिलन कृषि सहकारी जस्ता कृतिम खाताहरु समेतबाट ४३ लाख ७४ हजार ५४ रुपैयाँ गरी कुल ६५ लाख ८३ हजार ९ सय ९२ रुपैयाँ ताण्डव न्यूजका नाममा विभिन्न खातामा रकमान्तर गरी लिएको देखिएको छ ।

सहकारीको पैसामा मस्ती गर्दै अध्यक्ष रमण पौडेल, अर्जुन गिरी र विजय लम्साल ।

साथै, ताण्डव न्यूजका प्रधान सम्पादक गिरीले क्याफे दि गार्डेनलाई पुर्नसंरचना गरी सटरहरु बनाउने भनि अभिषेक भन्ने खुमानन्द काफ्ले र हरेराम भण्डारीको मिलेमतोमा सहकारीको रकम हिनामिना गरेको देखिएको छ । सहकारीका अध्यक्ष रमण पौडेल, उपाध्यक्ष विजय लम्साल, जनकल्याण पराजुली र सम्पादक गिरीको मिलेमतोमा सहकारीको सम्पत्ति तथा बचतकर्ताको बचत रकम हिनामिना गरी जनकल्याण पराजुलीले आफ्नो पत्नीको नाममा लिएको पोखरा–९, नयाँबजारमा रहेको कित्ता नं. २५ मा भएको घरजग्गा उपाध्यक्ष विजय लम्सालको नाममा लिखित पारित गरेको साथै उक्त घरका पहिलाका घरबेटी अशोक थापाको परिवारले घर खाली गर्न नमानेपछि आफू पत्रकार भएको र सो घर खाली गराउन आफ्नो केही केटा (टोले गुन्डा)हरु लगायत अन्य निकायमा मेरो चल्छ मेरो नाममा घर पास गरौं भनि सहकारीको पैसा प्रयोग गरेर घर खाली गराएपछि घर बेचेर सहकारीको व्यवहार मिलाउने भन्दैं घर हडप्ने काम सम्पादक गिरीले गरेका थिए ।

क्याफे दि गार्डेनको शुभारम्भ गर्दा आयोजित पत्रकार सम्मेलनको तस्विर । यो रेष्टुरेण्टमा सहकारीको लाखौं रुपैयाँ हिनामिना गरिएको छ ।

घर खाली गराएपछि घर बेचेर सहकारीको व्यवहार मिलाउने भन्दै २०७८ माघ २३ गते गिरीले पास गरी लिएका थिए । घर खाली गराउने प्रयोजनका लागि पटक–पटक गरी गिरीले ५० लाख रुपैयाँ लिई हिनामिना गरेको सहकारीका अध्यक्ष रमण पौडेलले स्वतन्त्र रुपमा वित्तीय विश्लेषक समक्ष कागज गर्दा र अधिकार प्राप्त अधिकारी समक्ष बयान दिदाँ खुलाएका थिए । उक्त कुरा गिरीले पनि वित्तीय विश्लेषकले स्वतन्त्रपूर्वक सोधपुछ गर्दा उल्लेखित कार्यको सम्बन्धमा केही साविति रहे भएको देखिदाँ गिरीका विरुद्धमा सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (ख) र (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (ग), (घ, ४) बमोजिम अधिकतम सजायको माग दावी लिइएको छ ।

ताण्डव न्यूज, जसको स्थापनाकालदेखि आजसम्म भएका सम्पूर्ण आर्थिक खर्चहरु सबै सहकारीको खाताबाट बेहिसाब हिनामिना गरिएको थियो । यिनैं ताण्डव न्यूजका सञ्चालक गिरी यतिबेला सहकारी ठगी मुद्दामा फरार छन् ।

(६) विजय लम्साल, सहकारी तथा प्रेस युनियन कास्कीका उपाध्यक्ष
अर्जुन गिरीले सञ्चालन गरेको ताण्डव न्यूजमा वरिष्ठ संवाददाताको रुपमा काम गर्ने क्रममा विजय लम्साल सहकारीमा जोडिई २०७५ असोज २६ गतेको पाँचौं विशेष साधारण सभाबाट लेखा समिति संयोजकको रुपमा जिम्मेवारी लिएदेखि २०७६ भदौं २० गते को छैटौं वार्षिक साधारण सभाबाट उपाध्यक्ष पदमा निर्वाचित भई हालसम्म सोही पदमा रही काम गर्दै आईरहेका थिए । २०७८ माघ २३ गते कृतिम जग्गा तथा भवन शिर्षकबाट २ करोड ८३ लाख अर्जुन गिरीको खाता हुँदैं विजय लम्सालको खातामा रकम दाखिला गरिएकोमा लम्सालले २०७७ फागुन १७ गते जनकल्याण पराजुलीकी श्रीमती कमला बास्तोला पराजुलीको नाममा पोखरा–९, नयाँबजारमा रहेको कित्ता नं. २५ को घरजग्गा लिखित पास गरी लिदाँको बखत सहकारीबाट लम्सालको नाममा लगानी भएको कर्जा रु. २ करोड ३० लाख रुपैयाँ साँवा व्याज भुक्ता गर्न प्रयोग गरिएको भेटिएको छ । लम्सालले आफ्नो तथा श्रीमतीको नाममा सहकारीमा रहेको बचत खातामा रामप्रसाद कार्की, प्रल्हाद पौडेल र रमण पौडेलको खाताबाट १० लाख ८९ हजार ६ सय रुपैयाँ रकमान्तर गरी हिनामिना गरेको अनुसन्धानका क्रममा भेटिएको छ ।
साथै लम्साल र अर्जुन गिरीको स्वामित्वमा रहेको क्याफे दि गार्डेनले लिएको कर्जा चुक्ता गर्न २०७७ चैत ५ गते ३६ लाख २५ हजार ५ सय १५ रुपैयाँ र विभिन्न मितिमा ४ लाख ६९ हजार ४ सय ५० प्रल्हाद पौडेल, रमण पौडेल र प्राइम बचत तथा ऋण सहकारी संस्था लि.को नाममा उक्त सहकारीमा भएको बैंक खातामा रकामान्तर गरी लिएको अनुसन्धानका क्रममा खुलेको छ ।

ऋणी चन्द्रबहादुर विकको नाममा २०७८ साउन २६ गते १७ लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सोही मितिमा नै ऋणी चन्द्रबहादुर विकबाट स्याङ्जा जिल्ला साविकको टक्सार गाविस वडा नं. १ मा रहेको कित्ता नं. ४ को जग्गा आफ्नो नाममा राजिनामा पास गराई लम्सालले लिएका थिए । सो कर्जा हालसम्म भुक्तानी गर्न बाँकी रहेको र २०७८ चैत २९ गतेसम्म २६ लाख कर्जा लिदाँको बखतमा कर्जा प्रक्रिया पुरा नगरी दृष्टिबन्धक रोक्का गरेर मात्र उक्त रकम लिएको, उल्लेखित कसुरको सम्बन्धमा वित्तीय विश्लेषक समक्ष लम्सालले आफ्नो कसुर स्वीकार गरेका थिए ।

सहकारी एवं प्रेस युनियन कास्कीका उपाध्यक्ष एवम् ताण्डव न्यूज डटकमका वरिष्ठ संवाददाता विजय लम्साल । लम्साल यतिबेला सहकारी ठगी मुद्दामा फरार छन् ।

सहकारीका उपाध्यक्ष लम्साललाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (ख), (ग), (घ), (ङ), (च), (ञ) र (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (क), (ग), (घ ५) बमोजिम अधिकतम सजायको मागदावी गरिएको छ ।

(७) सन्तोष घिमिरे, राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखराका तत्कालिन प्रबन्धक
मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले भरत भट्टराई अध्यक्ष हुँदाको बखत लिएको ४ करोड १३ लाख र सहकारीका अध्यक्ष रमण पौडेलले आफू अध्यक्ष हुँदाको बखत लिएको ४ करोड ३८ लाख ऋण लिए वापत राष्ट्रिय सहकारी बैंक लि.का तत्कालिन प्रबन्धक सन्तोष घिमिरेले करिब ४० लाख कमिसन वापत शान्ति केसीको नामको चेकबाट र कर्मचारी एकराज पराजुलीबाट लिएको बयान वित्तीय विश्लेषकको राय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राष्ट्रिय सहकारी बैंक लि.बाट २०७६ साउन १७ गते ऋण (लोन) पास भई कर्जा प्रवाह गर्दाको वखतमा २०७६ साउन १७ गते कैं दिन तत्कालिन प्रबन्धक घिमिरेले शान्ति कुमारी केसीको नाउँका एउटा ७ लाख ५० हजार को चेक १ थान र मिति २०७६ साउन २० गतेका दिन ९ लाख ९९ हजारको अर्को चेक काट्न लगाई उक्त दुवै चेकको रकम बैंकबाट सटही गरी लिएका थिए ।

