तनहुँ, १० चैत । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोग लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह)लाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहस सकिएसँगै शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटी बुझाएर साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालय तनहुँले अभियोगपत्र दर्ता गरेसँगै गत मंगलबार दिउँसो ३ बजेदेखि प्रतिवादी शाहको बयान लिइएको थियो । वादीका तर्फबाट ७ जना सरकारी वकिलले अदालतमा बहस गरेका थिए भने प्रतिवादी शाह र कृष्ण जोशीको पक्षबाट ११ जनाले बहस गरेका थिए ।