News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विज्ञान-प्रविधी समाचार

सिकाइ केन्द्रका रूपमा वालिङ सरसफाइ केन्द्र 

तोलाकान्त बगाले, वालिङ, १७ माघ ।  स्याङ्जाको वालिङ नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाइ केन्द्र अहिले सिकाइ केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । स्मार्ट सिटीको अवधारणानुरूप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले फोहोरमैलाको उचित व्यवस्थापन गरेर आम्दानीको स्रोतमा रुपान्तरण गरेसँगै देशका विभिन्न पालिका तथा फोहोर मैलाका क्षेत्रमा कार्य गर्ने विभिन्न सङ्घसंस्था अध्ययनका लागि आउने गरेका छन् ।

आर्थिक वर्ष २०७१/०७२ देखि फोहोरमैला सङ्कलन थालेको नगरपालिकामा हालसम्म नगरपालिका/गाउँपालिका तथा फोहोरमैला व्यवस्थापनका क्षेत्रमा काम गर्ने पाँच सयभन्दा बढी विभिन्न सङ्घसंस्थाले अध्ययन-अवलोकन गरिसकेका छन् । कतिपय ठाउँमा फोहोरमैला व्यवस्थित तरिकाले नछुट्टयाइने र जम्मा गर्ने मात्रै गर्दा डम्पिङ साइटका रूपमा रहने गरेकाले नजिकैको स्थानीय समुदाय विरोधमा उत्रिएर फोहोर फाल्न नदिने गरेको उदाहरण प्रशस्तै छन् । फोहोर नदी, खोला किनारमा थुपार्ने कार्यले वातावरण प्रदूषित भएको भनी विरोध भइरहँदा नगरपालिकाले फोहोरलाई आर्थिक स्रोतका रूपमा विकास गरेपछि यसबारे बुझ्न आउनेहरू बढ्दै गएका छन् । फोहोर मैला व्यवस्थापन चुनौतीका रूपमा देखिरहेका बेला त्यसको व्यवस्थापनबारे यहाँ आएर अध्ययन अवलोकनपछि आआफ्ना ठाउँमा कार्यान्वयन गर्ने सङ्घसंस्था धेरै छन् ।

गाउँपालिकाको जनप्रतिनिधिमा निर्वाचित भइसकेपछि वालिङले फोहोरमैलाका क्षेत्रका गरेको नमुना कार्यको अध्ययन अवलोकन गरिएको तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो । “फोहोरमैलाको व्यवस्थापनमा पुरस्कृत भइसकेको वालिङ नगरपालिकाको मोडेलका बारेमा हामीले त्यहीँ पुगेर हेर्‍याँैं”, अध्यक्ष थापाले भन्नुभयो, “अध्ययन अवलोकनपछि त्यही मोडेल अपनाई हामीले पनि २०७४ भदौदेखि फोहोर सङ्कलन थाल्यौंँ ।”

एक दिन कुहिने, एक दिन नकुहिने र महिनामा एक दिन सिसाजन्य फोहोर सङ्कलन गर्ने गरिएको छ । वडा नं ३ कुडुलेमा फोहोरमैला व्यवस्थापन गर्दै आएको गाउँपालिकाको निगरानीमा एक कम्पनीमार्फत फोहोर सङ्कलनका लागि सम्झौता भएको छ । फोहोर वर्गीकरणमा ६ र गाडीमा फोहोर सङ्कलनका लागि तीन कर्मचारी छन् । फोहोरमैला बिक्रीबाट प्राप्त आम्दानीमध्ये ३० प्रतिशत टोल सुधार समिति, ६० प्रतिशत कम्पनी र १० प्रतिशत गाउँपालिकाको आम्दानीका रूपमा राख्ने गरिएको अध्यक्ष थापाले बताउनुभयो । “फोहोरमैला व्यवस्थापन चुनौतीका रूपमा थियो”, अध्यक्ष थापाले भन्नुभयो, “यसको उचित व्यवस्थापन गर्न सकेका खण्डमा चुनौती नभई आम्दानी बन्दोरेछ, अहिले फोहोरमैला पनि गाउँपालिकाको आम्दानीको स्रोतका रूपमा छ ।”