सन्तोष घिमिरे, राष्ट्रिय सहकारी बैंक लि. पोखराका तत्कालिन प्रबन्धक  । घिमिरे यतिबेला सहकारी ठगी मुद्दामा फरार छन् ।

उक्त बैंकले २०७७ फागुन २६ गतेका दिन ४ करोड ३८ लाख लोन पास गरी कर्जा प्रवाह गर्दाको बखत २०७७ चैत १ गते सहकारीका कर्मचारी एकराज पराजुलीको नाउँमा चेक लेखि भुक्तानी लिएको २० लाख रकम मध्येबाट ६ लाख ७६ हजार कर्मचारी मार्फत् सन्तोष घिमिरेलाई सोही दिन बुझाएका थिए ।

त्यसैगरी २०७७ चैत २ गतेका दिन तत्कालिन प्रबन्धक घिमिरे घिमिरेको नाउँमा चेक लेखी १४ लाख ८४ हजार उक्त बैंकमा रहेको सहकारीको बचत खाताबाट भुक्तानी लिएको राष्ट्रिय सहकारी बैंक लिको पत्रसाथ प्राप्त बैंक स्टेटमेण्ट विवरणबाट देखिएकोमा सो रकमको सम्बन्धमा सहकारीका अध्यक्ष पौडेलसँग थप बयान गर्दा राष्ट्रिय सहकारी बैंकबाट उल्लेखित मितिहरुमा सहकारीको नाउँमा कर्जा प्रवाह भएको थियो ।

उक्त बैंकका तत्कालिन प्रबन्धक घिमिरेले कमिसन वापत आफ्नै नाममा १४ लाख ८४ हजार, शान्ति कुमारी केसीको २ वटा चेकमार्फत् १७ लाख ४९ हजार तथा कर्मचारी एकराज पराजुलीले भुक्तानी लिएको रकम २५ लाख मध्येबाट ६ लाख ७६ हजार नगद गरी ४० लाख रुपैयाँ कमिसन भनी घुस वापत लिएको सप्रमाण पुष्टि हुन आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । तत्कालिन प्रबन्धक घिमिरेलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा दफा १२४ को उपदफा (१) को खण्ड (घ२) बमोजिम अधिकतम समाजको माग दावी गरिएको छ ।

(८) जनकल्याण पराजुली, सहकारीका कानुनी सल्लाहकार
सहकारीमा अर्जुन गिरी र विजय लम्साल मार्फत् जोडिई मासिक ६ हजारका दरले कानुनी परामर्श अधिकृतको रुपमा जिम्मेवारी लिई सहकारीको हक, हित र सम्पत्ति एवम् बचतकर्ताको बचत रकम सुरक्षणमको लागि कानुनी दायित्व निर्वाह गर्नुको साटो चर्को मिटर व्याजमा रकम लगाएर जबरजस्ती रुपमा आफ्नो श्रीमती कमला पराजुलीको नाउँमा लिएको नयाँबजारमा घर धितो राखी ऋण लिने भनि २०७७ फागुन ११ गतेमा उक्त घर उपाध्यक्ष विजय लम्सालको नाउँमा लिखत तयार पारेर पास गराई सोही दिन उक्त घर सहकारीबाट धितो राखी विजय लम्सालको नाउँमा सहकारीबाट २ करोड ५० लाख ऋण स्वीकृत भएपछि उक्त रकम सिधैं जनकल्याण पराजुलीको सहकारीमा रहेको खातामा सिधैं ट्रान्सफर गराएर लिएको र उक्त ऋण (लोन) रकमको किस्ता तिर्नुपर्ने दायित्व पराजुलीको भएपनि रकम तिरेको कुनै प्रमाण वित्तीय र प्रहरी अनुसन्धानका क्रममा भेटिएन ।

अधिवक्ता जनकल्याण पराजुली र श्रीमती कमला पराजुली, जसले मिटरव्याजीमा अशोक थापाको घर हडपेका थिए । पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन पनि गर्ने जनकल्याण सहकारी ठगी मुद्दामा यतिबेला फरार छन् ।

अधिवक्ता पराजुलीले वित्तीय विश्लेषकसँग स्वतन्त्र रुपमा बयान दिदाँ आफूले श्रीमतीको नाउँको घर सहकारीको उपाध्यक्ष बिजय लम्साललाई २ करोड ३५ लाखमा बेचेको हुँ भनेता पनि घर खरिदबिक्री गर्दा तयार भएको लिखितमा मात्र ९९ लाख रुपैयाँ रकम राखेर पास गराएको देखिँदा पराजुलीले १ करोड ३६ लाख सिधैं सहकारीको रकम हिनामिना गरेको उनकै बयानबाट पुष्टि भएको अभियोजनपत्रमा उल्लेख छ ।

सहकारीका अध्यक्ष रमण पौडेल समेतको बयानका क्रममा जनकल्याण पराजुलीले हामीहरुसँग भएको सहमति अनुसार बिजय लम्सालको नाउँमा सहकारीबाट प्रवाह भएको ऋण २ करोड ३५ लाख तिरेका छैनन् भनि स्पष्ट रुपमा खुलाई लेखाई दिएबाट पनि पराजुलीले समेत संलग्नतामा सहकारीको सम्पत्ति हिनामिना एवम् बचतकर्ताको रकम अपचलन गर्ने कार्यमा पूर्ण संलग्नता देखिएको बित्तीय र प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पराजुलीलाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१)को खण्ड (घ४) बमोजिम अधिकतम सजायको मागदावी सरकारी वकिलको कार्यालय कास्कीले गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

(९) अभिषेक भनिने खुमानन्द काफ्ले, सहकारीका मूल्यांकनकर्ता (भ्यालुलेटर)
सहकारीको धितो मूल्यांकनकर्ताको रुपमा कार्यरत अभिषेक भनिने खुमानन्द काफ्लेले सञ्जय पौडेलसँग मिलेर सहकारीको कार्यक्षेत्र थप गर्नका लागि रजिष्ट्रारलाई दिनुपर्दछ भनि १ करोड २५ लाख रुपैयाँ लगेको वित्तीय तथा प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । साथै सोही क्रममा काफ्लेको समूहले केही समयपछि २० लाख फिर्ता गरेका थिए । बाँकी १ करोड ५ लाख रुपैयाँ पूर्वरजिष्ट्रार उदयबहादुर पराजुलीलाई दिने भनेर लगेका थिए ।

अभिषेक भनिने खुमानन्द काफ्ले, सहकारी ठगीमा फरार

सहकारीमा काम गर्ने क्रममा कुमार मगरलाई राष्ट्रिय सहकारी बैंकमा जग्गा धितो राखि सहकारीबाट ऋण प्रवाह गर्दाको क्रममा कमिसन वापत भनि १० लाख रुपैयाँ भ्यालुलेटर अभिषेक काफ्ले लिएको बित्तीय तथा प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । काफ्लेले ग१६प २६२३ नम्बरको स्कुटर सहकारीको सम्पत्ति तथा बचतकर्ताको रकम दुरुपयोग गरेर खरिद गरी रकम फिर्ता नगरी धितो मूल्यांकन गर्दाको कमिसन भनि सञ्चालक समितिका पदाधिकारीलाई दवावमा पारी सहकारीको इनकम श्रोतबाट चुक्ता गराएका थिए ।

