News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘सरकारको काममा सहयोग र समर्थन छ’ : उपमहासचिव गुरुङ

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, २७ वैशाख । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा सहयोग गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०÷८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले सो प्रकरणमा सरकारले लिएको अग्रसरतालाई सहयोग र समर्थन गर्न तयार रहेको बताउनुभएको हो ।

“नेकपा एमाले सरकारको काममा सहयोग र समर्थन गर्न तयार छ, हामी सहयोग र समर्थन गर्न चाहन्छौँ”, उपमहासचिव गुरुङले भन्नुभयो, “सरकारले जुन खालको छानबिन र अनुसन्धान सुरु गरेको छ, विधि र कानुनको शासन मान्ने तथा भ्रष्टाचारमुक्त नेपाल अभियान मान्ने प्रतिबद्ध भएको पार्टीको सांसदको हैसियतले यो छानबिन र अनुसन्धानलाई सरकारले दायाँबायाँ वा तलमाथि नगरी, दोषीहरु कोही पनि नछुटून्, निर्दोष व्यक्ति कोही पनि परोस् भनी लागोस्”, उहाँले जोड दिनुभयो ।

यस घटनामा संलग्न भनिएका पार्टीका सांसद टोपबहादुर रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको उपमहासचिव गुरुङले सदनलाई जानकारी गराउनुभयो ।

मन्दीमा फसिरहेको अर्थतन्त्रलाई उकास्ने प्राथमिकता र सिद्धान्त आउनुपर्नेमा जोड दिँदै उहाँले नीतिगत, संरचनागत र सिद्धान्ततः प्रस्ट हुनेगरी प्राथमिकता नआएको बताउनुभयो । “बजेटले आत्मविश्वास जगाउनुपर्छ, त्यो विश्वास जगाउने प्रयास प्राथमिकतामा देखाउन सकेको छैन”, उपमहासचिव गुरुङले भन्नुभयो । उहाँले फजुल खर्च कम गर्न, सङ्घीय तथा प्रदेश सरकारका मन्त्रालयका सङ्ख्या घटाउन र विभागलाई पनि घटाउन सुझाव पनि दिनुभयो । -रासस