News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यन्वयन नगर्न निर्देश

काठमाडौँ ।  प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले नेपालको औपचारिक नामका सम्वन्धमा मन्त्रिपरिषद्को पछिल्लो निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देश गरेको छ ।

सरकारको निर्णयबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग जानकारी लिएपछि समितिको आजको बैठकले उक्त निर्देशन दिएको हो । बैठकपछि रासससँग कुरा गर्दै सभापति शशी श्रेष्ठले भन्नुभयो, “सरकारको पछिल्लो निर्णयले अन्यौलता, अविश्वास, आशङ्का उत्पन्न गरेको हुँदा ‘नेपाल’ मात्रै लेख्न पर्ने आवश्यकता र औचित्यताको पुष्टि नहुन्जेल उक्त निर्णय कार्यान्वयन नगर्नुस् भनिएको हो ।”

सो अवसरमा मन्त्री ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको स्पष्ट गर्नुुभयो । उहाँले भन्नुुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभई हामीले अवलम्बन गरेको शासन प्रणाली हो । नेपालको औपचारिक नाम नेपाल नै हो, यसमा कुनै विशेषण जोड्न जरुरी छैन ।”

यसअघि बैठकमा सदस्यहरुले उक्त निर्णयलाई पुरानो राजनीतिक प्रणालीका पक्षधरले हौसल्लापूर्णरुपमा स्वागत र समर्थन गर्नुले गणतन्त्रका लागि बलिदान दिने निराश हुनु पर्ने हो कि भन्ने आशङ्का पैदा गरेकाले सो निर्णय कार्यान्वयन नगर्न सल्लाह दिनु उचित हुने सुझाव दिनुभएको थियो ।

राजनीतिक दलहरुबीच अविश्वास बढी रहेकै बेला सरकारबाट भएको उक्त निर्णयले आमजनतामा संशय उत्पन्न गरेको उहाँहरुको भनाइ थियो । मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले नेपालको औपचारिक नाम नेपाल मात्र लेख्ने निर्णय गरेपछि समितिले त्यसबारे परराष्ट्रमन्त्रीसगँ जानकारी माग गरको हो ।

प्रतिक्रिया