क्याफे दि गार्डेनलाई सटर राखी मार्केट बनाउने क्रममा र पुम्दीभुम्दीमा सेवा केन्द्रको डेकुरेशन गर्ने भनि हरेराम भण्डारीसँग मिलेर सहकारीबाट ३७ लाख रुपैयाँ लगेर काम अलपत्र छाडेको, प्रल्हाल पौडेल, रमण पौडेल र अन्य कार्यालय आम्दानी एवम् सेवा शुल्क जस्ता खाताहरुबाट पटक–पटक गरी सहकारीबाट काफ्लेको खातामा ३८ लाख ४९ हजार २ सय ४५ रुपैयाँ रकामान्तर सहित भुक्तानी लिएको वित्तीय राय प्रतिवेदन र प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । काफ्लेले सहकारीका अध्यक्ष पौडेललाई प्रलोभनमा पारी सहकारीको सम्पत्ति हिनामिनामा प्रत्यक्ष संलग्न रही गैर कानुनी लाभ लिएको अनुसन्धानका क्रममा खुलेको थियो ।

उनलाई सहकारीको ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (घक) बमोजिम अधिकतम सजायको माग गर्दै सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा अभियोजन दर्ता गराएको छ ।

(१०) किरण अधिकारी, सहकारीका प्रबन्धक
सहकारीका प्रबन्धक किरण अधिकारीलाई सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा बुझाएको अभियोजनपत्रमा २०७३ कार्तिक महिनादेखि सहकारीको सहायक कार्यकारी प्रमुखको जिम्मेवारीमा काम गर्दै आएकोमा २०७६ सालदेखि हालसम्म पूर्ण रुपमा कार्यकारी प्रमुख (प्रबन्धक)को भूमिकामा रहेको, अध्यक्ष रमण पौडेलसँग मिलेर विभिन्न कृतिम कारोबारमा संलग्न भएको भन्दैं मुद्दा दायर गरेको छ ।

सहकारीका प्रबन्धक किरण अधिकारी र साथमा अध्यक्ष रमण पौडेल (सहकारी ठगीमा दुवैजना पुर्पक्षका लागि कारागार चलान)

प्रबन्धक अधिकारीले आफ्नो बहिनी सिर्जना अधिकारीको नाउँबाट कारोबार गरी बचतकर्ता तथा सहकारीको सम्पत्ति अपचलन गरेको, कारोबारको जिम्मेवारी कार्यकारी प्रमुखकोमा रहनेमा आफ्नै युजर आईडी प्रयोग गरी शंकास्पद कारोबारबाट आर्जित रकम निकासी गर्ने गरेको, रमण पौडेलसँग मिलेर रामप्रकाश कार्कीको नाउँमा कृतिम बचत खाता खोली रकम हिनामिना गरेको, सहकारीको सम्पत्ति तथा बचतकर्ताको रकम दुरुपयोग गरी आफ्नो नाउँमा अचल सम्पत्ति (घरेड जग्गा) किनी घर बनाई बिक्री गरेर आफूलाई फाईदा हुने काम गरेको, खातामा रकम नभएको जानी जानी चेकमा हस्ताक्षर गरेर विभिन्न व्यक्तिहरुलाई चेक प्रदान गर्ने गरेको, सञ्चालक समिति लगायत विभिन्न प्रतिवादीहरुले सहकारीलाई आफ्नो पहुँचमा राखी गैरकानुनी कार्य गर्दा सो कार्यलाई नियन्त्रण गर्नुको अलवा स्वयं संलग्न रही उक्त कार्य गर्न प्रोत्साहित गर्ने गरेको, विभिन्न मिटर व्याजमा रकम ठगी गर्ने तथा रकम भुक्तानी गर्ने कार्यमा संलग्न रहेर संस्था तथा बचतकर्तालाई हानी नोक्सानी र आफूलाई फाईदा हुने कार्य गरेको वित्तीय र प्रहरी अनुसन्धानका क्रममा खुलेको सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा दर्ता गरेको अभियोजन पत्रमा उल्लेख छ ।

(११) विष्णुप्रसाद भण्डारी, बचतकर्ता
सहकारीको प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीमार्फत् बचतकर्ता बनेर सहकारीमा जोडिई चर्को मिटर व्याजमा सहकारीका अध्यक्ष, सञ्चालक र सहकारीलाई आफ्नो खातामा बचत देखाई बचतकर्ता विष्णुप्रसाद भण्डारीले रकम लिने गरेको वित्तीय र प्रहरी अनुन्धानका क्रममा खुलेको सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा दायर गरेको अभियोजन पत्रमा लेखिएको छ ।

विष्णुप्रसाद भण्डारी, सहकारी ठगी मुद्दामा फरार ।

सो कार्यवापत विभिन्न कर्मचारीहरुको नाउँबाट नगद दाखिला गर्न लगाई चर्को मिटर व्याज रकम असुल्ने गरी कारोबारमा संलग्न रहेको, नेपाल राष्ट्रबैंकबाट जारी नगद कारोबारको सिमाको पालना नगरी एकै दिनमा पटक–पटक १० लाख भन्दा माथि शंकास्पद कारोबार गर्ने गरेको, कार्यकारी प्रमुख अधिकारीसँगको व्यक्तिगत लेनदेनका कारोबारलाई सहकारीमा जोडी मिटर ब्याजसहितको रकम भुक्तानी लिने गरेको, विभिन्न मितिमा कनेक्ट आईपिएस मार्फत् व्यक्तिगत रुपमा शंकास्पद कारोबारलाई सहकारीको रेकर्डमा देखाउने र मिटरव्याज जस्ता कारोबारलाई रेकर्ड छली गर्न पासबुकमा रकम उल्लेखित गर्न लगाई अनुचित लाभ लिने जस्तो कार्य गरी १ करोड ५१ लख १६ हजार १ सय ८४ रुपैयाँको कारोबार गरेको भण्डारीको स्टेटमेण्टबाट खुली आएको भनि अभियोजन पत्रमा उल्लेख छ ।

साथै वित्तीय विश्लेषक र अधिकार प्राप्त अधिकारी समक्ष बयान दिदाँ समेत भण्डारीले सहकारीलाई चर्को ब्याजमा रकम दिने गरेको, कहिले कसो सहकारीबाट कुनै रेकर्ड नगरिकन दवावमा पारेर २/४ दिनको लागि भनि लाखौं रकम लैजाने र समयमा नै सहकारीमा फिर्ता नगर्ने गरेकोमा पछिल्लो पटक सहकारीबाट लगेको २१ लख रुपैयाँ फिर्ता गरेको छैन भनि सहकारीका अध्यक्ष रमण पौडेल र सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले बयानसहित अभियोजन पत्रमा खुलाइएको छ ।

यता, आरोपित विष्णुप्रसाद भण्डारीले वित्तीय अनुसन्धानका क्रममा बयान दिदाँ उक्त रकम मेरो खाताबाट निकासी गरिएको कृतिम खाताबाट राखिएको २० लाख सम्बन्धमा सो कारोबार आफ्नो नभएको तर प्रमुख कार्यकारी अधिकृत किरणले फोन गरी भूलवश हजुरको खातामा रकम दाखिला हुन गएकोले सो रकम निकासी गरिदिन अनुरोध गरेपछि सोही बमोजिम अधिकारीलाई चेक दिएको भनी लिखित बयान दिएको अभियोजन पत्रमा उल्लेख छ । भण्डारीको खातामा कुमार मगरको नामको कृतिम खाताबाट २० लाख रुपैयाँ जम्मा भएको र उनले १ लाख थप गरी २१ लाखको चेक भरपाई सहकारीमा दिएको देखिएको र उनले खुलाएको व्यहोरा फरक परेको हुँदा सहकारीको सञ्चालक र कार्यकारीसँग मिलेमतो गरेर सहकारीको सम्पत्ति तथा बचतकर्ताको रकम हिनामिना एवं अपचलन गरी गैर कानुनी लाभ लिनमा प्रत्यक्ष संलग्न रहेको भन्दै सहकारीको ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (घ ४) बमोजिमको अधिकतम सजायको मागदावी गर्दै सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा अभियोजन दर्ता गरेको छ । भण्डारी पृथ्वीनारायण क्याम्पसमा अध्यापन गराउँदछन् । हाल उनी फरार छन् ।

