बारा, २० असोज । बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका २० जना भन्दा बढिको अवस्था गम्भिर रहेको छ । अहिलेसम्म मृत्यु हुनेमा ९ पुरुष र ६ महिला रहेका छन् ।
प्रहरीका अनुसार घाईतेहरुको उपचारका लागि हेटौंडा लगिएको छ । नारायणगढबाट पथलैयातर्फ आउँदै गरेको ०६–००१ ख ०११० नम्बरको बस आज दुर्घटनामा परेको हो । बसमा ५१ जना यात्रु रहेको प्रहरीले बताएको छ । जितपुरसिमरा उपमहानगरपालिका–२२ मा दु्रत गतिमा कुदेको बस मोडमा अनियन्त्रित भएर सडकबाट २० मिटर तल खोलामा खस्न पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी बामदेव गौतमका अनुसार दुर्घटनाको प्रकृति हेर्दा मृतकको संख्या बढ्ने देखिन्छ । दुर्घटना मकवानपुर र बाराको सिमानामा भएको हो । प्रारम्भिक निरिक्षणमा गाडी अत्यन्तै द्रुत गतिमा रहेको र बाटो ओरालो हुँदा तथा पानी समेत परिरहेका कारण दुर्घटनामा परेको देखिएको एसपी गौतमले बताए ।