News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘सरकार परिवर्तन भएको अनुभुति मिडियाले गर्न पाएन’ : अध्यक्ष पोखरेल

'प्रदेश सरकारले ल्याउन लागेको मिडिया विधेयक अघिल्लो सरकारको निरन्तरता'

पोखरा, ९ कात्तिक । नेपाल पत्रकार महासंघ केन्द्रका अध्यक्ष विपुल पोखरेलले सरकार परिवर्तन भएको अनुभुति मिडियाले गर्न नपाएको गुनासो गरेका छन् । मंगलबार गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापालाई भेट्दै पोखरेलले प्रदेश सरकारले ल्याउन लागेको मिडिया विधेयक अघिल्लो सरकारको निरन्तरता भएको बताए ।

उनले भने, ‘अघिल्लो सरकारले मिडिया विधेयक ल्याउन लाग्दा पत्रकार महासंघले ज्ञापन पत्र बुझाएको थियो । चरणबद्ध रुपमा विभिन्न छलफल भएता पनि कार्यन्वयन भएन र मिडिया विधेयक आउनबाट रोकियो ।’ सोही विधेयकलाई जस्ताको त्यस्तै पारित गरेर अहिलेको सरकारले ल्याउन खोजेमा महासंघको आपत्ति जनाएको छ । अघिल्लो सरकारको पालामा ल्याउन खोजिएको विधेयक हुबहु त्यही ल्याउँदा सरकार परिवर्तन भएको अनुभुति मिडियाले गर्न नपाएको उनको गुनासो थियो ।

पोखरेलले लोकतान्त्रिक मुल्यमान्यता विपरित आएको मिडिया विधेयक पत्रकारका लागि मान्य नहुने बताए । प्रेस स्वतन्त्रताको विश्वव्यापी अभ्यासमा आधारित मिडिया विधेयक आउनुपर्ने धारणा उनको छ । मिडिया विधेयकलाई प्रेस मैत्री बनाउन मन्त्री विन्दुकुमार थापा र विधायन समितिका सभापति विष्णु प्रसाद लामिछाने सकरात्मक देखिएका छन् ।

नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष विकासराज न्यौपाने, पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्ले, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, कास्कीका अध्यक्ष विमला भण्डारी, न्युनतम पारिश्रमिक समितिका पूर्व अध्यक्ष गंगाधर पराजुली लगायतका टोलीले मन्त्रीलाई भेटेका हुन् । भेटकै समयमा पत्रकार महासंघको भवन निर्माणको विषयमा समेत सहजीकरण गर्न आग्रह गरिएको छ ।