(१२) सुवास अधिकारी, गैह्र शेयर सदस्य
सुवास अधिकारीले सहकारीका पूर्वअध्यक्ष भरत भट्टराईको फुपुको छोरा हुँ भन्दै सहकारीमा जोडिएर पोखरा–२१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी, कृष्णबहादुर गुरुङसँग मिलेर मिटर व्याजीमा सहकारीमा रकम लगानी गरी चर्को व्याज असुल गर्ने गरेको वित्तीय तथा प्रहरी अनुसन्धानका क्रममा खुलेको सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा दर्ता गरेको अभियोजनपत्रमा उल्लेख छ ।

सुबास अधिकारी, सहकारी ठगी मुद्दामा फरार ।

वडा नं. २१ का वडाध्यक्ष सुवेदीलाई चर्को ब्याजमा सहकारीबाट रकम उठाई दिए वापत कमिसन भनि १० लाख रुपैयाँ अधिकारीको अनुरोधमा सहकारीका नरेशप्रसाद पौडेलको नाउँमा खाता खोलेर मुद्दतीमा जम्मा गरेको भेटिएको छ । त्यसैगरी वडाध्यक्ष सुवेदीले सहकारीमा २ करोड ५० लाख लगानी गर्ने विषयमा छलफल हुँदा रकम मिलाई दिने भनि ३० लाख रुपैयाँ माग गरेको र २०७९ भदौं २९ गते भन्दा अगाडि ३ पटक गरेर अधिकारीको आईसी एफसी फाइनान्स कम्पनी प्रा.लि.को खाताबाट कनेक्ट आईपिएस मार्फत् ३० लाख उनको गर्लफ्रेण्ड पराजुली थरकी महिलाको खातामा ट्रान्सफर गरिदिएको र सो का बारेमा भएको कुराकानीको सम्बन्धमा सहकारीका अध्यक्ष रमण पौडेलसँग भएको स्क्रिन सर्ट पनि प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको र वित्तीय विश्लेषकसँग बयानका क्रममा पनि अधिकारीले उक्त रकम लिएको विषय स्वीकार गरेको अभियोजन पत्रमा लेखिएको छ ।

अधिकारीले वित्तीय विश्लेषकसँगको बयानका क्रममा उक्त रकम लिएको स्वीकार्दै सो मध्ये २६ लाख रुपैयाँ सहकारीका अध्यक्ष पौडेललाई फिर्ता गरेको हुँ भनेर खुलाएतापनि सो को प्रमाण पेश भने पेश गर्न सकेनन् । सहकारीका पूर्व तथा वर्तमान सञ्चालक समितिका पदाधिकारीहरुसँग मिलेर सहकारीको सम्पत्ति तथा बचतकर्ताको रकम हिनामिना एवं अपचलन गरी गैरकानुनी लाभ लिने कार्यमा प्रत्यक्ष संलग्न रहेको देखिएको भनदै सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा दफा १२४ को उपदफा (१)को खण्ड (घ४) बमोजिम अधिकतम सजायको मागदावी गर्दै अदालतमा मुद्दा दायर गरिएको छ ।

(१३) बामदेव सुवेदी, गैह्रसदस्य 
पूर्वअध्यक्ष भरत भट्टराई मार्फत् सहकारीमा जोडिएर चर्को मिटर ब्याजमा सहकारीलाई रकम लगानी गरी अनुचित लाभ लिने काम गर्दै आईरहेका थिए बामदेव सुवेदीले । उनले २०७८ मंसिर २२ गते कृतिम खाता प्रयोग गरेर २८ लाख लिई सहकारीमा फिर्ता नगरेको हो भनि रमण पौडेलले वित्तीय विश्लेषकसँग स्वतन्त्र रुपमा गरेको कागज र अधिकारप्राप्त अधिकारी समक्ष दिएको बयानका क्रममा खुलाईएको सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा दायर गरेको अभियोजन पत्रमा उल्लेख छ ।

बामदेव सुवेदी, सहकारी ठगी मुद्दामा फरार ।

सुवेदीले वित्तिय विश्लेषकसँग स्वतन्त्र रुपमा बयान गर्दा आफूले हव कोअपरेटिक सर्भिस लि.को कश्यप सहकारीको बचत खाताको चेक २०७८ असोज ५ गते मित्र मिलन सहकारीको नाउँमा दिएको, सो बराबरको कर्जा कश्यप सहकारीमा सुवेदी आफैले आफ्नो नाउँमा कर्जा तयार गरेको, चेक दिने बेलामा एक हप्ताको लागि अग्रिम ब्याज र सेवा शुल्क मित्रमिलन सहकारीका अध्यक्ष पौडेलबाट लिएको र ७ दिनमा उक्त रकम रमणले तिर्न नसकेपछि पटक–पटक गरी ७/७ दिनको फरकमा अग्रिम सेवा शुल्क र ब्याज उठाउँदै सुवेदीले मिटरब्याजमा रकम असुल गरेको बयानका क्रममा स्वीकार गरेका थिए ।

सहकारीका अध्यक्ष रमणबाट उक्त रकम भुक्तानी नभएपछि आंशिक रकम लिई सुवेदीले आफ्नो नाउँमा मित्र मिलन सहकारीमा रहेको बचत खातामा २०७८ मंसिर २२ गतेका दिन २८ लाख ५ हजार रकम दाखिला गर्न लगाई हिनामिना गरेको देखिएको अनुसन्धानका क्रममा खुलेको छ । सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा सुवेदीलाई ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (घ२) बमोजिम अधिकतम सजायको माग दावी गर्दै अदालतमा मुद्दा दायर गरेको छ । हाल उनी पक्राउ पुर्जी जारी भएसँगैं फरार छन् ।

(१४) बुद्धिसागर पौडेल, शेयर सदस्य
बुद्धिसागर पौडेल अभिषेक भन्ने खुमानन्द काफ्ले मार्फत् सहकारीको अध्यक्ष रमण पौडेल जोडिएर एनआईसि एसिया बैंकबाट लिलाम निकाल्न लागेको न्यूरोडको घर खरिद गर्न लाग्दाको क्रममा मित्रमिलन सहकारीका अध्यक्ष रमण पौडेललाई १ करोड ९० लाख दिएकोमा दिनको १ लाखको ८०० का दरले हिसाब गरेर सहकारीमा खाता खोली दवावमा पारेर २ करोड ४० लाख जम्मा गर्न लगाएको वित्तीय र प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । बुद्धिसागरले सोही खाताबाट पटक–पटक गरेर ३९ लाख आफू र श्रीमतीको नामबाट भुक्तानी लिएको र पछि २ करोड ३२ लाखको गरिमा विकास बैंकमा रहेको खाताको चेक लिई उक्त चेक बाउन्स गरेर सहकारीका अध्यक्ष रमण उपर कास्की जिल्ला अदालतमा मुद्दा हालेर न्यूरोडको घर र बर्दघाटको जग्गा रोक्का राखेको वित्तीय विश्लेषक र अधिकारप्राप्त अधिकारी समक्ष बयान गराउँदा खुलेको थियो ।

बुद्धिसागर पौडेल (सहकारी ठगी मुद्दामा  कारागार चलान)

बुद्धिसागरलाई बयान गराउँदा रमण पौडेललाई आफूले एनआईसि एसिया बैंकमा रहेको आफ्नो खाताको चेकबाट १ करोड ३३ लाख र श्रीमतीको नाउँको खाताबाट ६६ लाखको चेक २०७८ फागुन ३० गते दिएको र सोही दिन नगद १ लाख समेत दिएर २०७८ चैत १ गते २ करोड रुपैयाँ १० दिनको लागि लिएको लिखित कागज गरेर वडा नं. ११ का वडाध्यक्षबाट प्रमाणित गरेर राखेको र उक्त भाकामा रमणले पैसा दिन नसकेपछि सहकारीमा खाता खोल्नुहोस् म ऋण लिएर तपाईको खातामा जम्मा गरिदिन्छु भनेका कारण आफूले २०७८ चैत २१ ग्ते सहकारीमा बचत खाता खोलेको र २०७८ चैत २८ गते २ करोड ४० लाख जम्मा गरिदिएकोमा सो मध्येबाट आफू र श्रीमतीले गरेर पटक–पटक ३९ लाख रुपैयाँ भुक्तानी लगेको स्वीकारेका छन् ।