फोहोरमैला वर्गीकरण नगरी थुपार्ने मात्रै कार्यले जग्गा पाउन समस्या भएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाका नगर प्रमुखसहित केही वडाध्यक्ष एवं वाणगङ्गा गजेडामा रहेका भूतपूर्व सैनिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वालिङको सरसफाइ केन्द्रको अध्ययन अवलोकन गरेका थिए । फोहोरमैलाको व्यवस्थापनमा जोड दिने गरी नगरपालिकाका जनप्रतिनिधि र खानेपानी तथा सरसफाइका क्षेत्रमा कार्य गर्दै आएका संस्थाका पदाधिकारीले संयुक्त रूपमा अवलोकन गरेको वाणगङ्गा गजेडा भूपू सैनिक खानेपानी तथा उपभोक्ता समिति एवं खानेपानी उपभोक्ता महासङ्घ कपिलवस्तुका अध्यक्ष राजेन्द्रविक्रम शाहीले बताउनुभयो । “वालिङ नगरपालिकाले फोहोरमैला व्यवस्थापनका क्षेत्रमा निकै उदाहरणीय कार्य गरेको रहेछ”, अध्यक्ष शाहीले भन्नुभयो, “त्यहाँको मोडेल हेरेर आएपछि हाम्रो ठाउँमा लागू गर्न कोसिस गर्‍यौंँ तर जग्गा व्यवस्थापन हुन नसक्दा शुरु गर्न सकिएको छैन ।”

उहाँका अनुसार नगरपालिकासँग धेरै चरणमा बैठक बसे पनि निकास निस्कन सकेको छैन । फोहोरमैला व्यवस्थापनका लागि एक ठाउँमा जग्गा उपलब्ध नभए अन्य पालिकासँग सहकार्य गरेर भए पनि व्यवस्थापनको काम अगाडि बढाउन छलफल चलाइने छ । “फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्न सकियो भने आम्दानीको स्रोत हुन्छ भन्ने उदाहरण वालिङमा देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “जग्गाको व्यवस्थापन हुन नसक्दा अगाडि नबढेकामा अब जुन ठाउँमा विरोध भएको हो, सोही ठाउँका मानिसलाई वालिङमा लगेर देखाएमा व्यवस्थापनमा सहजता हुन्छ कि भन्ने विश्वास छ ।”

नगरपालिकाले गरेको फोहोरमैला व्यवस्थापनको शुरुआती चरणदेखि हालसम्मका प्रक्रियाका बारेमा वाणगङ्गामै पुगेर सरोकार पक्षलाई प्रशिक्षण दिइएको वालिङ नगरपालिका, सामाजिक विकास शाखा प्रमुख पदमप्रसाद पाण्डेले बताउनुभयो । “वालिङ नगरपालिकाले फोहोरमैला सङ्कलन, वर्गीकरण र व्यवस्थापन कसरी गर्दै आएको छ भन्नेबारेमा वाणगङ्गामा नै तीनदिने प्रशिक्षण दिएका थियौंँ”, शाखा प्रमुख पाण्डेले भन्नुभयो । उहाँका अनुसार नगरपालिकाले फोहोरमैलाका क्षेत्रमा गरेको व्यवस्थापनबारे अध्ययन-अवलोकन भ्रमणमा आउने समूह र सङ्घसंस्थालाई सरसफाइ केन्द्रमै लगेर देखाउने र व्यवस्थापनका पाटामा भएका उपलब्धिबारे जानकारी दिने गरिएको छ ।

नगरपालिकाका विशेष गरी बजार क्षेत्रका वडामा गठन गरिएको सरसफाइ उपसमितिले आआफ्ना टोलमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्दै आएका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा नगरका १४ वटै वडामा सरसफाइकर्मी नियुक्त गरी सरसफाइ अगाडि बढाइएको शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

नगरपालिका र दिदीबहिनी एवं समाज उत्थान गैरसरकारी संस्थाबीच फोहोरमैला व्यवस्थापनको चारखम्बे अवधारणानुसार २०७१ असोजमा सम्झौता भई फोहोर सङ्कलन शुरु भएको थियो । चारवर्षे सम्झौता सकिएपछि नगरपालिका आफैँले अहिले व्यवस्थापन गर्दै आइरहेको छ । फोहोरमैलाका क्षेत्रमा अन्य ठाउँमा निजी क्षेत्रसँगको साझेदारीमा काम भइरहेको तथा पछिल्लो समय नगरपालिका आफैँले व्यवस्थापन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो । “नगरपालिका आफैँ वा यहाँको नागरिकको प्रत्यक्ष संलग्नतामा फोहोरमैला सङ्कलन, वर्गीकरण तथा व्यवस्थापन हुँदै आएको छ । यो नै फोहोरमैलाका क्षेत्रमा नमुना वा फरक मोडेल वा ‘वालिङ मोडेल’ हो”, उहाँ जिकिर गर्नुहुन्छ । नगरपालिकाले फोहोरमैलाका क्षेत्रमा विशेष गरी चार काम गरेकै कारणले यो फरक र नमुनायोग्य भएको उहाँको भनाइ छ । कुहिने/नकुहिने/सिसाजन्य फोहोर सङ्कलन गरी ‘इन्डस्ट्रियल बेस’ मा लगी कुहिनेबाट कम्पोष्ट मल बनाउनु, सरकारी स्वामित्व वा सरकारको अगुवाइ रहने गरी सेवामा आधारित हुनु र अधिकतम प्रविधिको प्रयोग गरी पुनः प्रयोग गर्नुले नै वालिङ फोहोरमैला व्यवस्थापनका क्षेत्रमा पृथक अनि अब्बल भएको दावी उहाँको छ ।

