News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

संस्कृतिविद् सत्यमोहन जोशी । तस्विर: साभार

काठमाडौं, ३० असोज । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको आज निधन भएको छ । १०३ वर्षीय जोशीको ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आज बिहान ७ः०९ बजे निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिए ।

मुटुको समस्याबाट पीडित भएका जोशी असोज ७ गते अस्पताल भर्ना भएका थिए । उनलाई निमोनिया र पछिल्लो पटक डेंगु सङ्क्रमण समेत भएको थियो । उनी सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत थिए । अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था शुक्रबार जटिल बन्न पुगेको थियो ।

उनले हाम्रो लोक संस्कृति पुस्तकका लागि विसं २०१३ र नेपाली राष्ट्रिय मुद्राग्रन्थका लागि २०१७ सालमा गरी दुई पटक मदन पुरस्कार पाएका थिए । यस्तै २०२६ सालमा कर्णाली लोकसंस्कृति पुस्तकका लागि संयुक्त मदन पुरस्कार पाएका थिए ।

वि.सं.१९७७ वैशाख ३० गते जन्मिएका उनी पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा बस्दै आएका थिए । उनको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एकहजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकट समेत प्रकाशित गरेको थियो । जीवित अवस्थामैं हुलाक टिकट प्रकाशित उनी पहिलो नेपाली नागरिक हुन् ।