सहकारीमा रकम नभएको भनि बाँकी रकम नदिएपछि बुद्धिसागरले सो बारेमा अध्यक्ष रमणसँग कुरा गर्दा पौषमसान्तसम्मको हिसाब गरेर २ करोड ३२ लाखको चेक २०७९ भदौं २७ गते भुक्तानी लिन मिल्ने गरी दिएकोमा खातामा रकम नभएका कारणले अदालतमा चेक बाउन्सको मुद्दा दर्ता गराई घरजग्गा रोक्का गरेको बयानका क्रममा बताएका छन् ।

यता अनुसन्धानका क्रममा २ करोड ४० लाख रुपैयाँ बुद्धिसागरले सहकारीका अध्यक्ष रमणलाई दिएको प्रमाण पेश गर्न नसकेको र रमणलाई १ करोड ९९ लाख मात्र दिएको मिसिल समावेश बैंक स्टेटमेण्टबाट देखिएको अनुसन्धानका क्रममा खुलेको छ । २ करोड ४० लाख लगानी मध्ये ३९ लाख सहकारीको खाताबाट भुक्तानी लिईसकेको अवस्थामा फेरि २ करोड ३२ लाखको चेक लिनुपर्ने कारण नरहेको, यसरी हेर्दा बुद्धिसागरले साँवाभन्दा बढि करिब ६ महिनाको अवधिमा ३१ लाख रुपैयाँ ब्याज रकम सरकारी रेट भन्दा अधिक मात्रामा ब्याज असुल गरेको अनुसन्धानका क्रममा पुष्टि भएको थियो । बुद्धिसागरले रमण पौडेललाई १ करोड ९९ लाख भन्दा बढि रकम दिएको प्रमाण नदेखिएकोले चर्को मिटरब्याजमा रकम लगानी गरेको आधार पुष्टि हुने हुँदा सहकारीको सम्पत्ति हिनामिना एवं वचतकर्ताको रकम अपचलन गर्ने कार्यमा पूर्ण रुपमा संलग्न रहेको देखिएको हुँदा बुद्धिसागरलार्ई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उफदफा (१)को खण्ड (घ४) बमोजिम अधिकतम सजायको माग दावी गर्दै सरकारी वकिलको कार्यालय कास्कीले अभियोजन दर्ता गराएको छ ।

(१५) राजु बराल, शेयर सदस्य
राजु बरालले आफू र आफ्नी श्रीमती विष्णुमाया रेग्मी बरालको नाउँमा मित्र मिलन सहकारीमा शेयर सदस्य बनेर बचत रकमको कारोबार गर्दै आउने क्रममा पछिल्लो समय कमिसनका नाममा लाखौं रुपैयाँ लिदैं आईरहेको वित्तीय र प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । बरालले गैरसदस्य कुमार मगरलाई सहकारीमा जोडाएर पोखरा–१८, सेदीमा रहेको जग्गा राष्ट्रिय सहकारी बैंकबाट रोक्का राखी सहकारीबाट दुई पटक गरेर ७ करोड ऋण दिलाए वापत कमिसन भन्दै आफू र आफ्नो श्रीमतीको सहकारीमा रहेको खाताबाट ४३ लाख ५० हजार रुपैयाँ लिएको अनुसन्धानबाट पुष्टि भएको थियो ।

राजु बराल, सहकारी ठगीमा पुर्पक्षका लागि कारागार चलान

तर, बरालले वित्तीय विश्लेषक र अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा आफूसँग कुमार मगरको लेनदेन कारोबार रहेकोले उठाउनु पर्ने रकम उठाउन ऋण लिनका लागि धनजमानी साक्षी बसेको, सहकारीले ऋण प्रवाह गरेपछि कुमारले सबै पैसा दिन नपुग्ने भनि २५ लाख रुपैयाँ श्रीमतीको सहकारीमा रहेको खातामा जम्मा गरेको र बाँकी ८५ लाखको चेक दिएको बताएका थिए । साथै सहकारीका अध्यक्ष रमण पौडेलसँग आफ्नो व्यक्तिगत लेनदेन १९ लाख रुपैयाँ रहेकोमा सोही रकम मध्येबाट पौडेलले पटक–पटक गरेर आफ्नो सहकारीमा रहेको खातामा १८ लाख ५० हजार रुपैयाँ जम्मा गरेको बयानका क्रममा बताएका थिए ।

सहकारी मार्फत् भुक्तानी लिएको ४३ लाख ५० हजार कुमार मगरको नाउँमा सहकारीले ऋण प्रवाह गरेको मिति पछि रहेको, सहकारीका अध्यक्ष रमणसँग बरालको व्यक्तिगत कारोबार थियो भनिएपनि उक्त रकम लिनुपर्ने आधार प्रमाण केही पेश गर्न सकेनन् । बरु कुमार मगरलाई ऋण दिलाई दिए वापत भनेर कमिसन स्वरुप सहकारीबाट ४३ लाख ५० हजार रुपैयाँ लिई सहकारीको सम्पत्ति हिनामिना एवं बचतकर्ताको रकम अपचलन गर्ने कार्यमा पूर्ण रुपमा संलग्न रहेको देखिएकोले बराललाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ज) र(त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (घ२) बमोजिम अधिकतम् सजाय मागदावी गर्दै अदालतमा मुद्दा दायर गरिएको छ । हाल अदालतले बराललाई पुर्पक्षका लागि कास्की कारागार चलान गरेको छ ।

(१६) कृष्णबहादुर राउत (पूर्वअध्यक्ष), कुशुमकृष्ण आयूर्वेद फर्मा पोखराका सञ्चालक
कृष्णबहादुर राउत २०७३ पुस २६ गतेको दोस्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित भई जिम्मेवारी वहन गर्ने बेलादेखि नै मित्र मिलन सहकारीमा अनावश्यक खर्च हुने क्रम सुरु भएको अनुसन्धानका क्रममा देखिन्छ । राउत अध्यक्ष हुँदा नै पोखरा–१२, चापापानीमा उनकी श्रीमती विद्या डाँगी राउतको नाउँमा प्रेमबहादुर कार्कीको २ तले घर करिब १ करोड २० लाखमा खरिद गर्दा अपुग भएको रकम मनबहादुर दमैंका नाममा कृतिम खाता (फेक लोन) तयार गरेर ऋण प्रवाह गरेका थिए । राउतले त्यतिबेला सहकारीबाट २०७५ कार्तिक १५ गते ११ लाख २० हजार रुपैयाँ आफैंले सञ्चालन गर्दै आईरहेको कुसुम कृष्ण आयुर्वेद फर्माको नाउँमा लिएका थिए । सोही समयमा विभिन्न मितिमा १५ लाख २२ हजार पाँचसय गरी २६ लाख ४२ हजार पाँचसय लिएको देखिएकोमा तत्कालिन अध्यक्ष राउतले विभिन्न कृतिम कर्जाहरु खडा गरी आफ्नो खातामा रकम रकमान्तर गरी किर्ते काम गरेका थिए ।

कृष्णबहादुर राउत, नेचर केयर होम प्रा. लि. आयुर्वेद अस्पताल/कुशुमकृष्ण आयूर्वेद फर्मा पोखराका सञ्चालक, हाल फरार 

राउतले आफू अध्यक्ष हुँदा नै पहुँचको भरमा मनबहादुर दमैको नाउँमा फेक लोन (कृतिम ऋण) सहकारीको सफ्टवेयरबाट भुक्तानी दिएको भनी क्लियर गरेर छाडेका तथ्य बयानका क्रममा वर्तमान समितिका अध्यक्ष रमण पौडेलले दिएको सूचना र अनुसन्धानबाट पुष्टि हुन जाँदा राउतलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (च) र (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (ग) र (घ२) बमोजिम अधिकतम सजायको माग दावी गर्दै जिल्ला अदालत कास्कीमा सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेको छ । सहकारी ठगीमा संलग्न राउत हाल फरार छन् ।

(१७) हरेराम भण्डारी, शेयर सदस्य 
हरेराम भण्डारीले सहकारीका धितो मूल्यांकनकर्ता अभिषेक भन्ने खुमानन्द काफ्ले मार्फत् सहकारीको शेयर सदस्य बनी २०७८ फागुन र चैत महिनामा सहकारीमा ५० लाख जम्मा गरेकोमा १ महिनापछि १० लाख १६ हजार मिटरब्याजसहित ६० लाख १६ हजार रुपैयाँ भुक्तानी लिएको वित्तीय र प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा बुझाएको अभियोजनपत्रमा उल्लेख छ ।