देशका विभिन्न सहरमा फोहोरमैलाको उचित व्यवस्थापन नभएकै कारण समस्या झेलिरहँदा नगरपालिकाले भने फोहोरमैला व्यवस्थापन गरी रु २४ लाख आम्दानी गरेको छ । नगरपालिकाको सरसफाइ केन्द्र शैक्षिक थलोका रूपमा विकसित हुँदै गएको नगर प्रमुख दिलीपप्रताप खाँण बताउनुहुन्छ । नगरपालिकाले फोहोरमैलाका क्षेत्रमा गरेका कार्यबारे जान्न र बुझ्न देशका विभिन्न ठाउँबाट यहाँ आउने र फर्केपछि आआफ्ना ठाउँमा यही नमुनाका रुपमा काम थाल्ने गरेकाले पनि यो सिक्ने थलोका रूपमा विकसित भएको उहाँको धारणा छ ।

सरसफाइ केन्द्र शैक्षिक थलोका रूपमा विकसित हुँदै गएको तथा त्यस सँगसँगै स्रोतको उपयोगिता, आयआर्जनको स्रोत निर्माण र एकीकृत व्यवस्थापनका दृष्टिले देशकै नमूना बनाउने अठोटसाथ आफू अगाडि बढेको नगर प्रमुख खाँणले बताउनुभयो । “ व्यवस्थापन गर्न नजान्दा फोहोर हो भने व्यवस्थापन गरेमा आम्दानीको स्रोत हो भन्ने प्रमाणित गर्र्ने गरी काम गरेका छौंँ”, उहाँले भन्नुभयो, “हरेक प्रकारका फोहोर आम्दानीका राम्रा स्रोत हुन सक्छन् ।” कुहिने-नकुहिने सिसाजन्य फोहोर सबै एकैठाउँमा फालियो भने व्यवस्थापन नभई फोहोर हुने र राम्रोसँग व्यवस्थापन गर्ने वा वर्गीकरण गरेर पुनः प्रयोग गर्न सकेमा आम्दानीको स्रोतका रूपमा रुपान्तरण हुने प्रमुख खाँणको जिकिर छ ।

“राम्रो व्यवस्थापनले फोहोर समस्या नभई आर्थिक विकासको माध्यम हुन सक्छ”, प्रमुख खाँणले भन्नुभयो, “यसलाई अझै थप व्यवस्थपित र आधुनिक तरिकाले अगाडि बढाउँदैछौंँ, निर्माण अन्तिम चरणमा पुगेकाले केही महिनाभित्र हरेक प्रकारका फोहोरको प्रशोधन, पुनः प्रयोग, मल निर्माणजस्ता विधामा काम हुने छ ।”

