News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

निर्वाचनबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौँ । स्थानीय तहको निर्वाचनका सम्बन्धमा देखिएको अन्योलबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक शनिबार बस्ने भएको छ ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा गठबन्धनको बैठक बोलाउने निर्णय भएको हो ।

स्थानीय तहको निर्वाचन आगामी वैशाखमा गर्ने कार्ययोजनासहित निर्वाचनले सरकारलाई सिफारिस गरिसकेको छ । आयोगले सिफारिस गरेको लामो समयसम्म पनि स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारले चासो नदेखाएपछि विभिन्न आशंकासहितको टिकाटिप्पणी हुँदै आएको छ ।

गठबन्धनका केही घटकले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्न सरकारलाई दबाब दिएको चर्चा पनि चल्दै आएको छ । शुक्रबार प्रधानमन्त्री देउवासहित गठबन्धनका तीन शीर्ष नेताबीच भएको छलफलमा चुनाव सार्ने विषयमा बाहिर हुँदै आएको आलोचनाका बारेमा चर्चा भएको बताइएको छ ।

यस्तै स्थानीय तहको निर्वाचनका लागि देखा परेको भनिएको कानुनी जटिलता र लामो समयदेखि संसद चल्न नसकेको विषयमा पनि तीन नेताबीच छलफल भएको स्रोतले जनाएको छ ।

बैठकमा राष्ट्रियसभा सदस्यको हालै सम्पन्न निर्वाचनका बारे समेत समीक्षा भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

तीन नेताबीच भएको छलफलले यी विषयमा गठबन्धनकै बैठक राखेर छलफल गरी आवश्यक निष्कर्ष निकाल्नुपर्ने ठहर गर्दै शनिबारका लागि गठबन्धनको बैठक बोलाइएको हो ।

यसैबीच गठबन्धन घटकका तीन शीर्ष नेताको छलफल लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिंहदरबारमै पार्टीको आन्तरिक बैठकमा सहभागी भएका छन् । उनी माओवादी केन्द्रको सरकार सञ्चालन सम्बन्धी संयन्त्रको बैठकमा सहभागी भएका हुन् ।