त्यसैगरी, क्याफे दि गार्डेनलाई मार्केट बनाउने भन्दै भण्डारीलाई काम गर्नका लागि ८० लाख रुपैयाँ सहकारीबाट अग्रिम पेश्की दिइएकोमा काम नगरी बिचमैं छाडेको र पैसा फिर्ता माग्दा रकम नदिएको भनि सहकारीका अध्यक्ष रमण पौडेलले बित्तीय, प्रहरी अनुसन्धान र अदालतमा क्रममा बयान बताएका छन् ।

हरेराम भण्डारी (रातो घेरामा) उनका साथीहरुसँग । मिटरब्याजी रकम असुल्दै हरेरामले सहकारीबाट १ करोड ७६ लाख ६६ हजारको शंकास्पद कारोबार गरेका थिए ।

सहकारीबाट विभिन्न कृतिम खाता सिर्जना गरेर २०७८ असोज १४ गते देखि २०७८ चैत २८ गतेसम्ममा १ करोड, १९ लाख ६६ हजार र २०७७ चैत ८ गते एकै दिनमा पटक–पटक गरी ३० लाख नगदै निकासी गरेको वित्तीय विश्लेषणको राय प्रतिवेदनमा देखिएको छ । भण्डारीले वित्तीय विश्लेषकसँग बयान दिदाँ सहकारीका अध्यक्ष पौडेलसँग पाउनु पर्ने रकम लिएको बताएका थिए ।

सौरभी रियल स्टेट कम्पनी र खुमानन्द काफ्लेको फ्युचर अन इञ्जिनियरिङ बिच सम्झौंता गरी सौरभी रियल स्टेट कम्पनीबाट काम गरेर पाउनु पर्ने रकम लिएको भण्डारीले बयानका क्रममा खुलाएका थिए । उनले १० प्रतिशत काम बाँकी रहँदा केही रकम भुक्तान नदिएपछि काम सम्पन्न नगरी अलपत्र छाडिएको र सौरभी रियल स्टेट कम्पनीले बैधानिक तवरले कार्य गरी रकम पाउनु पर्ने हो भने कर बिजक जारी सो बराबरको रकम बिक्री देखाई रकम भुक्तानी लैजानु पर्नेमा सहकारीको सम्पत्ति एवं बचतकर्ताको रकम अपचलन गर्ने, मिटरब्याजी रकम असुल्ने गरी १ करोड ७६ लाख ६६ हजारको शंकास्पद कारोबार देखिएको हुँदा सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा निजलाई ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (घ४) बमोजिम अधिकतम सजाय हुन सरकारी वकिलको कार्यालय कास्कीले मागदावी सहित अभियोजनपत्र अदालतमा दर्ता गराएको छ ।

(१८) कुमार मगर,  शेयर सदस्य 
कुमार मगर मित्र मिलन सहकारीमा शेयर सदस्य राजु बराल मार्फत् जोडिएका थिए । मगरले पोखरा–१८, सेदीमा रहेको ५ रोपनी १२ आना जग्गा राष्ट्रिय सहकारी बैंकबाट रोक्का भई मित्र मिलन सहकारीबाट २ पटकट गरेर ७ करोड ऋण लिएका थिए । ऋण लिए पछि मगरले खातामा १२ लाख रुपैयाँ छाडेका थिए । उक्त रकम सकिएपछि हालसम्म पनि मगर सहकारीको सम्पर्कमा आएका छैनन् ।

कुमार मगर, सहकारी ठगी मुद्दामा फरार ।

२०७७ फागुन २६ गते राष्ट्रिय सहकारी बैंक लिमिटेडबाट रोक्का हुनुपूर्व नै सञ्चालक समितिका अध्यक्ष रमण पौडेलसँग मिलेर मगरले सहकारीको ऐन र विनिमय विपरित २०७७ माघ २८ मा सहकारीबाट ३ करोड ५० लाख कर्जा लिएकोमा, त्यसपछि विभिन्न कृतिम खाताबाट ऋणी कुमार मगरको नाउँमा २३ करोड कर्जा प्रवाह देखाई हाल सहकारीलाई ६ करोड ७४ लाख ६५ हजार दुईसय ८ रुपैयाँ कर्जा चुक्ता गर्न तर्फ कुनै प्रयत्न नगरी फरार भएका मगरले सहकारी संस्थालाई हामी नोक्सानी र आफूलाई फाईदा हुने कार्य गरेको तथ्य पुष्टि भएको भन्दै सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१)को खण्ड (घ४) बमोजिम अधिकतम सजायको माग दावी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा मुद्दा दायर गरेको छ । कुमार मगर धेरै समयदेखि सहकारीसँ सम्पर्कविहिन छन् भने पक्राउपूर्जी जारी भएपनि हालसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।

(१९) सुरेशकुमार श्रेष्ठ, गैरसदस्य
मित्र मिलन सहकारीमा सुरेशकुमार श्रेष्ठ, पूर्वसञ्चालक समितिका सदस्य चन्द्रबहादुर विकमार्फत् जोडिएर सहकारीलाई चर्को मिटर ब्याजीमा अर्थात् एक लाखको एकदिनमा पाँचसयदेखि आठसयसम्म ब्याज लिई लगानी गर्ने गरेको वित्तीय र प्रहरी अनुसन्धानबाट देखिएको छ ।

सहकारीका अध्यक्ष रमण पौडेलले वित्तीय र प्रहरी अनुसन्धानका क्रममा दिएको बयानमा सहकारीमा समस्या आएपछि सहकारी धान्न भनि पटक–पटक कर्मचारीलाई पठाई प्रतिदिन एक लाखको पाँचसय देखि आठसय रुपैयाँसम्म ब्याज काटेर रकम ल्याई खातामा पुरै रकम दाखिला गरी विभिन्न कृतिम खाताबाट श्रेष्ठको सहकारीमा रहेको खातामा ४७ लाख ४१ हजार दुईसय १० रुपैयाँ रकमान्तर गरी लिएको खुलेको छ ।

नेपाल राष्ट्र बैंकको नगद कारोवार सिमाको समेत पालना नगरी शंकास्पद कारोबार गरी सहकारीको सम्पत्ति हिनामिना एवं बचतकर्ताको रकम अपचलन गर्ने कार्यमा पूर्ण रुपमा संलग्न रहेको देखिदाँ श्रेष्ठलाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१)को खण्ड (घ२) बमोजिम अधिकतम सजायको मागदावी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा अभियोजनपत्र दर्ता गरेको छ । हाल श्रेष्ठ फरार रहेका छन् ।

(२०) कुशल पौडेल, सचिव

कुशल पौडेल, सहकारी ठगी मुद्दामा फरार ।

कुशल पौडेल, २०७६ भदौं २० गतेको छैठौं वार्षिक साधारण सभाबाट सचिव पदमा निर्वाचित भई हालसम्म जिम्मेवारीमा रहेका छन् । सहकारी ऐन तथा विनिमय बमोजिम आफ्नो अधिकार स्थापित गर्ने कार्यमा सञ्चालक समितिमा रहने तर सहकारीबाट रकम हिनामिना हुँदा मुख्य प्रतिवादीहरुलाई साथ सहयोग गरी पदीय जिम्मेवारी पूर्ण रुपमा निर्वाह नगरेको सप्रमाण पुष्टि हुन आएको भन्दैं सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा पौडेललाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (ख), (घ) र (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१)को खण्ड (ग), (घ५) बमोजिम अधिकतम सजायको माग दावी गरेको छ ।

(२१) भीमलाल पौडेल, कोषाध्यक्ष

भीमलाल पौडेल, सहकारी ठगी मुद्दामा फरार ।

भीमलाल पौडेल मित्र मिलन सहकारीमा २०७६ भदौं २० गतेको छैठौं वार्षिक साधारण सभाबाट कोषाध्यक्ष पदमा निर्वाचित भई हालसम्म जिम्मेवारीमा रहेका छन् । सहकारी ऐन तथा विनिमय बमोजिम आफ्नो अधिकार स्थापित गर्ने कार्यमा सञ्चालक समितिमा रहने तर सहकारीबाट रकम हिनामिना हुँदा मुख्य प्रतिवादीहरुलाई साथ सहयोग गरी पदीय जिम्मेवारी पूर्ण रुपमा निर्वाह नगरेको सप्रमाण सहित पुष्टि हुन आएको भन्दैं कोषाध्यक्ष पौडेललाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (ख), (घ) र (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१)को खण्ड (ग), (घ५) बमोजिम अधिकतम सजायको माग दावी गरिएको छ ।