कारखाना सञ्चालनमा आएपछि यो नेपालकै एक मात्र एकीकृत फोहोर प्रशोधन केन्द्र बन्ने छ । नगरपालिका फोहरमैलाका क्षेत्रमा पटक/पटक पुरस्कृत भइसकेको छ । दैनिक दुई टिपरमार्फत कुहिने र नकुहिने फोहोर सङ्कलन गर्ने गरिएको छ । घरघरमै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडामा राखिने तथा छुट्टाछुट्टै गाडीमा सङ्कलन गरी सरसफाइ केन्द्रमा लगेर थप वर्गीकरण गरिन्छ । कुहिनेलाई कम्पोस्ट मल र नकुहिनेलाई वर्गीकरण गरेर बिक्री गरिन्छ ।
नगरपालिकाले निर्माण गरेको ‘बेष्ट रिसोर्स म्यानेजमेन्ट सेन्टर’ मा नै दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट सञ्चालनमा ल्याइएको छ । दिसाजन्य लेदो व्यवस्थापन शहरी क्षेत्रमा चुनौतीका रूपमा देखा परिरहेका बेला वालिङमा त्यसको व्यवस्थापनका लागि कारखाना निर्माण गरी सञ्चालनमा ल्याइएको छ । घरघरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि बाहिरी खुला ठाउँमा लगेर आपूmखुशी फाल्ने गरेका कारण ढल, खोलानाला तथा पानीका स्रोत प्रदूषित भएकाले त्यसको उचित व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याइएको नगर प्रमुख खाँणले बताउनुभयो ।“घरमा रहेका सेफ्टी ट्याङ्की दिसाजन्य लेदो भण्डारण गर्ने ट्याङ्की मात्रै हुन्, त्यो भरिएपछि फाल्नका लागि समस्या थियो”, उहाँले भन्नुभयो, “अब नगरपालिकाले सञ्चालनमा ल्याएको प्लान्टमा सस्तो र सहजरूपमा व्यवस्थापन गर्न सकिने भएको छ ।”

नगरपालिकाले सञ्चालन गरेको प्लान्टबाट बायोग्यास र कम्पोस्ट मल बनाइनाका साथै त्यहाँबाट निस्केको पानी प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने बनाइएको छ । नगरपालिकाले नेपाल नगरपालिका सङ्घसँग समन्वय गर्दै एन्फो संस्थाको प्राविधिक डिजाइन तथा राष्ट्रिय योजना आयोग, सङ्घीय मन्त्रालय, सिटी नेट, एसप्याक, युएनडिपी, बिलगेट्स एण्ड मेलिन्दा फाउन्डेशनका सहयोगमा एकीकृत फोहोर व्यवस्थापन कार्यक्रमअन्तर्गत कारखाना निर्माण गरी सञ्चालनमा ल्याएको हो । “प्लान्टबाट आधुनिक कम्पोस्ट मल बनाउने, बायोग्यास निकाल्ने र पानी प्रशोधन गरी पुनःप्रयोग गर्न सकिने बनाउँछौंँ”, उहाँले भन्नुभयो, “सञ्चालनमा आएको यो प्लान्ट एकीकृत फोहरमैला व्यवस्थापनका क्षेत्रमा नगरपालिकास्तरमा नेपालकै पहिलो हो ।”

दिसापिसाबको व्यवस्थित सङ्कलनदेखि सुरक्षित विसर्जनसम्मको चरणबद्ध प्रक्रिया अर्थात् सरसफाइ प्रणालीअन्तर्गत सङ्कलन, भण्डारण, रित्याउने र ढुवानी गर्ने, प्रशोधन र पुनःप्रयोग वा सुरक्षित विसर्जन रहेको नगरपालिकाका इन्जिनियर दीपेन्द्र मल्लले बताउनुभयो । “घरघरमा निर्माण भएका सेफ्टी ट्याङ्की भरिएपछि त्यसको विसर्जनका लागि समस्या थियो”, मल्लले भन्नुभयो, “नगरपालिकाले प्लान्ट सञ्चालन गरेसँगै निजी व्यवसायीबाट भन्दा सस्तो शुल्कमा उचित व्यवस्थापन गर्न थालिएको छ ।”

नगरपालिकालाई रु छ हजार ५०० शुल्क तिरेपछि ट्याङ्की खाली गरिदिने गरिएको मल्लले बताउनुभयो । घरघरमा निर्माण भएका सेफ्टी ट्याङ्की भरिएपछि खाली जमिन, खेतबारी र जङ्गलमा ट्याङ्करमार्फत विसर्जन गरिँदै आएकामा प्लान्ट सञ्चालनमा आएसँगै थप व्यवस्थित भएको इन्जिनियर मल्ल बताउनुहुन्छ ।

घरघरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि नगरपालिकाले उठाएर उचित व्यवस्थापन गर्ने गरेपछि सहज भएको वालिङ -८ कटौंजेका शिवप्रसाद पाण्डेले बताउनुभयो । “निजी व्यवसायीबाट यसअघि ट्याङ्की खाली गर्नुपर्दा महँगो थियो, मनपरी दर थियो”, पाण्डेले भन्नुभयो, “एकलौटी व्यवसाय हुँदा महँगो पर्न गए पनि अब नगरपालिकाले सञ्चालन गरेपछि सस्तो र सहज हुने भएको छ ।”-रासस

प्रतिक्रिया