News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

सरकारलाई कन्ट्रोल गर्ने संयन्त्र आवश्यक छैन- सिंह

काठमाडाै‌ । सत्तारूढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक संयन्त्र आवश्यक नभएको बताएका छन्। पाँचदलीय गठबन्धनबाट दुई-दुई जना र सरकारका प्रतिनिधिका रूपमा एक मन्त्री गरी ११ सदस्यीय समन्वय समिति गठन गरिएको थियो।

उक्त समितिको संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल छन्। दुई-दुई महिनामा उक्त समिति संयोजक परिवर्तन गर्ने सहमति गठबन्धनभित्र छ। तर सरकारलाई नियन्त्रण गर्ने खालका यस्ता संयन्त्र बनाउन जरूरी नै नरहेको कांग्रेस नेता सिंह बताउँछन्।

गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले संविधानअनुसार पनि यस्तो संयन्त्र आवश्यक नरहेको बताए।

‘सरकारभन्दा माथि जस्तो संयन्त्र बनेको छ। यो संविधान र प्रजातान्त्रिक विधिविपरीत पनि हुन्छ,’ सिंहले भने। गठबन्धनको सरकार भए पनि राज्यसत्ता सरकारले चलाउने उनले बताए।

‘काम त सरकारले गर्नुपर्ने हो। तर समन्वय समिति बनाइएको छ। अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन,’ उनले भने। उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको उनको भनाइ थियो।

‘नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ। प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन,’ उनले भने।

उनले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताए। ‘न्यायलयमा देखिएका समस्या त्यहीँ भित्रबाट समाधान होस् भनेर मात्र हुँदैन। सरकार यस विषयमा मुकदर्शक भएर बस्न मिल्दैन,’ उनले भने, ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न।’

फरक प्रसंगमा उनले अर्लीइलेक्सनको विरोध गरे। उनले अब हुने चुनावमा कांग्रेस कसैसँग तालमेल नगर्ने पनि बताए। ‘आफ्नै बलबुताले कांग्रेस चुनाव लड्छ,’ सिंहले भने।

डनन्यूज ट्रेन्डिङ