(२२) गोपाल खनाल, सहकारी सञ्चालक समितिका सदस्य

गोपाल खनाल, सदस्य (पुर्पक्षका लागि कारागार चलान)

गोपाल खनाल २०७६ भदौं २० गतेको छैठौं वार्षिक साधारण सभाबाट सदस्य पदमा निर्वाचित भई हालसम्म पनि जिम्मेवारीमा रहेका छन् । सहकारी ऐन तथा विनिमय बमोजिम आफ्नो अधिकार स्थापित गर्ने कार्यमा सञ्चालक समितिमा रहने तर सहकारीबाट रकम हिनामिना हुँदा मुख्य प्रतिवादीहरुलाई साथ सहयोग गरी पदीय जिम्मेवारी पूर्ण रुपमा निर्वाह नगरेको सप्रमाण सहित पुष्टि हुन आएको भन्दैं सञ्चालक समितिका सदस्य खनाललाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (ख), (घ) र (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१)को खण्ड (ग), (घ५) बमोजिम अधिकतम सजायको माग दावी गरिएको छ ।

(२३) संगिता रेग्मी सुवेदी, सहकारी सञ्चालक समितिका सदस्य

संगिता रेग्मी सुवेदी, सहकारी ठगी मुद्दामा फरार ।

संगिता रेग्मी सुवेदी २०७६ भदौं २० गतेको छैठौं वार्षिक साधारण सभाबाट सदस्य पदमा निर्वाचित भई हालसम्म पनि जिम्मेवारीमा रहेका छन् । सहकारी ऐन तथा विनिमय बमोजिम आफ्नो अधिकार स्थापित गर्ने कार्यमा सञ्चालक समितिमा रहने तर सहकारीबाट रकम हिनामिना हुँदा मुख्य प्रतिवादीहरुलाई साथ सहयोग गरी पदीय जिम्मेवारी पूर्ण रुपमा निर्वाह नगरेको सप्रमाण सहित पुष्टि हुन आएको भन्दैं सञ्चालक समितिका सदस्य सुवेदीलाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (ख), (घ) र (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१)को खण्ड (ग), (घ५) बमोजिम अधिकतम सजायको माग दावी गरिएको छ ।

(२४) रनिता थापा मगर, सहकारी सञ्चालक समितिका सदस्य
रनिता थापा मगर बचतकर्ताको रुपमा मित्र मिलन सहकारीमा जोडिएर २०७६ भदौं २० गतेको छैठौं वार्षिक साधारण सभाबाट सदस्य पदमा निर्वाचित भई हालसम्म पनि जिम्मेवारीमा रहेकी छिन् । सहकारी ऐन तथा विनिमय बमोजिम आफ्नो अधिकार स्थापित गर्ने कार्यमा सञ्चालक समितिमा रहेकी, भरत भट्टराई अध्यक्ष हुँदाको बखत राष्ट्रिय सहकारी बैंक लिमिटेडमा धितो राखी आफ्नो नाउँमा सहकारीबाट ८० लाख रुपैयाँ कर्जा लिएको तर हालसम्म पनि उक्त रकम नबुझाएको वित्तीय र प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।

रनिता थापा मगर,सहकारी ठगी मुद्दामा फरार ।

यस सम्बन्धमा सहकारीका अध्यक्ष रमण पौडेलले वित्तीय विश्लेषक र प्रहरी अनुसन्धानका क्रममा रनिताको नाउँमा सहकारीमा रहेको कर्जाको नगद प्राप्त नभईकन जग्गा फुकुवाकोलागि पत्र लेखिदिई जग्गा फुकुवा गरिदिएकोमा हालसम्म पनि सदस्य रनिताले कुनै पनि रकम सहकारीमा नबुझाएको बताएका थिए । उनको नामको चितवन भरतपुर महानगरपालिका वडा नं. २८ जितपुर र वडा नं. २२ सिम्वारमा भएको करिब ४० धुर जग्गामा सहकारीको सम्पत्ति तथा बचतकर्ताको रकम दुरुपयोग गरी आर्जन गरिएको हो भन्ने अनुसन्धानका क्रममा खुल्न आएको थियो ।

सरकारी वकिलको कार्यालय कास्कीले सहकारी सञ्चालक समितिका सदस्य रनितालाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (ख), (ग), (घ), (ङ), (च), (छ), (ठ), (त)ले परिभाषित कसुर भए गरेको हुँदा सहकारी ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (क), (ख), (ग), (घ५) बमोजिम सजायको मागदावी गर्दै अदालतमा मुद्दा दायर गरेको छ ।

(२५) सूर्यबहादुर अधिकारी, लेखा समिति संयोजक

सूर्यबहादुर अधिकारी (पक्राउ)

सूर्यबहादुर अधिकारी मित्र मिलन सहकारीमा २०७६ भदौं २० गतेको छैठौं साधारण सभाबाट लेखा समिति संयोजक पदमा निर्वाचित भई हालसम्म पनि जिम्मेवारीमा रहेका थिए । सहकारी ऐन तथा विनिमय बमोजिम लेखा सुपरीवेक्षण समितिको काम कर्तव्य पालना नगर्ने तर बैठकमा उपस्थित भएर भत्ता वापतको रकम बुझिलिने जस्ता कार्य गरी सहकारीको सम्पत्ति हिनामिना गर्नमा साथ र सहयोग प्रदान गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

लेखा संयोजक अधिकारीलाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (घ५) बमोजिम अधिकतम समाजको मागदावी गर्दै सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा मुद्दा दर्ता गराएको थियो ।

(२६) जनकराज पौडेल, लेखा समिति सदस्य

जनकराज पौडेल, सहकारी ठगी मुद्दामा फरार ।

जनकराज पौडेल मित्र मिलन सहकारीमा २०७६ भदौं २० गतेको छैठौं वार्षिक साधारण सभाबाट लेखा समिति सदस्य पदमा निर्वाचित भई हालसम्म जिम्मेवारीमा रहँदै आएका थिए । सहकारी ऐन तथा विनिमय बमोजिम लेखा सुपरीवेक्षण समितिको काम कर्तव्य पालना नगर्ने तर पौडेलले बैठकमा उपस्थित भएर भत्ता वापतको रकम बुझिलिने जस्ता कार्य गरी सहकारीको सम्पत्ति हिनामिना गर्नमा साथ र सहयोग प्रदान गरेको सप्रमाण भेटिएको थियो ।

लेखा समितिका सदस्य पौडेललाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (घ५) बमोजिम अधिकतम समाजको मागदावी गर्दै सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा मुद्दा दर्ता गराएको थियो ।

(२७) प्रतिक लामिछाने, लेखा समिति सदस्य
प्रतिक लामिछाने मित्र मिलन सहकारीमा २०७६ भदौं २० गतेको छैठौं वार्षिक साधारण सभाबाट लेखा समिति सदस्य पदमा निर्वाचित भई हालसम्म जिम्मेवारीमा रहँदै आएका थिए । सहकारी ऐन तथा विनिमय बमोजिम लेखा सुपरीवेक्षण समितिको काम कर्तव्य पालना नगर्ने तर लामिछानेले बैठकमा उपस्थित भएर भत्ता वापतको रकम बुझिलिने जस्ता कार्य गरी सहकारीको सम्पत्ति हिनामिना गर्नमा साथ र सहयोग प्रदान गरेको सप्रमाण भेटिएको थियो ।

प्रतिक लामिछाने, सहकारी ठगी मुद्दामा फरार ।

लेखा समितिका सदस्य पौडेललाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (घ५) बमोजिम अधिकतम समाजको मागदावी गर्दै सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा मुद्दा दर्ता गराएको थियो ।

(२८) जिवनाथ पराजुली, निवर्तमान उपाध्यक्ष
जिवनाथ पराजुली मित्र मिलन सहकारीमा २०७५ असोज २६ गतेको पाँचौं विशेष साधारण सभाबाट उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । उपाध्यक्ष पदमा निर्वाचित पराजुलीले तत्कालिन अध्यक्ष भरत भट्टराईसँग मिली जग्गा कारोबार गरी बचतकर्ताको बचत रकम दुरुपयोग गर्ने जस्ता कार्यका लागि कृतिम खाताहरुबाट ३१ लाख रुपैयाँ लिएको तथ्य वित्तीय र प्रहरी अनुसन्धानका क्रममा पुष्टि भएको थियो ।

बचतकर्ताको रकम हिनामिना गरेका उपाध्यक्ष पराजुलीलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (ग), (घ), (च), (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (क), (ग), (घ५) बमोजिम अधिकतम सजायको मागदावी गर्दै सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर भएसँगैं पराजुली फरार भएका छन् ।

(२९) सुजन आचार्य, वजार व्यवस्थापक प्रमुख र कर्जा विभाग

सुजन आचार्य, सहकारी ठगी मुद्दामा फरार ।

सुजन आचार्य मित्र मिलन सहकारीमा बजार व्यवस्थापक प्रमुख र कर्जा विभागमा जिम्मेवारी लिई काम गर्ने क्रममा सञ्चालक समितिका पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतले गरेका गैरकानुनी कार्यमा मतियारको रुपमा सहयोग गर्ने, मद्दत पुर्‍याउने, कर्जा असुली सम्बन्धी जिम्मेवारी वहन नगरी असुली नहुने कर्जा लगानी गर्नमा महत्वपूर्ण भूमिका खेलेको आरोप लागेको छ ।

आचार्यलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (घ), (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१)को खण्ड (ग), (घ५) बमोजिम कारवाहीको माग गर्दै सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा मुद्दा दायर गरेको छ । प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगैं आचार्य फरार भएका थिए ।

(३०) भुवन पौडेल, प्रमुख, कसेरी सेवा केन्द्र शाखा कार्यालय

भुवन पौडेल, सहकारी ठगी मुद्दामा फरार ।

भुवन पौडेल मित्र मिलन सहकारीको कसेरी सेवा केन्द्रमा प्रमुखको जिम्मेवारी लिई काम गर्ने क्रममा सञ्चालक समितिका पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतले गरेको गैरकानुनी कार्यमा मतियारको रुपमा सहयोग गर्ने, मद्दत पु¥याउने, पदिय जिम्मेवारी वहन नगर्ने, सहकारी तथा बचतकर्ताको सम्पत्ति हिनामिना गरी आर्जन रिएका जग्गा सञ्चालक समितिका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारी समेतसँग मिलेर आफ्नो नाउँमा रजिष्ट्रेशन पास गरेर लिई मतियारको भूमिका निर्वाह गरेको वित्तीय र प्रहरी अनुसन्धानको क्रममा पुष्टि भएको थियो ।

पौडेललाई जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुरमा दफा १२४ को उपदपा (२) बमोजिमको कसुर गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (घ५) बमोजिम सजायको माग गर्दै जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गराएको छ । पौडेल हाल फरार रहेका छन् ।

(३१) लालबहादुर घर्ती

लालबहादुर घर्ती, सहकारी ठगी मुद्दामा फरार ।

लालबहादुर घर्तीले एनआईसि एसिया बैंकले लिलाम निकाल्न लागेको पोखरा–८, न्यूरोडमा रहेको घर सहकारीका अध्यक्ष रमण पौडेलले लिलाल प्रकृयाबाट सकार्न लाग्दा अन्य व्यक्तिहरुको बोल कबोल रोक्न रमण पौडेल समेतसँग मिली सहकारीको सम्पत्ति तथा बचतकर्ताो रकम मध्यबाट ६० लाख रुपैयाँ सहकारीमा नै बचत खाता खोली कृतिम कारोबारबाट आफ्नो खातामा रकम रकमान्तर गराएका थिए ।

घर्तीले उक्त रकम भुक्तानी लिई सहकारीको सम्पत्ति हिनामिना एवं अपचलन गरेको अनुसन्धानबाट पुष्टि भएकोले सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा सहकारी ऐन दफा १२४ को उपदफा (१)को खण्ड (घ३) बमोजिम समाजको माग गर्दै जिल्ला अदालत कास्कीमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको छ । घर्ती हाल फरार रहेका छन् ।

(३२) सञ्जय पौडेल, १ करोड ५ लाख घुस काण्डको विचौंलिया
सञ्जय पौडेल मित्र मिलन सहकारीको गैरसदस्य रहेका अभिषेक भन्ने खुमानन्द काफ्ले (अभिषेक)मार्फत् सहकारीका अध्यक्ष रमण पौडेलसँग जोडिएर सहकारीको कार्यक्षेत्र गण्डकी प्रदेश भरि विस्तार गर्न प्रबन्ध मिलाई दिने भन्दैं १ करोड ५ लाख रुपैयाँको घुस काण्डमा संलग्न पात्र हुन् ।

सञ्जय पौडेल (विचौंलिया, १ करोड ५ लाख घुस-काण्ड), सहकारी ठगी मुद्दामा फरार ।

उनले कार्यक्षेत्र विस्तारका लागि गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका तत्कालिन प्रमुख (रजिष्ट्रार) उदयबहादुर पराजुली समेतलाई घुस खुवाउनु पर्छ भन्दै चरणवद्ध तबरबाट रकमको वार्गेनिङ गरी १ करोड २५ लाख रुपैयाँ दिने कुरामा सहमत गराएको प्रहरी अनुसन्धानको क्रममा खुलेको थियो ।
सोही बमोजिम सहकारीका अध्यक्ष पौडेलले सहकारीको मुक्तिनाथ विकास बैंकको खातामा मौज्दात रहेको १ करोड २५ लाख रुपैयाँ भुक्तानी लिई खुमानन्द काफ्ले (अभिषेक)सँग साथमा गई लेकसाईडस्थित एक होटलको कोठामा बसेर उक्त रकम गनेर बुझाएका थिए ।

सोही रकम सञ्जय पौडेल मार्फत् उदयबहादुर पराजुलीले लिएको तथ्य अध्यक्ष पौडेल, अभिषेक, सञ्जय र पत्रकार अर्जुन गिरी समेतसँगको म्यासेजमा भएको च्याट (कुराकानी)बाट प्रहरीले अनुसन्धान क्रममा पुष्टि गरेको थियो ।

त्यसैगरी गण्डकी प्रदेशभरी कार्यक्षेत्र विस्तारको स्वीकृत नभए पश्चात् रकम पौडेलले सञ्जाय पौडेलसाग फिर्ता माग्दा रकम कर्मचारीहरुलाई दिइसकेको छु, काम हुन्छ भनी आश्वास दिने लगायतको कुरा गरेको फोन वार्तालाप अनुसन्धानको क्रममा सहकारीका अध्यक्ष पौडेलले पेश गरेका थिए ।

यस विषयमा वित्तीय विश्लेषक समक्ष सहकारीका अध्यक्ष पौडेल, उपाध्यक्ष विजय लम्साल, अभिषेक भनिने खुमानन्द काफ्ले र सुवास अधिकारीले स्वतन्त्र रुपमा बयान र कागज गरेका थिए । साथै यो बाहेक कृतिम खाताबाट २०७७ माघ ११ गते सहकारीमा रहेको सञ्जय पौडेलको बचत खाताबाट मिटर ब्याज ६०% का दरले ३ लाख ८० हजार लिएको हुँदा सञ्जय पौडेललाईइ सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (घ४) बमोजिम अधिकतम सजायको माग दावी गर्दै सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा मुद्दा दायर गरेको छ । सञ्जय प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगै फरार रहेका छन् ।

(३३) एकराज पराजुली, सहकारीका कर्मचारी
मित्र मिलन सहकारीमा कार्यरत कर्मचारी पोखरा–२३ बस्ने एकराज पराजुलीले पनि सहकारीको रकम हिनामिना गर्ने कार्यमा सञ्चालक समितिका सदस्यहरुलाई सहयोग गरेको अनुसन्धानका क्रममा पुष्टि भएपछि सहकारी ठगीमा सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा मुद्दा दायर गरेको छ । हाल पराजुली फरार रहेका छन् ।

एकराज पराजुली, सहकारी ठगी मुद्दामा फरार ।